कहिले पाउलान् नेहा र निकिताले नागरिकता?

संसदमा नागरिकता ऐन संशोधन विधेयक दर्ता भएपछि आमाको नामबाट छोराछोरीले नागरिकता पाउने मुद्दा फेरि व्यूतिएको छ। यो विधेयकमा पनि छोराछोरीलाई नागरिकता दिने विषयमा पुरूष र महिलाबीत विभेद गरिएको छ। यस्तो विभेदले आफ्नो नामबाट सन्तानलाई नागरिकता दिलाउन चाहने महिलाले कतिसम्म झन्झट र अपमान व्यहोर्नुपर्छ भन्ने दिप्ती गुरूङको कथाले बताउँछ। त्यसैले दिप्ती गुरूङको स्टोरी पुनः प्रकाशित गरेका छौ। पहिलो पटक यो स्टोरी २०७२ साल साउन २६ गते प्रकाशन भएको  थियो। -सम्पादक


जब दिप्ति गुरूङले संविधानको मस्यौदा हात पारिन्, उनको मुटु ढक्क फुल्यो। नयाँ संविधान बडो बेचैनीका साथ कुरेकी थिइन्। हतारहतार पाना पल्टाउँदा उनको मनमा कत्रो आश थियो आफूले चाहे जस्तो व्यवस्था पो भयो कि भन्ने।

उनलाई जान्नु थियो आफ्नै मातृभूमिमा महिलालाई दोस्रो दर्जाको महसुस हुने व्यवस्था हट्यो हटेन। महिला पनि स्वतन्त्र नागरिक मानेको छ वा छैन। 

मस्यौदाको भाग २ मा नागरिकताको व्यवस्था रहेछ।

त्यहाँ दिप्तिले आफ्नी दुई छोरीहरुको भविष्य खोजिन्। ति हरफहरूमा आमाको स्वतन्त्र पहिचान पनि खोजिन्।

तर, उनले मस्यौदामा आफूलाई कतै भेटाइनन्। मस्यौदाले एकल आमाहरूलाई फेरि झुक्याएको रहेछ, अपमान मात्रै गरेको छ।

केहीछिन अघि उत्सुकता र आसले उज्यालिएका आँखामा एकाएक कालो बादल छायो।

स्मृतिमा धमिलिँदै गएका र कहिलै विर्सिन नसक्ने यादहरु फेरि आए।

***

दिप्ति १८ वर्षकी थिइन्। उनको शिरमा हात राखिदिने बुवा पनि छोडेर गए। आमा त त्यो भन्दा पहिलै गएकी थिइन्।

जीवनको अर्थ बुझाइदिने, बाटो देखाइदिने र हिँड्न बल दिने बाबुआमाको हात कलकलाउँदो उमेरमै छुट्यो। उनलाई समयले आफ्नो बाटो आफै खनेर हिँड्नुपर्ने  मोडमा ल्याएर छोड्यो।

पढ्न र कमाउन आफै थाल्नु पर्‍यो। आमाबाबुको काखमै बसेर रंगीचंगी सपना देख्ने उमेरमा आफ्नै अभिभावक बनिन् उनी।

त्यहि बेलातिर कोही उनको हात थाम्न आयो। उनी राजी भइन्। उमेर र परिस्थिति नै के थियो र त्यहाँ भन्दा बढी सोच्ने?

२०५१ सालमा उनी १९ वर्ष कि थिइन्। पेटमा बच्चा आयो। छोरी जन्मिइन्। त्यसको ५ वर्षपछि अर्कि छोरी जन्मिइन्। २४ वर्ष मै २ छोरीकी आमा भैसकेकी थिइन्।

र परिस्थितिले ल्याइपुर्‍याएको अर्को मोडमा फेरि पनि उनी एक्लै भइन्। अब उनलाई आफ्नो एक्लो यात्रा मञ्जुर थियो।

यो यात्रामा अरुप्रति कुनै गुनासो थिएन। बिगत प्रति कुनै पश्चाताप थिएन। हुनेपर्ने कारण थिएन। दुई छोरी थिए, आमा हुनुको महसुस भरपुर थियो। त्यो नै उनको नयाँ संसार थियो। उनी अघि बढ्न चाहन्थिन्। 

छोरीहरुको निर्दोष आँखामा, कोमल हाँसोमा उनले आफ्नी आमासँग लामो समयसम्म अनुभूत गर्न नपाएको नियास्रो मेटाउने ममता भेटिन्।

अरू आमाहरु झैँ ति स–साना नानीहरुको दुःखमा रोइन्, अनि हाँसोमा संसारै विर्सेर आनन्दित भइन्। छोरिहरु हुर्काउँदै गर्दा उनी पनि सँगसँगै हुर्किइन रे।

‘मेरी छोरीहरुले धेरै सिकाए मलाई, जीवनका उतारचढावसँग जुध्ने बल र प्रेरणा पनि, आमा हुन पनि र यो सम्बन्ध महसुस गर्न पनि,’ दिप्ती भावुक भइन्, ‘म धेरै खुसी छु किन भने मेरा छोरीहरु छन्, हामी एकअर्कालाई धेरै माया गर्छौँ।'

तर राज्यले नेहा र निकितालाई दिप्तिका छोरी भनेर ‘स्वीकार्न’ मानेन। 

***

कुनै समय थियो, राज्यले के सोच्ला भनेर दिप्तीलाई चासै थिएन। दुःख जिलो गरेर छोरीहरुलाई हुर्काउन र पढाउन व्यस्त थिइन् उनी।

‘आमा म ठूली भएर डाक्टर बन्छु तपाईँलाई विरामी हुन दिन्न, विरामी नभए तपाई कहिलै मर्नु हुन्न र हामीसँगै सधैँ बस्नुहुन्छ,’ दिप्तिको ठूली छोरी नेहा यसै भन्थिन्।

उनको बालसुलभ प्रतिज्ञा देखेर दिप्ति मुसुमुसु हाँस्थिन्। जब छोरीले प्लस टु पास गरिन् गर्वले उनको छाती तनक्क तन्कियो।

छोरीलाई एमबिबिएसको लागि तयारी कक्षा लिन पठाइन्।

नेहा जब एमबिबिएस ‘इन्ट्रान्स’ को फर्म भर्न गइन्, उनीसँग नागरिकता मागियो।

अनि सुरू भयो उनको लडाईँ।

छोरीलाई नागरिकता बनाइदिनुपर्ने भयो भनेर दिप्ति वडामा सिफारिस लिन गइन्। ललितपुर उपमहानगरपालिका वडा नम्बर ३ का तत्कालिन सचिवले सोधे ‘यीनका बावु को हुन्?’

दिप्तिले उत्तर दिइन्,‘यीनीहरुको बावु छैन, बा भने पनि आमा भने पनि मै हो।’

वडा सचिवले उल्टो प्रश्न गरे,‘बाउ नभई कसरी बच्चा जन्मिन्छ? बाउ त चाहिन्छ।’

सचिवले कुरै नबुझेपछि, उनले निकै हारगुहार गरिन्। सचिवले सिडिओ अफिस जानुहोस् भने। चार दिनसम्म धाएपछि बल्ल ललितपुरका सिडिओसँग भेट भयो।

सिडिओले दिप्तिको वृत्तान्त सुनेर भने,‘हामीले वडाको सिफारिस नभई नागरिकता बनाउन सक्दैनौँ। तपाईँ बारे बुझेपछि वडाले सिफारिस दिने हो। सिफारिस देउ भनेर यहाँबाट भन्न मिल्दैन। बनाएर ल्याउनुहोस्, हामी नागरिकता दिन्छौँ।’

वडादेखि सिडिओ कार्यालय अनि फेरि वडासम्म धाउँदा सरकारी कर्मचारीहरूले दिप्तिलाई छोरीका बावुबारे सोधेर धेरै हैरान पारिसकेका थिए। सरकारी कर्मचारीहरुले उनको मान मर्दन गर्न कुनै कसर छोडेनन्। 

छोरीहरू सानासाना हुँदासम्म उलाई समाजका प्रश्न देखेरै डर लाग्थ्यो। ड्युटि राति हुन्थ्यो, दिनभरि उनी सुत्थिन्।

मानिसहरूसँग आमनेसामने हुँदा यस्तै प्रश्न गर्छन् भन्ने डरले उनी थर्रर काम्थिन्। अब त छोरीहरु ठूला भइसकेका थिए। र पनि उनको पुरै डर भागेको थिएन।

फेरि उनी सिडिओ कार्यालय गइन्। वरीपरि गन्यमान्य जस्ता देखिने व्यक्तिहरु थिए। सबैलाई नमस्ते गर्दै दिप्ति भित्र पसिन्।

नमस्ते पनि फर्काउन नभ्याउँदै सिडिओ चुडामणि शर्माले उनको परिचय गराइदिए,‘उहाँ कुमारी आमा हुनुहुन्छ।’

कोठा भरिका आँखाहरू दिप्ति तिर सोझिए।

‘उनीहरुको अनुहार र आँखाको भाषाका अघि म बडो साहसका साथ डटेर उभिएँ, त्यो दिन,’ उनले सम्झिइन्।

त्यसपछि सिडिओले झिँजो मान्दै दिप्तिलाई भने,‘तपाईँको यहाँबाट केही हुँदैन। हाम्रो देशको संविधान बन्दैछ, तपाई जस्तोको समस्या त्यहीँ त्यसैले समाधान गर्छ। संविधान पर्खिनुहोस्, जानुहोस्।

उनले हात घुमाएर उनलाई ढोका तिर जान भनेर आफ्नो अनुहार कोठाका अरू मानिस तिर फर्काए। सिडिओको चरम वेवास्ता र अपमानले घाँटीमा परेको गाँठो आँखामा पग्लियो। उनले झर्न लागेका आफ्ना आँसु हत्केलाले टयाप्पै रोकिदिइन्, र शिर ठाडो गरेर बिस्तारै बाहिर निस्किइन्।

त्यही घटनाले उनलाई समाजको सामना गर्न सक्ने हिम्मत दियो।

छोरीलाई सुनाउनै पर्ने थियो, सुनाइन्। किताब ढ्याप्प बन्द गरेर कोठामा सुत्न गइन् ठूली छोरी नेहा।

त्यो दिन उनीहरुलाई अध्याँरो सुरुङमा आएर जिन्दगी ठप्प रोकियो जस्तो भयो।

नेहा पछि सम्हालिन्, नागरिकता नै नपाएपछि उनले सेतोको सट्टा कालो कोट अठोठ गरिन्-उनी कानुन पढ्ने भइन्। कम्तिमा पाँचवर्ष त नागरिकता चाहिने छैन। वकिलको लाइसेन्स लिन भने उनलाई नागरिकता चाहिने छ।

अनागरिक हुनुको पीडा घरिघरि बल्झिरहन्छ। कलेजले लाने विदेश भ्रमणमा होस कि विदेशी कलेजसँगको मुटकोर्ट प्रतिस्पर्धामा नेहाले भाग लिनै पाउन्नन्। सबै साथी जान्छन्, उनी एक्लै पर्छिन्।

दिप्तिको सानी छोरी निकिता पोहोरसाल कक्षा ९ मा पढ्दैथिइन्। एसएलसीको लागि त्यहिबेला नै फर्म भर्नुपर्ने रहेछ। फर्म भर्न स्कुलले जन्मदर्ता माग्यो। बिना जन्मदर्ता फर्म भर्ना नमिल्ने जानकारी दियो।

निकिता निराश भएर साझ घर फर्किन् र आमालाई सुनाइन्।

सानी छोरीको जन्मदर्ता बनाउन दिप्ति वडा कार्यालय पुगिन्। फेरि उही कथा दोहोरियो।

पढ्न जान नागरिकता चाहिन्छ भन्छ, नागरिकता लिन जाँदा सिफासिस माग्छ, सिफारिस लिन जाँदा फेरि जन्मदर्ता माग्छ जन्मदर्ता माग्न जाँदा बाउ को हो खोज्छ।

बाउ छैन आमा छन् भन्दा पनि राज्य ढिपि गरिरहन्छ,‘आमाले हुँदैन बाउ नै चाहिन्छ, औँलाले भए पनि बाउ देखाऊ।’

निकिताले जन्मदर्ता विना एसएलसी दिन समेत नपाउने भएपछि दिप्ति रिट लिएर सर्वोच्च अदालत गइन्। आमाको नामबाट मात्रै जन्मदर्ता गराउन उनको माग थियो। आफ्नी छोरीले भरेको फर्म तत्कालका लागि नरोक्न पनि अन्तरिम आदेश मागेकी थिइन्।

सर्वोच्च अदालतले उनको फर्म नरोक्न अन्तरिम आदेश दियो। त्यही रिटमाथि माघमा फैसला समेत भयो।

तत्कालिन न्यायाधीश कल्याण श्रेष्ठसहितको संयुक्त इजलासले माघमा फैसला गर्दै भन्यो,‘जन्म दर्ता गर्न चाहनेले भरेको वा भर्न सक्ने विवरण जे जति ल्याउँछ त्यति नै स्वीकार गरेर भएपनि बच्चाको जन्मदर्ता गरिदिनू राज्यको कर्तव्य हुन आउँछ।’

वादी समुदायमा जन्मेका बच्चालाई बावुको ठेगान नभएको भन्दै जन्मदर्ता गराइदिन यसअघि सर्वोच्च अदालतले दिएको नजिर समेतलाई आधारमानेर सर्वोच्च अदालतले यो फैसला सुनाएको थियो।

अदालतको आदेश पछि बल्ल वडा कार्यालयले नेहा र निकिताको जन्मदर्ता गरिदियो। एसएलसीको फर्म भर्ने म्याद उनले एक दिनले भेटिन्। संविधानको मस्यौदा आउनु भन्दा केहि दिन अघि नेहा र निकिताको जन्मदर्ता भयो।

असार ३१ गते, स्कुलबाट आएर निकिताले झोला राख्न नपाउँदै आमालाई सोधिन्,‘आमा खै मेरो जन्मदर्ता?’

उनलाई आफ्ना साथीहरूभन्दा आफू अर्कै लाग्थ्यो रे। ‘उनीहरुको जन्मदर्ता छ मेरो छैन,’ उनले आमासँग भनिरहन्थिन्। जब उनको जन्मदर्ता सजिलै भएन बेला बेला टोलाइरहने भएकी थिइन्। निकितालाई दिप्तिले जन्मदर्ता देखाइदिइन्। निकिताको अनुहारको उज्यालो झ्याप्प निभ्यो र हातको जन्मदर्ताको प्रमाणपत्र फ्यात्त फ्याँकिन्।

जन्मदर्तामा लेखिएको थियो-बाबुको ठेगान नलागेको।

आफ्नै राज्यले महिला नागरिकलाई, उनीहरूका सन्तानलाई यति धेरै अपमान किन गर्छ?

दिप्तिलाई लागिरहन्छ, के महिलाले अधिकार पाउन उसमाथि हिंसा हुनुपर्ने हो? ऊ पीडित भएपछि मात्रै अधिकार पाउनुपर्ने हो?

सरकारी कर्मचारिले घुमाउरो भाषामा उनलाई सधैँ भन्ने गर्छन्,‘कि बलात्कार भएको रिपोर्ट लिएर आउ नभए धेरैसँग यौनसम्पर्क भएकोले आफ्नै बच्चा कसको हो थाहा छैन भन।’

‘म माथि बलात्कार भएको थिएन, न धेरै मानिससँग मेरो सम्बन्ध छ, मैले त्यस्तो कबुल गरेर मात्रै मेरी छोरीहरुले नागरिकता पाउने?,’ दिप्तिले नयाँ संविधान बनाउँदै गरेका नेताहरुलाई सोधेकि छन्।

अनि ति नेताहरुलाई सोधेकी छन्- संविधानको भाग-३, मौलिक हकको धारा २१ मा ‘प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ’ भनेर लेकिएको महिलाका लागि पनि हो कि होईन? संविधानका नजरमा महिला दोस्रो दर्जाको नागरिक हो कि, पुरूषकै दर्जाको?

आफ्ना छोरी अनागरिक होलान् भन्ने पीरले दिप्तिलाई निमोठिरहन्छ। नागरिकताको तनावले आफ्ना छोरीहरूमा पनि मनोवैज्ञानिक दवाव पर्न थालेको उनी महसुस गर्छिन्। छोरीहरू अति निरास भए भने दिप्ति सम्झाउँछिन् ‘कल्पना गर त, मेरो नामबाट तिमीहरुले नागरिकता पाउने गरि नयाँ संविधान आउने छ। हामी सबै नागरिक हुनेछौँ। हाम्रो पासपोर्ट हुने छ। तिमीहरुलाई म थाइल्याण्डसम्म भएपनि घुमाएर ल्याउँछु।’

तनाव कम गर्न कल्पनाको साहारा लिएर कति दिन पुग्छ र?

फेरि राज्यले नै एकदिन सोध्ने छ तिमीहरुको नागरिकता खोइ?  

नेहा र निकिताले अहिलेसम्म नदेखेका र उनीहरुलाई नचाहिएका बावु राज्यले खोजेकोमा उनलाई टिठ छ। सोच्छिन्,  सन्तान जन्माएर, हुर्काएर नागरिकताका लागि योग्य बनाउने आमाभन्दा आफ्ना बच्चाको कुनै फिक्री नभएको बाबुको पहिचान राज्यलाई किन यति महत्वपूर्ण?

आफ्नो र छोरीहरुको आत्मसम्मानसँग सम्झौता नगरि नागरिकता चाहिन्छ उनलाई।

आमा र बच्चाको सम्बन्धलाई समाजले र राज्यले कसरी अवैधानिक भन्न सक्छ?

उनीहरुको घरमा अहिले कुरा हुने सबै भन्दा ठूलो विषय नै नागरिकता हो। अचेल, यति ठूलो मानसिक तनाव दिप्तिले सडकमा ल्याएर पोख्न पाएकी छन्, अहिले आमाको नामबाट नागरिकताको माग गर्दै एकल आमाहरू सडकमा छन्। 

दिप्तिले आफ्ना छोरीहरुका लागि यो लडाई लड्न जागिरै छोडेर बसेकी छन्।

आफ्नै देशमा अनागरिक हुनुपर्ने अरु पनि धेरै सडकमा आइपुगेका छन्।

चौतर्फी दबाब खप्न नसकेर प्रमुख दलकोले नागरिकतामा ‘वा’ राख्ने सहमति भन्ने समाचार आएपछि एकै छिन् त धेरैले राहतको सास फेरे।

‘वा राखेको त आन्दोलनलाई थामथुम पार्न झुक्याएको पो रहेछ। तर घुमाउरा भाषामा फेरि पनि नागरिकता लिन बाउ नै चाहिने व्यवस्था गरिएको छ,’ उनले भनिन्, ‘आमा वा बाबुको नामबाट मात्रै नागकिकता दिने व्यवस्था नहुन्जेल हामी चुप लाग्ने छैनौँ।’

उनका दुई छोरीहरु पनि आमासँगै सडकमा उभिएर राज्यलाई सोध्न सक्ने भएका छन्। नेहा त आमासँगै सार्वजनिक ठाउँमा आएर राज्य र नेताहरुलाई प्रश्न सोध्न थालिसकेकी छन्। निकिताले पनि एसएलसी सकिए पछि ‘आमा म पनि जान्छु है तपाईसँगै अधिकार माग्न’ भनेकी छन्।

उनीहरुको प्रश्न छ,‘हामीलाई आमाले मात्र हुर्काइन्, जिम्मेवारी उनले मात्र बोकिन्। हाम्री आमाको नामबाटमात्रै हामीले नागरिकता किन नपाउने? हामी राज्यबिहिन किन बन्नुपर्ने? अनि हामीले नागरिकता पाउँदा हाम्रो राष्ट्र किन कमजोर हुने वा खतरामा पर्ने?

नेताहरु भीम रावल, रमेश लेखक र विद्या भण्डारीहरूका आँखामा भएको पुरूषवादी चस्माले त राष्ट्र खतरामा देख्ला। तर राज्यले यी नागरिकको पीडा नदेखेर र उनीहरूलाई अधिकार नदिएर त सुख छैन। तर कहिले देला? रावल, लेखक र भण्डारीहरूले कहिले सम्म रोक्लान्?

source:setopati