दश कक्षा पढ्दै ‘प्रधानमन्त्री’ भएँ : चन्द

पूर्वप्रधानमन्त्री  लोकेन्द्रबहादुर चन्द साहित्यकार पनि हुन् । मदन पुरस्कार विजेता चन्दका ‘विसर्जन’, ‘बाह्रौँ खेलाडी’, ‘कुर्सी’लगायतका पुस्तक प्रकाशित छन् । चन्दका पाँच किस्सा

१ .धामीको निसानी लिएर जन्मेको म
हामीकहाँ भदौ महिनामा ‘गबरा’ (देउडा खेल्ने, जात्रा गर्ने) गर्ने चलन । बैतडीका चार गाउँमा एक–एक दिन गरेर खेल र जात्रा गर्ने चलन छ । गोहानी भन्ने ठाउँमा एक दिन मेरा पिताजी पनि जानुभएको रहेछ । त्यहाँ सबै गाउँलेले केदार देवताका धामीसित हात जोडिरहेको देख्नुभएछ । छोरा नहुने, भए पनि बित्ने भएकाले पिताजी छोराविहीन हुनुहुन्थ्यो । त्यसवेला छोरी भए पनि सन्तान नै नभएकोजस्तो गर्ने चलन थियो । त्यसैले, उहाँले पनि गाउँलेहरूले जस्तै धामीसँग हात जोडेर सन्तान दिनुहोस् भन्नुभएछ ।

धामीले भनेछन्, ‘म तीन सन्तान दिन्छु, तर ती सन्तानमा मेरो निसानी हुनेछ ।’ पिताजी मञ्जुर हुनुभयो । त्यसपछि जन्मिएका हामी तीनै दाजुभाइको टाउकामा लट्टाको छाप थियो । यो मलाई एउटा अचम्मको संयोग लाग्छ ।

२. सिँचाइको लागि बनाएको बाँधमा डुबेँ
म पटकपटक पानीमा डुबेको मान्छे हुँ । पहिलोपटक म ९ वर्षको हुँदा झन्डै खोलामा डुबेको थिएँ । दोस्रो घटना १२ वर्ष हुँदाको हो । पिठारागन्जको जिमी भन्ने ठाउँमा मेरो फुपूको घर थियो, म त्यहीँ बसेर बढ्थँे । उहाँले हरेक शुक्रबार फुपाजुलाई बोलाउन पठाउनुहुन्थ्यो । अढाइ मिनेट मात्रको बाटो थियो, टाढा थिएन । त्यहाँ सिँचाइको लागि एउटा बाँध बनाएको रहेछ ।

त्यो बाँधमा अरू पौडी खेल्न गएँ । म पौडी खेल्न जान्दिनथेँ, त्यसैले, किनारमा खेलिरहेको थिएँ । मेरै उमेरको एक केटाले आउनुस् भनेपछि म गएँ । मैले उसलाई आत्तिएर समातेँ र दुवैजना डुब्न थाल्यौँ । केही समय डुब्ने र माथि आउने भइरह्यो । हामी चिच्याएपछि बल्ल दुईजना आएर हामीलाई उठाएर लगे । डुब्दाखेरि पानी पनि पिइयो । त्यो रात साह्रै नराम्रो तरिकाले बित्यो । खराब सपना आए । त्यो घटनाले मलाई डुब्दाखेरि के हुन्छ भन्ने कुराको अनुभव गरायो ।

त्यो चिठीमा उनले आफूलाई ‘डाक्टर बलबहादुर स्वाँर, प्रसिद्ध वैज्ञानिक‘ भनेर पठाएका थिए । उनी ९ कक्षामा पढ्थे । त्यसपछि म पनि के कम, मैले पनि ‘लोकेन्द्रबहादुर चन्द, एमए, एलएलबी. प्राइममिनिस्टर अफ नेपाल’ भनेर लेख्न थालेँ ।

३. स्कुल पढ्दै प्रधानमन्त्री भएँ
यो ख्यालठट्टामा गरिएको मेरो जिन्दगीको रोचक घटना हो । हामीकहाँ भाषा पाठशालाबाहेक कुनै पढ्ने ठाउँ नै थिएन । त्यसैले, हामी भारतको उत्तराखण्डमा पढ्थ्यौँ । त्यतिवेला म १० कक्षामा पढ्थेँ । त्यहाँ पढ्ने क्रममा पछि अरू साथीहरू पनि आए । तीमध्ये अछामका एकजना बलबहादुर भन्ने थिए ।

उनको साहित्यमा रुचि थियो । म पनि साहित्यमा रुचि भएको मान्छे । हामी खुब मिल्ने साथी भयौँ । तर, बीचबीचमा हाम्रो झगडा भइरहन्थ्यो । यो पत्रिकाभन्दा यो राम्रो भन्ने हुन्थ्यो । भारतीय लेखकमा म गुरुदत्त राम्रो भन्ने उनी प्रतापनारायण राम्रो भन्ने । यस्तो कुरामा झगडा भएपछि हामी बोलेनौँ ।

बोलौँ बोलौँ त लाग्थ्यो, तर बोल्न, मुख खोल्न लाज लाग्ने भएपछि बीचको कुनै वा आफूभन्दा सानामार्फत् चिठी पठायौँ । त्यो चिठीमा उनले आफूलाई ‘डाक्टर बलबहादुर स्वाँर, प्रसिद्ध वैज्ञानिक’ भनेर पठाएका थिए । उनी ९ कक्षामा पढ्थे । त्यसपछि म पनि के कम, मैले पनि ‘लोकेन्द्रबहादुर चन्द, एमए, एलएलबी प्राइममिनिस्टर अफ नेपाल’ भनेर लेख्न थालेँ । यसरी चिठीकै माध्यमबाट हाम्रो मित्रता कायम भैरह्यो । बलबहादुरजी आर्मीमा डाक्टर भएर रिटायर हुनुभयो । संयोगले म प्रधानमन्त्री भएँ ।

४. नभएको चिडियाखाना खोज्दा
०३७ सालमा एकपटक हामी ४/५ आइपियू (इन्टरनेसनल पार्लियामेन्ट्री युनियन) मा भाग लिन जमर्नी गएका थियौँ । फर्केर आउँदा लन्डन हुँदै डेनमार्क पनि पुग्यौँ । त्यहाँ एकदिन बसेपछि अब स्विडेन पनि पस्ने भनेर सानो जहाजमा चढेर गयौँ । स्विडेनको भिसा हामीसित थिएन । त्यहाँ यताउता सोधेपछि एकजनाले उसको रातो पासपोर्ट दिएर हामीलाई घुम्न पठायो । वैशाखको आधा महिना थियो । माम्लो सहरमा हामी पुग्यौँ । त्यहाँ एक नबजी पसल नै नखुल्ने रहेछ । घाम लागेको छ भनेर पातलो कपडा मात्र लिएर गएका थियौँ । तर, त्यहाँ असाध्यै जाडो हुने रहेछ ।

चिडियाखाना जान भनेर रिक्सावाललाई ‘जू जू’ भन्यौँ, तर उसले बुझेन । नबुझेपछि हामीले हाम्रो महिला टुरिस्ट गाइडसँग भन्यौँ । उनले पनि जू भनेको बुझिनन् । त्यसपछि हामीले यसो जनावरहरूको चित्र बनाएर देखाइदियौँ । त्यो चित्र उनले सूचना केन्द्रमा पठाइन् । त्यसपछि निकैबेर ट्याक्सी चढेर सूचना केन्द्र गयौँ । त्यहाँ पुगेपछि पो थाहा भयो, त्यहाँ त चिडिया खाना नै रहेनछ ।

५. राजाले भने, ‘तिम्रो आधा समस्या समाधान भयो’
यो ०४० साल असारको कुरा हो । म पञ्चायतकालमा मन्त्री नभई प्रधानमन्त्री भएको मान्छे । त्यतिवेला म खुसी र दुःखी दुवै थिएँ । यो भार कसरी बहन गर्ने भन्ने तनाव थियो । मलाई सोधिएको थियो भने म त्यति चाँडो प्रधानमन्त्री हुन तयार हुने थिइनँ । मलाई प्रशासनको अनुभव थिएन । राजाको पालामा भए तापनि त्यहाँ राष्ट्रिय पञ्चायत थियो, चुनाब नै हुन्थ्यो । दुईचोटी जितेँ ।

एकचोटी निर्बिरोध भएर ६ वर्ष उप–सभामुख भएर काम गरेँ । एकचोटी मैले सभामुख चलाएँ । मन्त्री म कहिल्यै भइनँ र इच्छा पनि थिएन । क्याबिनेट गठन गर्नुपर्दा समस्या हुन्थ्यो । प्रधानमन्त्रीलाई समस्या हुने यही क्याबिनेट हो । सानेपा र कुपन्डोल बीचमा मेरो डेरा थियो ।

त्यहाँ मान्छे ह्वारह्वार्ती आउन थाले । अनि मैले ३–४ जनालाई राखेर क्याबिनेट गठन गरेँ । त्यसमा अरू एक दुईजना आवश्यक प-यो भने मात्र राजाले नियुक्त गरिदिने हो । यसमा मैले नै गठन गरेर पठाएको क्याबिनेटलाई राजाले स्वीकृति दिएका हुन् । राजा वीरेन्द्रले भने, ‘प्रधानमन्त्रीलाई गाह्रो हुने भनेकै क्याबिनेट गठन हो । त्यो तिमीले ग-यौ । जे भए पनि कोही रिसाउलान्, कोही खुसी होलान् । तर, तिम्रो आधा समस्या समाधान भयो ।

source:nayapatrikadaily