त्रिभुवन विमानस्थलको धावनमार्ग उप्किएपछि…

धावनमार्गको कालोपत्र उप्किएका कारण केही समय बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान/अवतरण अहिले नियमितरुपमा सञ्चालन भएको छ ।

धावनमार्गमा समस्या देखिएपछि आज बिहान ११ बजेर १० मिनेटबाट विमानस्थलमा उडान अवतरण रोकिएको हो । जहाज अवतरण गर्ने कोटेश्वरतर्फको धावनमार्गमा कालोपत्र उप्किएको विमानस्थलले जनाएको छ । करीब २० मिनेटको समयपछि सेवा पुनःशुरु भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले जानकारी दिए । खासगरी वर्षाको समयमा यस्तो समस्या पटक–पटक निम्तिने गरेको छ ।

महाप्रबन्धक क्षेत्रीले सामान्य समस्या देखिनेवित्तिकै द्रुत मर्मत टोली परिचालन गरी समस्याको समाधान गरिएको बताए। कालोपत्र उप्किएमा तत्काल टाल्ने र त्यो आधा घण्टाभित्र सुक्ने प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग गरिन्छ ।

कतार एयरवेज, नेपाल एयरलाइन्स, विमान बंगलादेश, जेट एयरलगायत जहाज अवतरण गर्न नसकेपछि आकाशमा चक्कर लगाउनुपरेको थियो । आन्तरिक उडानमा रहेका बुद्ध एयर, यति एयरलाइन्सका जहाज जुन स्थानबाट आएका थिए उतै मोडिएका थिए ।

source:napatrikadaily