घर भत्किँदा १८ दिनको शिशुसहित तीनको मृत्यु

अविरल वर्षाका कारण पहिरोले घर भत्किँदा १८ दिनको शिशुसहित तीनजनाको मृत्यु भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ५ सैबाङमा शिशुसहित सुत्केरी आमा र १४ वर्षीय किशोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

घरमा आगो तापिरहेको अवस्थामा माथिबाट भान्सामा पहिरो खस्दा सैबाङका २२ वर्षीया कमला बिक, उनकी १८ दिनकी छोरी आयुसा बिक र आफन्ती १५ वर्षिया चित्रा बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान साढे दशबजेतिर रामसरी विकको घरमाथि लगाएको पर्खाल पहिरोले भत्काउँदा घर भत्किएको स्थानीयले जानकारी दिए । प्रहरी र स्थानीयले घटनास्थलमा पुगी उद्धार गरिरहेका छन् ।

source:nayapatrikadaily