विपी राजासँग नमिलेको भए म कांग्रेस हुन्थें

म भाग्यवादमा विश्वास त गर्दिनँ, तर परिस्थीतिले म भाग्यमानी ठान्छु किनभने जीवनमा एउटा यस्तो कालखण्ड थियो, जतिबेला म चण्डीगढबाट भर्खरै आर्किटेक्चरमा ग्राजुएट सिध्याएर दिल्दीमा मास्टर्स र पिएचडी गर्न गएको थिएँ । वास्तवमा त्यो त बहानामात्र थियो, म संसारलाई बुझ्ने र यो देशलाई कसरी बदल्न सकिन्छ भन्ने ज्ञान आर्जन गर्नको निम्ति दिल्दी गएको थिएँ ।

 

२०३४ साल साउनमा दिल्दी गएँ र असोजमा डाक्टर, इन्जिनियर पढ्ने विद्यार्थीले अखिल भारत विद्यार्थी संगठन खोल्यौं । संयोगले कात्तिकमा दुर्गा सुवेदी जेलबाट छुटेर आउनु भएको रहेछ । त्यसको लगत्तै भेट भयो । यी किताबमा समेटिएका कुराहरु मैले त्यति बेला नै सुन्ने अवसर पाएको थिएँ । त्यो हाम्रो युग (१९७० को दशक) रोमाञ्चक थियो । खासगरी १९६८ मा फ्रान्समा युरोपका विद्यार्थीहरुले विद्रोह गरे । त्यतिबेला युद्ध पनि चलिरहेको थियो । त्यसले गर्दा विमान अपहरण जस्ता घटनाहरु सामान्य थियो ।

 

दिनमा एक दुईवटै विमान अपहरण हुन्थ्यो । १९६८ देखि १९७२ सम्म अमेरिकामा मात्र १३० वटा विमान अपहरण काण्ड भएका थिए । त्यहीँ कारणले केही पात्रहरु अत्यन्तै चर्चित हुन्थे । तपाईंहरुले पनि सुन्नु भएकोहोला पहिलो प्यालेटाइन महिला अपहरणकारी लैला फालेद थिइन् । हाम्रो निम्ति चे ग्वेभारा र लैला ठूलो आइकन थिए । म पनि त्यहि बेलादेखि नै देशमा के गर्न सकिन्छ भन्ने सोच्थें । 

 

 

राजतन्त्र रहेसम्म देशमा लोकतन्त्र पनि आउँदैन । लोकतन्त्र नभई विकास हुँदैन भन्ने सोच मैले बनाएको थिएँ । त्यो सोचका साथ म दिल्दी गएको थिएँ । गगन थापाजीले कांग्रेसको इतिहासको विषयमा केन्द्रीत रहेर कुरा राख्नुभयो, त्यसमा धेरै सहमत छु म । तर, २०३३ सालमा विपी कोइरालाले मेलमिलापको नीति लिएर आउनु भएको थियो ।

 

उहाँले मेलमिलापको नीति नलिएको भए राजतन्त्रसँग लड्ने र संघर्ष गर्ने अवस्था हुँदैनथ्यो । सबै पक्षसँग मिलेर राजतन्त्र हुँदै गणतन्त्रसम्म विपी कोइराला गइदिएको भए म कांग्रेस हुन्थें । तर, म किन कांग्रेस भइनँ ? विपी कोइरालाप्रति ठूलो आस्था थियो । तर राजासँग किन मेलमिलापको नीति लिनुभयो होला भन्ने मेरा अनुउत्तरित प्रश्न अझै छ ।  

 

दुर्गाजीको किताब सबै पढ्दा अझै उत्तर मिलिरहेको छैन, छुटेको पाटो छ जस्तो मलाई लाग्छ । उहाँ त्यतिबेला पार्टीबाट अपहेलित भएर असुरक्षित भएर जानु भएको रहेछ । जनयुद्धकालमा, भूमिगतकालमा सशस्त्र संघर्ष गर्दाको अवस्था कति कहालीलाग्दो हुन्छ भन्ने कुरा मैले पनि भोगेको छु । आफ्नै साथी, नेताहरुसँग त्रसित भएर वेवारिसे अवस्थामा हिँड्नुपर्ने थियो । ३३ लाख रुपैयाँ लुटेर आफ्नो नेतालाई बुझाएको छ, तर उहाँ त्यत्तिकै भैतारिएर हिँड्नुहुन्थ्यो । आज दुर्गाजी जुन कपडामा देखिनु भएको छ, २०३४ सालमा भेट्दा पनि यहीँ कपडामा हुनुहुन्थ्यो । त्यतिबेला उहाँका रोमाञ्चकारी घटनाहरु हामीले सुन्न पायौं । 

 

जनमत संग्रहमा कांग्रेस र कम्युनिष्ट मिलेर बहुदललाई जिताउनुपर्छ भन्ने मेरो अवधारणा थियो । विपीले पनि त्यो विषयमा नेतृत्व गर्नुपथ्र्यो तर, गर्नुभएन । २०३७ सालमा म कम्युनिष्ट पार्टीमा लागेर माओवादी हुँदै गणतन्त्र ल्याउने ठाउँसम्म पुगेको थिएँ । त्यसैले मैले उहाँको किताबबारे भन्नुभन्दा आफ्नै बारेमा किन भनिरहेको छु भने दुर्गाजी जस्ता व्यक्तिहरुले अत्यन्तै गाह्रो विमान विद्रोह जोखिमपूर्र्ण प्रयत्न गरेर नेपालमा लोकतन्त्रलाई गणतन्त्र हुँदै अगाडि बढाउने कोसिस उहाँहरुले गर्नुभएको थियो ।

 

त्यतिबेला हाम्रो नेतृत्व पंति किन चुक्यो ? त्यसको जवाफ मैले यहाँ भेटिरहेको छैन । नयाँ पुस्ताका साथीहरुले त्यो कुरा खोज्नुपर्छ । त्यसको जवाफ नपाएर नै माओवादी बन्दै फरक ठाउँको विद्रोह गर्ने बाध्यता मलाई भयो । म त्यसमा लागेँ । र, त्यही कालखण्डमा दुर्गा सुवेदीले २०५६ सालमा हामीलाई सम्पर्क गर्नुभयो । हामी त्यस समयमा कोसँग वार्ता गर्न सकिन्छ भनेर हिँडिरहेका हुन्थ्यौं । दुर्गाजी कृष्णप्रसाद भट्टराईसँग नजिक हुनुहुन्छ भन्ने सुनेर हामी भेट्यौं ।

 

इतिहासबारेमा आ–आफ्ना अवधारणाहरु हुनसक्छन् । इतिहासकारहरुले पनि भनेका छन्, इतिहासको थुप्रै तथ्यहरु हुन्छन् । एउटा इतिहासकारले आफूलाई चाहिने जुन एउटा माला उन्छ, त्यसैले मान्छे आफ्नो दृष्टिकोणअनुसार इतिहास बनाउँछ । त्यसैले सबै कुरा इतिहासमा आंसिक सत्य हुन्छ, पूर्ण सत्य हुँदैन । विद्रोह गर्नु, विमान अपहरण गुर्न ठिक थियो कि बेठिक थियो ? भन्ने जस्ता प्रश्नहरु छन्, त्यसलाई सेतो या कालो भनेर टुङ्ग्याउन सकिँदैन ।  

 

संघर्ष र परिवर्तन निरन्तर रुमपा चलिरहन्छ । सशस्त्र र निःशस्त्र संघर्ष भनेको माध्यममात्र हो । परिस्थतिअनुसार अपनाउने कुराहरु हुन्छन् । कुनै कालखण्डमा जब राज्य सत्ताले दमन गर्छ, अरु कुनै बाटो दिँदैन । त्यतिबेला एक्सन लिनुपर्ने हुन्छ । जब बाटोका विभिन्न ढोकाहरु खुल्छन्, त्यतिबेलाको नेतृत्वले कुन ढोकाबाट अगाडि बढ्दा उपयुक्त हुन्छ भनेर अगाडि बढ्छ, बाटोको चयन गर्ने मात्र कुरा हो । त्यसैले निरपेक्ष ढंगले सशस्त्र संघर्ष ठिक कि बेठिक भन्न मिल्दैन । 

 

दुर्गाजीले पुस्तकमा २०३३ सालमा विपीजी किन मेलमिलापको सिद्धान्त लिएर आउनुभयो ? भनेर प्रश्न गर्नु भएको छ । उहाँलाई जेलमा राखेर यातना दिने क्रममा विपी कोइरालासँगको संलग्नता गर्ने धेरै प्रयत्न गरिएको छ । सबैलाई थाहा छ मुख्य नेतृत्वबिना त्यत्रो ठूलो काम कसैले पनि गर्न सक्दैन । दुर्गाजी जस्तो प्रतिबद्ध अनुशासित व्यक्तिले आफ्नो लहडमा त्यति ठूलो काम गर्न सक्नु हुँदैनथ्यो । त्यो हुँदाहुँदै पनि दुर्गाजीले पुस्तकमा विपीको संलग्नता स्वीकार गर्नु भएको छैन । त्यसले गर्दा पनि एउटा आन्दोलन र पार्टीप्रतिको निष्ठा, कार्यकर्ताले निभाउनुपर्ने दायित्व उहाँले अत्यन्तै महत्वपूर्ण तरिकाले निभाउनु भएको छ ।

 

प्रश्न आउँछ, विपी कोइराला शसस्त्र संघर्षको बाटो लिएर फेरि ३३ सालमा फर्केर किन आउनुभयो ? सिक्किम काण्डले हो की ? अथवा त्यतिबेला इन्दिरा गान्धिले इमरजेन्सि लगाएकी थिइन्, त्यसको विरुद्ध जयप्रकाश नारायण, चन्द्रशेखरलगायत व्यक्तिहरु सबै जेलमा परेको कारणले गर्दा हो ? कि अन्य कारणले ?

 

विपी कोइलालाई मैले भेट्ने अवसर पनि पाएको थिएँ । माया पनि गर्नुहुन्थ्यो । वैचारिक रुपमा सहमत हुन सकिनँ उहाँसँग । कम्युनिष्टहरुले पनि त्यतिबेला उहाँलाई भारतीय दलाल आदि भने । मैले त्यतिबेला पनि विपीलाई भारतीय दलाल भन्न हुन्न भनेको थिएँ । अहिले पनि विपी कोइरालाले नेपालको हित विपरीत भारतीय सत्ता पक्षसँग मिलेर अन्तर्घात गर्ने नै ढंगले जानुभयो भन्ने म मान्दिनँ ।

 

हामी माओवादीहरु त झन् त्यो भन्दा माथि उठेर राजतन्त्रको पनि अन्त्य गर्न भारतीय हस्तक्षेप र हैकमबाट मुक्त भएर नेपाललाई पूर्ण रुपमा स्वाधिन बनाउने भनेर हिँडेका मान्छेहरु, भारतबाट चरिचालित हुन सक्दैनथ्यौं । तर, हाम्रो भूराजीतिक जटिलताले गर्दा पार्टीहरु आपसमा यति संकिर्ण बनेका छौं कि राष्ट्रिय मुद्दामा एक हुनुभन्दा हामी सत्तामा छँदा एउटा अडान लिन्छौं, सत्ताबाहिर हुँदा अर्काे अडान । त्यसो हुँदा बाह्य शक्तिले खेल्ने अवसर पाउँछ । 

 

मैले गगनजी जस्ता साथीहरुलाई भन्नुपर्छ, कांग्रेस र कम्युनिष्ट बिम्बहरु ऐतिहासिक कालखण्डमा बिम्बहरु बनेका हुन्, त्यसलाई हामी सधैं बोकिराख्नुपर्छ भन्ने जरुरी छैन । मानव जाति निरन्तर विकसित छ, जब विश्व ब्रम्हाण्ड नै गतिशिल छ भने कांग्रेस र कम्युनिष्ट बिम्बहरु सधैं बोकि रहनुपर्छ भन्ने छैन ।

 

दुर्गाजीले पुस्तकमा प्रष्ट पार्नुभएको छ, नेपाली कांग्रेसले जुन विद्रोह गर्यो, त्यसको पनि उपलब्धी थियो र कम्युनिष्टका विभिन्न घटकहरुले जुन संघर्षहरु गरेर अहिले विभिन्न जनजाति मधेसी, दलितसम्मले अधिकार पाएका छन्, त्यसैको योगफल हो ।

 

हामी अब अगाडि बढ्नुको विकल्प छैन । विकास र समृद्धि हुँदै आर्थिक सामाजिक क्रान्तिको दिशामा अगाडि बढ्ने हो भने हामी सबै फेरी नयाँ ढंगले अग्रगामी लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ भन्ने मलाई लाग्छ । लोकतन्त्र, समाजवाद एकअर्काका निशेषार्थी होइनन् । समाजवाद भनेको लोकतन्त्रको एउटा उच्च रुप हो । अन्त्य अवस्थामा माक्र्सले भनेका थिए, कम्युनिष्टहरुले तत्कालै साम्यवाद ल्याउछु भन्दा त्यहाँ विकृति आयो । त्यसकारणले साम्यवाद भनेको अन्तिम लक्ष्यमात्र हो । त्यसैले लोकतन्त्र र समाजवाद एकअर्काका निशोआर्थी होइनन्, समाजवाद भनेकै उन्नत प्रकारको लोकतन्त्र हो । त्यस्तो प्रकारको उन्नत लोकतन्त्र, प्रगतिशिल, अग्रगामी लोकतन्त्रको दिशामा अगाडि बढ्न हामीलाई प्रेरित गरोस् । दुर्गाजी कुनै पनि पार्टीमा नरही यति लामो समय यसरी बस्नु भएको छ । मलाई उहाँभित्र केही छ भन्ने लाग्छ । कुनै बेला उहाँले भन्नुहोला । 

 

आजकल हामी सबै मान्छे सानोतिनो आन्दोलन गरेको ब्याज खोज्न हामी लागिरहेका छौं । पद र प्रतिष्ठा खोजिराखेका छौं । उहाँले कुुनै पद र प्रतिष्ठा नखोजीकन जुन ढंगले लाग्नु भएको छ, त्यसअर्थमा हामी सबैको निम्ती सम्मानको पात्र हुनुहुन्छ । उहाँलाई कांग्रेसका साथीहरुले आफ्नो मात्र नबनाउनुहोस् । उहाँ यो देशको निम्ती बलिदान गर्ने व्यक्ति हो । उहाँलाई साझा व्यक्तित्व दिन नै उपयुक्त हुन्छ । 

 

मेरो सबैसँग आग्रह छ । बाघले जति बूढो भए पनि घास खाँदैन भन्ने एउटा भनाइ छ । क्रान्तिका ब्याज खाने साथीहरुका दाह्रा, नंग्रा झरिसके । तरपनि दुवो खोस्रिँदै हिँडिरहेका छौं । सत्ताको निम्ती हामीले त्यसौ नगरौं । हाम्रो पुस्ताले नेपालमा परिवर्तन ल्याउन भूमिका निर्वाह गरिसक्यो । त्यसैले हामीले अर्का पुस्ताको निम्ती ठाउँ बनाउने हो, बाटो देखाइदिने हो ।

source:baarhakhari