दक्षिण कोरियामा यसरी बदलिँदैछ किमको छवि

एजेन्सी । वर्षौँदेखिको आणविक हतियार परीक्षण र आफ्नो छिमेकीप्रतिको क्रुर व्यवहारका कारण उत्तर कोरियाली शाषक किम जोङ उनलाई दक्षिणमा राम्रो पात्रका रुपमा लिइँदैनथ्यो । तर पछिल्लो समय राष्ट्रपति मुन जे इनसँगको ऐतिहासिक भेटवार्तापछि कोरियाली प्रायद्विपमा छाएको शान्तिपूर्ण वातावरणका कारण अहिले दक्षिण कोरियाली जनता लगायत मिडियाहरुमा समेत किमको नम्र छवि प्रस्तुत गर्न थालिएको रोयटर्सले जनाएको छ ।

 

राजधानी सिओल नजिकका क्षेत्रका क्याफेमा हिजोआज किम र मून एकसाथ रहेको चित्र बनाइएको कफि राख्न थालिएको छ । कुनै समय कठोर दुश्मनका रुपमा रहेका यी दुवै प्रमुखहरुको हाँस्दै गरेको चित्र कोरिएको सो कफिको खोजीमा अहिले दैनिक बीसजना भन्दा बढी मानिसहरु आउने गरेको क्याफेका मालिकले बताएका छन् । यसका साथै उनीहरुले ग्राहकलाई सो चित्रमा दुवै प्रमुखहरुका बीच आफ्नो तस्बिर पनि राख्ने मौका दिइरहेको बताएका छन् । संयोगले सो क्याफेका मालिकको नाम पनि शाषक किमका पिताको नाम ‘किम जोङ इल’ नै रहेको छ । आफू दुवै देशको एकिकरण प्रक्रियाबाट धेरै प्रभावित भएकाले उत्तर र दक्षिण कोरियाबीच सधैँ शान्ति कायम भइराखोस् भन्ने कामना गर्दै यस्तो कार्य थालेको उनले बताएका हुन् । 

 

वास्तवमा गत अप्रिलको ऐतिहासिक बैठकमा जसरी किम एक दक्ष युवा नेताका रुपमा प्रस्तुत भइ शान्ति स्थापनाका लागि तयार भए, त्यसै समयबाट दक्षिण कोरियाली नागरिकहरुमाझ उनको छवि नम्र बन्दै गइरहेको छ जसले कुनैबेला सिओललाई ध्वस्त पारिदिने धम्की समेत दिएका थिए । हालै गरिएको सर्वेक्षणले पनि किमको लोकप्रियता दक्षिण कोरियामा मात्र १० प्रतिशतबाट अहिले ३१ प्रतिशत पुगिसकेको देखाएको छ । 

 
 

 

यसबारेमा मूनले पनि किमसँगको दोस्रो भेटमा उनको लोकप्रियता दक्षिणमा वृद्धि भइरहेको बताएका थिए जसको प्रतिक्रियामा किमले ‘यो धेरै ठूलो राहत्’ भएको जवाफ दिएका हुन् । यसअघि भने दक्षिण कारियाले उत्तर कोरियाली नीतिको प्रशंसा, प्रोत्साहन र प्रचार गर्ने वेबसाइटमाथि कानूनी कारबाही गर्ने गरेको थियो । यसै कानुन बमोजिम २०१३ मा १०० जना अपराधी पक्राउ परेका थिए । त्यसैगरी सिओलको अर्को जिममा पनि किमको नामको प्रयोग भएको पाइएको छ । उक्त जिमले किमको तस्बिर आफ्नो ब्यानरमा राख्दै केही तौल घटाउन आवश्यक रहेको भन्ने उल्लेख गरेको छ ।

 

अन्र्तकोरियाली सम्मेलनमा किमले आफ्नो मुस्कानलाई सबैभन्दा ठूलो हतियारका रुपमा प्रयोग गर्न सकेकाले पनि उनको छवि नरम बन्दै गइरहेको बताइन्छ । त्यसैगरी मूनसँगको दोस्रो बैठकमा पनि किमले हावामा चुम्बन गर्दै उनीसँगको निकटता प्रस्तुत गरेका थिए जसलाई धेरैले राम्रो संकेत मानिरहेका छन् । तरपनि अझै धेरै रुढीवादी दक्षिण कोरियाली नागरिकहरु किमको बढ्दो सकारात्मक प्रचारसँग खुसी छैनन् । दक्षिण कोरियाली सरकार र संचार माध्यमहरुले नागरिकलाई मूर्ख बनाइरहेको उनीहरुको आरोप छ । 

source:baarhakhari