सवारी नियममा लापरवाही एड्सभन्दा भयावह !

२०४६ सालमा सेवा प्रवेश गरेँ । त्यसयता अनुभूत गर्न पाएको छैन– निद्राको रङ कस्तो हुन्छ ? कहिल्यै अनुभव लिइनँ– पारिवारिक जीवन कस्तो हुन्छ ।

 

त्यस्तै दिनको ३ घन्टाजति सुत्छु । कहिले गाडीमै कहिले कार्यकक्षमै । घर पुग्ने त सातामा एक दिनमात्रै हो । गाडीका कर्कश ध्वनि । चालक र यात्रुको हप्कीदप्की । पट्यारलाग्दो कुकुर भुकाइ । दिनरातको थकान । लाग्छ– यी सब साथी हुन् ।

 

कसैले घर कहाँ भनेर सोधिहाल्यो भने झुक्किएर सडक हो भनिहाल्छु । हुन त भक्तपुर हो नि !

 

 

चिम्नी भट्टिबाट धूवाँको मुस्लो छुटेजस्तो उकुसमुकुस । 

 

एस्ट्रेभित्र पसेजस्तो निसास्सिँदो काठमाडौँ । चोकमा उभिएर दिनरात हल्लाउँदा फलामतुल्य बनेका हात पाखुरा । कहिलेकाहीँ त सोच्छु– यही धूलोले फुत्त निली पो हाल्छ कि !

 

कान टालिएझैँ हुँदै गएपछि दुई तीन वर्षअघि चिकित्सकलाई देखाएँ । ८० प्रतिशत श्रवणशक्ति काठमाडौँको बढ्दो सवारी चाप र तिनका कर्कशध्वनीले खोसिसकेछन् । पछिल्लो समय दृष्टि पनि धमिलिएँझैँ लाग्छ । के थाहा यो पनि धुवाँधुलोले छोपिएर तेजहीन पो बन्दै गएको हो कि !

 

दुईचारदिन भो– छाती बेस्सरी दुख्न थालेको छ । खोकीमात्रै लाग्छ । उपत्यकाको सवारी जामले अड्किएझैँ भएको छु । जँचाउनसमेत जान भ्याएको छैन । के थाहा, छाती नै काम नलाग्ने भइसक्यो कि !

 

काठमाडौँका ट्राफिक सवारी व्यवस्थापक होइनन् । यी त घामपानी, हुरी सहने छाता हुन् । र, सालिकझैँ चोकमा ठिंग उभिरहन्छन् ।

 

यिनले गाह्रो–साह्रो– अप्ठ्यारो भन्न पाएका छैनन्– कत्ति पनि । बिरामी भएर अस्पतालको शैय्यामा पुग्दा पनि रोगको भन्दा ज्यादा चिन्दा आफू उभिने चोकको हुन्छ– म नहँुदा कतै जाम पो भयो कि !

 

मूल सडकमा दिनभर उभिँदा फतक्क खुट्टा गलेको हुन्छ । वैशाख–जेठको माटो बल्ने धूप । आगाको फिलिङ्गोजस्तो रापिलो पीच सडक । माथि आकाशबाट दशसूर्य खनिएजस्तो उखरमाउलो गर्मी । शरीर डढेर अँगार भइसक्यो । हातपाखुरामा तीनपत्र धूलो टाँसिएका छन् । सार्वजनिक शौचालय कतै छैनन्  । भएकामा पस्नै सकिँदैन– मलमूत्रको दुर्गन्धले अस्पताल भर्ना हुनुपर्लाझैँ । पिसाब रोकेरै काममा खटिन्छन्, धेरैजसो । पुरुषको हकमा त यस्तो छ महिलाको हकमा कस्तो होला, अनुमान गर्नसमेत कठिन छ ।

 

बिहान सात बजेसम्म त ठिकै हो । साढे सातबाट शुरू हुन्छ साढेसातकै दुर्दशा । स्कुलका गाडीहरूको ताँती । जागिर खाँदाताक बिहान आठदेखि दशबजेसम्म र साँझ चार– छबजे सवारी–चापको समय मानिन्थ्यो । दिउँसोतिर फुर्सदै हुन्थ्यो भनौँ ।

 

अहिले त पिक आवर लम्बिएर बिहान घाम नउदाउँदै र मध्यरातसम्म पुगिसक्यो । एकछिन लाखापाखा लाग्यो । सवारी थुप्रिएर किलोमिटर लामो लाइन बनिसकेको हुन्छ । मोटरसाइकलवालाहरूको दादागिरीको त कुरै नगरौँ । ट्राफिक नदेखेपछि त नियम, कानुन सबै उनीहरूकै मुट्ठिमा हुन्छ । मोटरसाइकलले त ट्राफिक नियम पालना नै गर्दैनन् । लेन अनुशासन त परको कुरा !

 

कोटेश्वर, थापाथली, माइतीघर, चावहिल, गौशाला, कलंकी, बल्खु, त्रिपुरेश्वर आदि क्षेत्रमा खटिने ट्राफिकले स्वास समेत सवारी चाप कम भएका बेलामात्रै फेर्छन् भन्दा हुन्छ ।

 

०४८ सालतिर काठमाडौँ उपत्यकामा ४८ हजारकै हाराहारीमा गाडी थिए । अहिले बढेर १२ लाख नाघिसक्यो । उपत्यकामा दैनिक दश लाखभन्दा कम सवारी गुड्दैनन् । सातदोबाटो चोकमा पिक आवरमा अस्ति गनें– एक मिनेटमा १ सय २५ वटा सवारी गुड्दा रहेछन् । कोटेश्वरमा त यसको दोब्बर हुन्छ । एक मिनेट गाडी रोक्दा गाडीको लाइन कहाँ पुग्छ ? आफैँ अनुमान गर्नुहोस् ।

 

०४८ सालमा कालो ड्रममाथि बसेर हात हल्लाउँथें र सवारी रोक्थेँ । २५ वर्षपछाडि पनि ट्राफिकको दुर्दशा त्यही हो– चोकमा उभिने र बेस्मारी हात हल्लाउने !

 

आविस्कारको दुनियाँमा प्रविधिले फड्को मारेर कहाँ पुगिसक्यो । तर हाम्रो ट्राफिक व्यवस्थापन आदिकालकै छ । हात हल्लाउने, सिट्ठी फुक्ने । सुन्दा पनि लाजमर्दो !

 

केही वर्षपहिले प्रशिक्षणको सिलसिलामा जापान पुगेको थिएँ । त्यहाँको ट्राफिक व्यवस्थापन देखेर चित खाएँ । सबैकुरामा यान्त्रिकीकरण गरिएको छ । चोकचोकका ट्राफिक बत्तीले नै गर्छन् सवारी व्यवस्थापन । लेन अनुशासन उस्तै छ । कतैकतै देखिन्छन्– ट्राफिक प्रहरी ।

 

हामीकहाँ त भन्नसमेत अप्ठ्यारो– कुनै चोकका ट्राफिक बत्तीले काम गर्दैनन् । कतैकतै पुनः प्रयोगमा ल्याउन खोजिन्छ । हप्तादिन पनि राम्रोसँग चल्दैनन् । शत्रु लागेजस्तो !

 

लेन अनुशासन मान्दैनन् भनौँ भने पूजा गर्न मन्दिर पुगेका नेपाली घन्टौँ लाइनमा खडा हुन्छन् । शिवरात्री, कृष्णअष्टमीजस्तो विशेष पर्वमा दिनभरि लाइनमा बसेको नदेखेका होइनौँ ।

 

सडकमा निस्किएपछि चाहिँ के हुन्छ– एक मिनेट पनि ढिला हुनुहुँदैन । उपत्यकामा दुई दिनमा एकजनाले सवारी दुर्घटनामा ज्यान गुमाउँछन् । दशजना घाइते हुन्छन् । त्यसमध्ये दुईतीनजना त जीवनभर अपाङ्ग हुन्छन् । अधिकांश दुर्घटना लेन अनुशासन पालना नगर्दा हुन्छ । मन्दिर जाँदा, बैंकमा पैसा बुझाउँदा, बत्ती, पानी बिजुलीको बिल तिर्दा लाइन बस्ने नेपाली सडकमा लेन अनुशासन पालना नगरेरै ज्यान गुमाउँछन् । भन्न पनि कति अप्ठ्यारो ! 

 

चाइनिजको सहयोगमा कलंकी–कोटेश्वर सडकखण्ड बन्दैछ । ६० फिटको चौँडा बाटो । न ट्राफिक लाइट छ । न कतै जेब्रा क्रसिङ । न त आकाशेपुल नै छ । भन्न त निर्माणधीन छ पछि बन्छ नि ! भन्न सकिएला । तर, गाडी त अहिले पनि गुडिरहेकै छन् नि ! हेर्नुस् त कति गाह्रो छ ट्राफिकलाई ? त्यस्तो अस्तव्यस्त सडकमा कसरी गर्ने ट्राफिक व्यवस्थापन । तैपनि ट्राफिक प्रहरीले झिँजो मानेका छैनन् । रातविरात नभनी काम गरिरहेकै छन् ।

 

सवारीमात्रै होइन, यात्रु पनि उस्तै छन् । आफू झुन्डिएर यात्रा गर्छन्, कमजोरी सरकारको औँल्याउँछन्  ।

 

परारसालको गोदावरी मकरमेलामा भक्तपुरतिरबाट आएको बसले छतमा समेत यात्रु राखेर ल्याएछ । सातदोबाटोमा थिएँ, रोकेँ गाडी ।

 

चालक गल्ती भयो भनेर क्षमा याचना गर्दैछन् । यात्रु पो ओर्लिएर निहुँ खोज्छन्– मरे हामी मर्छौं, तँलाई के मतलब ?

 

अझ भन्छन्– जात्रामा पनि नियम कानुन लाद्न खोज्ने ?

 

अचम्म ! जात्रा, आमसभा, जुलुस, धर्ना भन्नेबित्तिकै नियम कानुन अनसन बस्न जान्छ त ? पालना गर्नुपर्दैन ?

 

मरे मै मर्छु रे ! उसो भए ट्राफिकले सबैलाई मर्न दिने त ? हाम्रो नियम कानुनले आफूखुसी मर्न छुट दिन्छ त ? यस्तो त छ हाम्रा यात्रुको चेतना !

 

“मन्दिर गएको श्रीमान् कतिबेला आउला भनेर छोराछोरी कुरिरहेका होलान् । प्रसादसँगै खानेकुरा ल्याउलान् भनेर छोराछोरी कुरिरहेका होलान् । निराश बनाउने ? आँसुको खाडलमा जाक्ने तिनलाई ?,” यति भनेपछि बल्ल भित्र बस्न तयार भए ती यात्रु !

 

मोटरसाइकलवालाको त झन् कुरै नगरौँ । एउटा घटना याद आइहाल्छ ।

 

दुईतीन वर्ष पहिलेको घटना हुनुपर्छ । सरकारी कार्यालयका उपल्ला तहका हाकिमले लाइसेन्स नभएको छोरालाई मोटरसाइकल चलाउन दिएछन् ।
बाबु त भन्दै रहेछन्– हेलमेट लगाएर जानू !

 

तर, आमाले प्रतिवाद गरिछन्– त्यहीँ पर दूध किन्न जाने त हो । ट्राफिक बस्दैन त्यहाँ ।

 

चोकमा दूध किन्न गएको छोरो पैदलयात्रुलाई ठक्कर दिएर अस्पताल भर्ना !

 

ती सरकारी हाकिम मसँग आएर बिन्ति बिसाउँछन्– एकपल्टलाई गल्ती भइहाल्यो सर माफ गर्दिनूस् !

 

ल ट्राफिक प्रहरीले त एकपल्टलाई छुट दियो, तर लापरवाही गरेर सवारी चलाउनेलाई कालले छुट दिन्छ ?

 

नियमकानुन ट्राफिक देख्दामात्रै पालना गर्न बनाइएको हो ? सवारी नियम ट्राफिकका लागि बनाइदिएको हो ? ट्राफिक छैन भन्दैमा आफ्नै जीवनसँग खेलवाड !

 

मलाई सम्झना छ– शुरूशुरूमा एचआईभी संक्रमणको कुरा आउँदा टीभी, रेडियो सबैतिर सुरक्षा अपनाउनेबारे विज्ञापन बज्थ्यो । ‘कण्डम लगाऔँ, एड्स भगाऔँ,’ प्रकारका विज्ञापन सामग्री ठाउँठाउँमा टाँसिन्थ्यो, बजाइन्थ्यो । व्यापक बनाइयो प्रचारलाई । सजग भए सबै ।

 

अहिले मेरो छोरो ट्राफिक भन्दा डराउँदैन । एड्स भन्नेबित्तिकै झसङ्ग हुन्छ ।

 

तर, वर्षेनी एड्सले भन्दा दुर्घटनाले बढ्ता लान्छ । भनौँ न, सडक दुर्घटनाले महामारीको रूप लिँदैछ । तर, कसैलाई चिन्ता छैन । असुरक्षित यौनक्रिडा नगर्नेलाई पनि एड्सको हाउगुजीले छुन्थ्यो र झल्याँस्स हुन्थ्यो । यहाँ त सडक प्रयोग नगरी नहुुनेलाई पनि सवारी नियमबारे कुनै चासो छैन । 

 

एड्स लागेको मान्छे त केही वर्ष बाँच्छ । सवारी नियम पालना नगरे त क्षणभरमै प्राणपखेरु उड्छ । तर, मानिसहरू वेपरवाह छन् !

 

० ० ०

 

एक मिनेट हतार गर्छन् र आधा घन्टा जाममा पर्छन् नेपाली । हतारकै सन्दर्भमा दुईवटा घटना ताजै छन् ।

 

केहीदिनअघिको मात्रै कुरा हो । कोटेश्वरमा जेम्स स्कुलका एकजना विद्यार्थीले ज्यान गुमाउन पुगे । स्कुल जाने समय हुँदैथियो । भक्तपुरबाट आएको बस कोटेश्वरको बसस्टपमा नपुगी वरै रोकियो । बालक हुर्रिंदै गाडीबाट ओर्लने भएका खुट्टा भन्दा पहिला शरीर हुत्तियो । सडकमा बजारिन पुगे । गाडी पूर्णरूपमा रोकिएको थिएन टाउको पछाडिको चक्काले भेटिहाल्यो । त्यहीँ गयो प्राण ! हतार गर्दाको परिणती हो यो ।

 

त्यस्तै, तीन वर्षअघिको अर्को घटना छ । सबैलाई थाहा छ रत्नपार्कमा आकाशे पुल छ । बाटो काट्नका लागि नै बनाइएको हो त्यो । 

 

तर, एकजना यात्रु अज्ञानी निस्किए । अत्यन्तै हतार भएछ उनलाई, ठीक आकाशे पुलमुनिबाट बाटो काट्ने भएका माइक्रो बसले ठक्कर दिइहाल्यो । उत्ति नै खेर ज्यान गयो ।

 

माथि आकाशेपुल छ तलबाट बाटो काट्ला भनेर सवारी चालकले सोचिबस्ने कुरा पनि भएन । 

 

त्यस्तै सातदोबाटो चोकमा केही वर्षपहिले एकजना अभिभावकले बच्चा पछाडि राखेर हतारिँदै मोटरसाइकल चलाउँदैथिए । सन्तुलन बिग्रिएर सडकमा बजारिन पुगे ।

 

दैवसंयोग बच्चा उछिट्टिएर पर पुगे । अभिभावकको कम्मरमुनिको भाग पछाडिको ट्रिपरले भेटिहाल्यो ।

 

ज्यान त बल्लबल्ल बाँच्यो । अठार लाख खर्च गर्दा पनि कम्मरमुनिको भाग राम्रोसँग चल्न सकेन । एक मिनेट ढिलो गर्न नसक्दाको परिणाम हो यो । यस्तैयस्तै कारणले उपत्यकामा दुर्घटना बढेको बढ्यै छ । यसलाई न्यूनीकरण गर्ने भनेको चेतना जागृत गराएरै हो ।

source:baarhakhari