सुन तस्करी र हत्या प्रकरण : बहसको गाँठो

विराटनगर — सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा अभियोग पुष्टि गर्ने भरपर्दो प्रमाण नभएको भन्दै प्रतिवादीका वकिलले अभियुक्तहरूलाई साधारण तारिखमा छाड्न माग गरेपछि सरकारी वकिलले त्यसको खण्डन गर्न छलफल थालेका छन् ।

प्रतिवादीतर्फबाट थुनछेक बहस गरेका ४५ भन्दा बढी कानुन व्यवसायीले उक्त प्रकरणमा गरिएको अनुसन्धान नै त्रुटिपूर्ण र पूर्वाग्रही भएको तर्क गरिरहँदा सरकारी वकिल प्रभावकारी बहसको तयारीमा जुटेका हुन् ।
 
अभियोग पुष्टि गर्ने खालका तथ्यसहित प्रत्युत्तर बहस नगरे अधिकांश अभियुक्त तारिख वा धरौटीमा मुक्त हुन सक्ने भएकाले उनीहरू थप दसी प्रमाण जुटाउने योजनामा छन् । अपराधमा संलग्नहरूलाई फेला पार्न उनीहरूकै समूहमा सहभागी भएजस्तो गरेर ‘अन्डर कभर अप्रेसन’ गरिएको भनिए पनि हत्या घटनापछि प्रहरीले दिएको प्रतिवेदनमा मुख्य अभियुक्तबारे उल्लेख नगरिएको विषयलाई उनीहरूले प्रमुखतासाथ इजलाससमक्ष राख्ने भएका छन् ।
 
प्रतिवादीका वकिलको बहस जारी छ । शुक्रबार सबैको बहस नसकिएकाले आइतबार पनि चल्ने अदालतले जनाएको छ । यसक्रममा सरकारी वकिलहरूको समूहले प्रतिवादीको खण्डन र तर्कलाई कसरी प्रभावकारी रूपमा ‘ट्याकल’ गर्ने भन्नेबारे छलफल गरिरहेको स्रोतले जनाएको छ ।
 
मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकका अनुसार प्रतिवादीको बहस सकिएपछि ‘प्रत्युत्तर बहस’ गरिनेछ । यो बहस पनि सकिएपछि अदालतबाट थुनछेकको आदेश हुने उनले बताए । बहसका लागि उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता चिरञ्जीवी पराजुलीको नेतृत्वमा सरकारी वकिलको समूह बनाइएको छ । यो समूहमा मोरङका न्यायाधिवक्ता पाठक, सहायक न्यायाधिवक्ताद्वय रोहित पोखरेल र पदम वस्ती छन् । वस्ती प्रतिवादीको बहसका क्रममा इजलास कोठामै बसेर उनीहरूको तर्क र खण्डन टिपोट गरिरहेका छन् । त्यसैका आधारमा प्रत्युत्तर दिन सरकारी पक्षका वकिलले छलफल गरेका हुन् । तत्काल प्राप्त प्रमाणका आधारमा सबै अभियुक्त कसुरदार रहेको र उनीहरूलाई थुनामै राखेर पुर्पक्ष गरिनुपर्ने भन्दै यो समूहका सहित ७ जनाले थुनछेक बहस गरिसकेका छन् ।
 
सरकारी तर्कको खण्डन
सरकारी वकिलहरूले सबै अभियुक्त कसुरदार रहेको भन्दै धरौटी वा साधारण तारिखमा छाड्न नहुने माग गरेका थिए । प्रतिवादीका वकिलहरूले भने यो मुद्दामा संगठित अपराध ऐन आकर्षित नहुने र भरपर्दो प्रमाणसमेत नभएकाले अभियोग पुष्टि हुने आधार नभएको दाबी गरेका थिए । उनीहरूले अनुसन्धान नै त्रुटिपूर्ण र पूर्वाग्रही भएको आरोपसमेत लगाए । बिहीबार पूर्वडीआईजी गोविन्द निरौलाका तर्फबाट वरिष्ठ अधिवक्ता रमेश कोइराला र अधिवक्ता भानुभक्त निरौलाले बहस गर्दै यो मुद्दाका क्रममा विवेक नपुर्‍याई अभियोग लगाइएको तर्क गरे ।
 
सरकारी वकिलहरूले ‘भिक्टिमलेस’ (प्रत्यक्ष पीडित नदेखिने प्रकृतिको) अपराध भएको उल्लेख गर्दै प्रतिवादीहरूलाई छाडा अपराध अझ मौलाउन सक्ने, प्रमाण लोप हुने, अभियुक्त स्वयंको ज्यान जोखिममा पर्ने र राज्यले थप क्षति बेहोर्नुपर्ने अवस्था आउने तर्क गरेका थिए ।
 
अभियुक्तका घरबाट बरामद रजिस्टर र अन्य कागजात तथा टेलिफोन वार्ताका आधारमा उनीहरू सुनका कारोबारी हुन् भन्ने प्रस्ट भएको बताएका थिए । प्रतिवादी स्वयंले बयानमा सुन आएको समेत स्वीकारेकाले सुन बरामद हुनु/नहुनु नै मुख्य कुरा नभएको उनीहरूको तर्क थियो ।
 
यसको खण्डन गर्दै प्रतिवादीका वकिलले प्रमाणका रूपमा पेस गरिएका कागजातको विश्वसनीयतामाथि नै प्रश्न उठाएका थिए । तस्करी गरिएको भनिएको सुन बरामद नभएको अवस्थामा चोरी/पैठारी गरेको पुष्टि हुने आधार नभएको तर्क उनीहरूको थियो ।
 
वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, शम्भु थापा, रमण श्रेष्ठ, यदुनाथ खनाल र राजु बस्नेतलगायतले इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष बहस प्रस्तुत गर्दै आफ्ना पक्षका अभियुक्तहरूले साधारण तारिखमा रहेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरेका थिए । ‘साढे ३३ किलो सुन तस्करी भएको भनिएको छ,’ इजलाससमक्ष प्रतिवादी वकिलहरूको प्रश्न थियो, ‘तर, त्यो सुन खोइ कहाँ छ ?’
 
‘संगठित अपराध’ काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा भएको मानिएको उल्लेख गर्दै उनीहरूले यो मुद्दाको कार्यक्षेत्र मोरङ नभएको जिकिर पनि गरेका थिए । प्रमाण संकलनको कार्यविधि नियमसंगत नभएको आरोप पनि उनीहरूको छ ।
यो प्रकरणमा जिल्ला न्यायाधिवक्ताको कार्यालयले १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । उनीहरूविरुद्ध ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दर्ता गरिएको छ । अभियुक्तहरूमा उच्च प्रहरी अधिकृत, सुन व्यवसायी, विमानस्थलका कर्मचारीलगायत छन् ।
 
यो मुद्दाका ६३ अभियुक्तमध्ये मुख्य योजनाकार भनिएका चूडामणि उप्रेती (गोरे) सहित ३३ जना फरार छन् । पछिल्लोपटक यसै साता दुई हुन्डी कारोबारीहरूलाई पनि पक्राउ गरिएको छ । उनीहरूको गोरेसँग आर्थिक कारोबार भएको दाबी सरकारी पक्षको छ । यीसमेत गरी प्रहरी नियन्त्रणमा रहेकाको संख्या ३२ पुगेको छ ।
 
सुन तस्करीदेखि हत्यासम्म
 
यो प्रकरणमा सुन तस्करीदेखि सुरु भएको घटनाक्रम सुन हराएपछि हत्यासम्म आइपुगेको र अनुसन्धान र मुद्दाको अवस्थाचाहिँ हत्या घटनादेखि सुन तस्करीको प्रसंगसम्म पुगेको सम्बद्ध वकिलहरूले बताएका छन् । दुबईबाट भित्रिएको भनिएको सुन तस्करी प्रकरणसँग सम्बन्धित तीनजनाको ज्यान गइसकेको छ ।
 
भरिया भनिएका सनम शाक्यको उनकै सहकर्मीले यातना दिई हत्या गरेका थिए । थाई एयरलाइन्सका नेपालस्थित कर्मचारी सानु बनको नेपाल आयल निगमको ट्यांकरले किचिएर मृत्यु भएको थियो । घटनामा मुछिएका नेपाल एयरलाइन्सका ‘लोडर’ प्रेमलाल चौधरीले महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा आत्महत्या गरेका थिए ।
 
उच्चस्तरीय छानबिन समितिको अनुसन्धानअनुसार दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै साढे ३३ किलो सुन तस्करी भएर भित्रिएको थियो । मुख्य प्रमाणका रूपमा मानिने सुन कहाँ छ भनेर हालसम्म पत्तो छैन । सुन दुबईबाट २०७४ माघ ९ गते ल्याइएको अभियुक्तहरूले प्रहरीमा बयान दिएका छन् । उक्त सुन थाई एयरलाइन्सका कर्मचारी सानु बनलाई जिम्मा दिएर आफूहरू घर गएको बयान अभियुक्तमध्येका टेकराज मल्ल ठकुरीले दिएका छन् ।
 
त्यही दिन साँझ सुन ‘सम्बन्धित ठाउँ’ मा पुर्‍याउन नपाई काठमाडौंको अनामनगरमा लुटिएको भन्ने जानकारी भविन राई भन्ने व्यक्तिबाट पाएको ठकुरीले बताएका थिए । हराएको जानकारी पाएपछि भारतमा रहेका मुख्य अभियुक्त भनिएका चूडामणि काठमाडौं गएका थिए । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार सुन तस्करीका लगानीकर्ताको समूहले चूडामणिलाई काभ्रेको एक जंगलमा लगेर सुन कहाँ छ भनी सोधपुछ गरेको थियो । उनले आफूलाई थाहा नभएको भन्दै पत्ता लगाउन समय मागेका थिए ।
 
त्यसपछि सहयोगी परिचालन गरेर राजधानीका सम्भावित स्थानमा खोजी गरेका थिए । सुन नभेटिएपछि पूर्वतिर ल्याइएको आशंकामा सोधखोज भएको थियो । खोजीमा चूडामणिको समूहका शाक्यसहितको टोलीले भारत कटाउन सुन झापा पुर्‍याएको आशंका गरिएको थियो ।
 
काठमाडौंबाट पूर्व आएका शाक्य ‘सुन मालिक’ र समूहका अरूसँग सम्पर्कविहीन बनेपछि चूडामणि सहयोगीका साथ पूर्व आएको अनुसन्धानमा संलग्न अधिकारीले बताए । समूहका काभ्रे घर भएका टेकराज, मोरङ, उर्लाबारीका नरेन्द्र कार्की र मोहन काफ्ले पनि हराएको सुन खोजीमा खटाइएका थिए । यसक्रममा उनीहरूमाथि पनि शंका लागेर मोरङको जंगल क्षेत्रमा यातना दिई केरकार गरिएको थियो । रूखमा बाँधेर चूडामणिलगायतले पाइपले कुट्ने अनि करेन्ट लगाउने गर्दा फागुन १८ गते शाक्यको ज्यान गएको थियो । यही घटनापछि यो प्रकरणले नयाँ मोड लिएको हो ।
 
फागुन १९ गते विराटनगर ३ मा बा१२च ५९६३ नम्बर स्कारपियो गाडीमा शाक्यको शव फेला परेको थियो । त्यही दिन प्रहरीले समूहमा संलग्नमध्ये ठकुरी, कार्की र काफ्लेलाई पक्राउ गरेको थियो । पक्राउ गर्ने टोलीमा महानगरीय प्रहरी अपराध महाशाखाका डीएसपी प्रजित केसीसहित थिए । यो टोलीले गरेको अनुसन्धानमा ‘कैफियत देखिएको’ भन्दै महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी र डीएसपी केसीलाई प्रहरी मुख्यालय तानेर गृह मन्त्रालयका सहसचिव पौड्यालको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाएर समग्र घटनाबारे अनुसन्धान थालिएको थियो ।
 
‘त्यसैले सुन तस्करीबाट सुरु भएको यो घटना हत्यासम्म आइपुगेको हो,’ जिल्ला न्यायाधिवक्ता पाठकले भने, ‘हत्यादेखि अनुसन्धान गर्दै जाँदा तस्करीबारे विस्तृत खुल्दै गयो र यो यस प्रकारको अहिलेसम्मकै ठूलो मुद्दा बनेको छ ।’
source:kantipur