किन हटेन भारतीय दूतावासको फिल्ड कार्यालय ?

विराटनगर महानगरपालिका–१२ मा आठ वर्षदेखि भारतीय दूतावासको फिल्ड कार्यालय अवैध रूपमा बसिरहेको छ । ०६५ मा आएको कोसी बाढी प्रकोपले उत्पन्न व्यापारिक समस्या सहजीकरणका लागि स्थापना भएको कार्यालयको मिति सकिएपछि पनि भारतले कार्यालय नहटाएको हो ।

सन् २००८ मा विराटनगरको बरगाछीमा स्थापना भएको कार्यालयको उद्देश्य पूरा भएको भन्दै नेपाल सरकारले सन् २०११ मै हटाउन भारतलाई आग्रह गरेको थियो ।

तत्कालीन परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय दूतावासलाई पत्र लेखेर फिल्ड कार्यालय हटाउन निर्देशन दिएका थिए । तर, भारतले नेपाल सरकारको निर्देशन बेवास्ता गर्दै फिल्ड कार्यालय झन् सुविधासम्पन्न ठाउँमा सारेर सञ्चालन गरिरहेको छ ।

कोसीमा २ भदौ ०६५मा बाढी आएपछि पूर्वका उद्योगी व्यापारीको आग्रहमा सहजीकरणका लागि दूतावासले फिल्ड कार्यालय स्थापना गरेको थियो ।

त्यतिवेला उद्योग संगठन मोरंगको एउटा कोठामा बसेको फिल्ड अफिस अहिले विराटनगरको बरगाछीमा सिँगो घर भाडा लिएर बसेको छ । नेपाल सरकारले पटकपटक हटाउन ताकेता गरे पनि भारतले अटेर गरिरहेको छ ।

कार्यालय नहटाउन नेपालबाटै लबिङ

भारतसँग कारोबार गर्ने उद्योगी व्यापारी र नेपाल–भारत मैत्री संघका पदाधिकारी र सदस्यले फिल्ड कार्यालय नहटाउन लबिङ गर्ने गरेका छन् । कार्यालय हटाए व्यापारमा असहज हुने उनीहरूको तर्क छ ।

२२ फागुन ०६९ फागुन मा कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य महेन्द्र यादवले खुलेरै भारतीय दूतावासको विराटनगरस्थित फिल्ड कार्यालय हटाउन नहुने बताएका थिए । उनले फिल्ड कार्यालय हटाए नेपालका २५ बढी जिल्लामा विस्तार भएको नेपाल–भारत मैत्री संघलाई आन्दोलनमा उतार्ने चेतावनी पनि दिएका थिए ।

तर, केही राजनीतिक विश्लेषक र दलले सरकारको अनुमतिविना फिल्ड कार्यालय बसिरहनु वैदेशिक हस्तक्षेप भएको बताउँदै आएका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्यालय हटाउन माग गर्दै आन्दोलन गरिरहेको छ ।

फिल्ड कार्यालयलाई व्यापारीको पनि संरक्षण

यस्तै, विराटनगरस्थित उद्योगी व्यापारीहरूको संस्था मोरङ व्यापार संघले पनि फिल्ड कार्यालय हटाउन नहुने भन्दै लबिङ गरिरहेको छ । बरु प्रक्रिया पु¥याएर स्थायी रूपमा राखिनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले बताए ।

फिल्ड कार्यालयका कारण पूर्वका उद्योगी व्यापारी सानासाना काम गराउन पनि काठमाडाैँ धाउनुपर्ने झन्झटबाट मुक्त हुनुपरेको उनको भनाइ छ ।

हटाउन मोदीसँग प्रचण्डको आग्रह

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा शिष्टाचार भेट गर्न पुगेका माओवादी अध्यक्ष प्रचण्डले विराटनगरमा राखिएको भारतीय दूतावासको फिल्ड कार्यालय हटाउन आग्रह गरे । २८ वैशाखमा होटेल द्वारिकाजमा भेट गरेका प्रचण्डले सो कार्यालय अवैधानिक भएको बताएका थिए ।

source:enayapatrika