तीनवटा हवाई रुट दुईतर्फी गर्न भारत सहमत

काठमाडौँ — भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने विमानले अब सिमराबाटमात्रै छिर्नुपर्ने बाध्यताबाट मुक्ति पाउने भएका छन् । भारतले पूर्वमा विराटनगर, जनकपुर र पश्चिममा महेन्द्रनगरको आकाशबाट विमानलाई नेपाल प्रवेश पनि गर्न दिने भएको छ । 

 
 
अन्तर्राष्ट्रिय उडानका लागि नेपाललाई थप प्रवेशमार्ग उपलब्ध गराउन नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणका प्राविधिकहरुको राजधानीमा बिहीबारदेखि चलेको दुईदिने वार्तापछि यस्तो निर्णय भएको हो। यसअघि काठमाडौंबाट उड्ने ठूला विमानले दक्षिण, पश्चिम र पूर्वतर्फ रहेका मुलुकहरुमा जाँदा महेन्द्रनगर, भैरहवा, जनकपुर र विराटनगर नाकाबाट भारतीय हवाई रुट भएर निस्किन पाउथे। यी रुट एकतर्फी मात्रै भएकाले ठूला विमान नेपाल छिर्न भने पाउदैन्थे। अब भने यी रुटलाई दुईतर्फी बनाउन भारत सहमत भएको छ।
 
प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार, विराटनगर र जनकपुरबाट ठूला जेट विमानले प्रवेश गर्न सक्ने छन् तर महेन्द्रनगरबाट क्षेत्रीय उडान भर्ने मझौला विमानले मात्रै प्रवेश गर्न पाउने भएका छन्। ‘दिल्ली हुँदै आउने ठूला विमानलाई महेन्द्रनगरको आकाश भएर प्रवेश गराउन प्रस्ताव गरेका थियौं तर, भारतीय पक्षले अहिले साना विमानका लागि मात्रै सहमति जनाए,’ उपमहानिर्देशक पोखरलले भने।
 
यो सहमतिपछि अब नेपालगन्ज पश्चिमका धनगढी र सुर्खेतका लागि भारतको दिल्लीलगायत क्षेत्रीय सहरको उडानका लागि बाटो खुला भएको छ। यसअघि काठमाडौंबाट महेन्द्रनगरको आकाश हुँदै दिल्ली तथा मध्यपूर्वी र पश्चिमी मुलुक जानेमात्रै हवाई बाटो थियो। लिमा ६२६ नाम दिइएको यो बाटो दुईतर्फी थिएन। ठूला विमानको दाँजोमा कम उचाईमा उडान गर्ने वायुयानले अब महेन्द्रनगरबाट पश्चिमी मुलुकका क्षेत्रीय सहरमा उडान भर्न सक्ने भएका छन्।
 
‘पश्चिमतर्फ महेन्द्रनगर हुँदै कम उचाईमा उडान गर्ने वायुयानका लागि मौजुदा काठमाडौं-महेन्द्रनगर दिल्ली हवाई रुटलाई दुईतर्फी बनाइने,’ नागरिक उड्डयन प्राधिकरणद्वारा शनिबार जारी विज्ञप्तिमा छ, ‘दुबै पक्षले शोको उडान सुरक्षा मूल्यांकन त्यस्को आधारमा लागू गर्ने।’
 
 
त्यसैगरी नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश हुने विन्दु पनि दुईतर्फी हुने भएको छ। ‘दुवै पक्षबीच भएको सहमतिअनुसार नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेश विन्दुका लागि काठमाडौंदेखि विराटनगर र काठमाडौंदेखि जनकपुरबीचको हवाईटलाई दुईतर्फी बनाउने र दुबै पक्ष बसी सोको उडान सुरक्षा मूल्यांकनको आधारमा उक्त रुटहरुबाट वायुयान नेपाल प्रवेश गर्न सक्ने,’ प्राधिकरणद्वारा शनिबार जारी विज्ञप्तिमा उल्लेख छ। पूर्वी सहरहरुबाट पनि भारतीय प्रान्त तथा क्षेत्रीय सहरमा उडानका लागि बाटो खुलेको छ।
त्यसैगरी निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थलहरु भैरहवास्थित गौतमबुद्ध, पोखरा र निगगढ विमानस्थलहरुमा बढी उचाईमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुयानले पश्चिममा नेपालगंज र महेन्द्रनगरबाट प्रवेश गर्न पाउने भएका छन्। तर यसबारे भारतीय पक्षले सन् २०१८ सेप्टेम्बरभित्र विस्तृत प्राविधिक मूल्यांकन कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। यो कार्य सम्पन्न भएपछी नयाँ विमानस्थलहरुको हवाई बाटो खुल्ने छ।
 
अहिले भारत हुँदै नेपाल आउने विदेशी एयरलाइन्सले नेपाल प्रवेश गर्नुपरे भारतसग जोडिएका दुईटामात्रै छिर्ने विन्दु छन्। कोरिया, मलेसिया, हङकङ, बंगलादेशबाट आउने विमान सिमरा हुँदै प्रवेश गर्छन्। भुटानबाट आउने विमान तुम्लिङ्गटारको आकाशबाट छिर्छन्। उत्तरतर्फ ल्हासाबाट आउने चिनियाँ विमानका लागि एउटा रुट छ। नोनिम नाम दिइएको संखुवासभातर्फको त्यो दुईतर्फी हो। ल्हासाबाट आउने र जाने विमानले यो रुट प्रयोग गर्छन्।
 
काठमाडौंबाट उडेका विमानले भारतर्फ जानुपरे इलाम हुँदै मेची रुटबाट पारो, बंगलादेशलगायत पूर्वी मुलुक जानुपरे विराटनगर रुट, जनकपुर-कलकत्ता र पटना, सिमरा-बनारास, भैहरवा-लखनउ र महेन्द्रनगर-दिल्ली र त्यसभन्दा परका मुलुक जान्छन्।
 
दुई मुलुकका प्राविधिकहरुले गरेको सम्झौता कार्यान्वयन हुन कम्तीमा १ वर्ष लाग्ने उपमहानिर्देशक पोखरेलले बताए।
 
अन्तर्राष्ट्रिय उडानका लागि नेपाललाई थप प्रवेशमार्ग उपलब्ध गराउन नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणका प्राविधिकहरु सम्झौतापत्रमा हस्ताक्षर गर्दै। 
source:ekantipur