पर्यटन पूर्वाधारका अपत्यारिला प्रस्ताव

नेपालमा संघ, प्रदेश र स्थानीय तहमा निर्वाचन सम्पन्न भएको छ । संघमा स्थायी सरकार निर्माण भएको छ । सातै प्रदेशका मुख्यमन्त्री पनि एकमना सरकार चलाइरहेका छन् । स्थानीय तहमा पनि पाँच वर्षका लागि अपरिवर्तनीय सरकार क्रियाशील छ । यसर्थ, सबैमा नेपालको आर्थिक समृद्धिको हुटहुटी फैलिएको छ । कोभन्दा को कम भनेझैँ सबैले उम्दा र दामी विचार व्यक्त गरिरहेका छन् । प्रस्तुत विचारको होडबाजीमा नेपालको पर्यटन पूर्वाधार निर्माणका केही अपत्यारिला प्रस्ताव अघि सार्न चाहन्छु, जो नेपालका लागि सम्भव छ ।

सगरमाथामा अनेक पूर्वाधार
नेपालका सगरमाथालगायत सेता हिमाललाई ‘ह्वाइट डलर’ पनि भनिन्छ । बिहानीको सूर्यको किरणसँगै चाँदीझैँ टल्किने यी हिमशृंखला साँझपख सूर्य अस्ताउँदा वैभवपूर्ण सहरझैँ झपक्क बलेका देखिन्छन् । विश्वकै सर्वोच्च शिखर सगरमाथालाई नजिकबाट हेर्ने, छुने र चुम्ने कसको मन नहोला र ? यसर्थ पहिलो कुरा, लुक्ला वा फाप्लु विमानस्थलबाट सगरमाथाको आधार शिविरसम्म हेलिकोप्टरको नियमित सटल सर्भिसको पूर्वाधार तयार गर्नुपर्छ । नाम्चे बजार, त्यसमाथिको सानो विमानस्थल वा त्याङबोचे, फिरिचे जस्ता स्थान पनि सटल सर्भिसका लागि उपयुक्त हुन्छन् । दोस्रो, सगरमाथा आधार शिविर कालापत्थरवरिपरिका पानीका झरनाबाट पिउने पानीको बोटलिङ प्लान्ट स्थापना गर्नुपर्छ । यस्तो ‘स्प्रिङ वाटर’को विश्वबजारमा ठूलो माग छ । धुन्चेमा स्थापित पानी उद्योगबाटै यसको प्रख्यातिको अनुमान गर्न सकिन्छ । तेस्रो, यस क्षेत्रमा पर्वतारोहणसम्बन्धी एउटा अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय एवं ठूलो आकारको सुविधा सम्पन्न तालिम केन्द्र स्थापना गर्नुपर्छ । यसले नेपालको पर्यटन उद्योगमा गतिलै टेवा पुर्‍याउनेछ । चौथो कुरा सगरमाथाको आधार शिविरआसपास पुग्ने केबलकार स्थापना गर्नुपर्छ । यसबाट आन्तरिक र बाह्य पर्यटकको भिड लाग्नेछ । पाँचौँ, सगरमाथा चुचुराको हिउँको सानो कणलाई ‘गिफ्ट प्याक’ गरी हिउँ नपग्लिने विधिद्वारा विश्व बजारसम्म पुर्‍याउन सके नेपालको प्रचार–प्रसार हुने र मनग्य आम्दानी गर्न सकिने हुन्छ । यी पूर्वाधारमा राज्यले गतिलै रकम पूर्वाधारमा लगानी गर्ने गरी थैलीको सुर्केनी खोल्नुपर्छ ।

लुम्बिनीमा एकसे एक पूर्वाधार
लुम्बिनी भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल हो । विश्वका सात अर्ब मानिसमध्ये दुई अर्ब बौद्ध धर्मावलम्बी भएको अनुमान छ । यसर्थ लुम्बिनीमा एकैपटक एक लाखदेखि पाँच लाख मानिसले सामूहिक प्रार्थना गर्ने स्थल निर्माण गर्नुपर्छ । मक्कामदिना वा भ्याटिकन सिटीमा रहेभन्दा ठूलो आकारको प्रार्थना गृह बन्नुपर्छ । दोस्रो, यस क्षेत्रमा बौद्ध धर्मसम्बन्धी विश्वविद्यालय स्थापना गरिनुपर्छ । तेस्रो, अशोकस्तम्भलाई आधार मानी यसको १५ किलोमिटरको गोलाइमा चक्रपथ निर्माण गर्नुपर्छ । चौथो, यसभित्र अन्तर्राष्ट्रिय शान्ति सहर निर्माण गरी विश्वभरिका मानिसले बस्न पाउनुपर्छ । पाँचौँ, लुम्बिनीको विशाल वृक्षमुनिको एक चिम्टी माटो राखी सुनको लकेट निर्माण गरेर आधिकारिक रूपमा बिक्री गर्न सकिए एकातिर विश्वका मानिससँग पवित्र भूमिको एक चिम्टी भए पनि माटो हुने थियो भने अर्कातिर यसले मुलुकको पर्यटन प्रवद्र्धन पनि गर्ने थियो । विश्वका बौद्ध धर्मगुरुलाई नेपाल सरकारको खर्चमा आमन्त्रण गरी ‘गार्ड अफ अनर’ दिनुपर्छ । ।

रारामा तैरिने घर
हालै १ वैशाखमा प्रधानमन्त्रीले रारा तालको किनारमा बसेर देशवासीका नाममा सम्बोधनसमेत गर्नुभयो । रारामा आकर्षक तैरिने घर निर्माण गरी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्नुपर्छ । विदेशीका लागि प्रतिरात करिब पाँच सय डलरबराबर खर्च गर्नुपर्ने गरी तैरिने घरका कोठा उपलब्ध गराउनुपर्छ । संसारमै बिरलै पाइने यस्ता पर्यटकीय स्थललाई निश्चित ब्रान्डिङ र गुणस्तरमा सञ्चालन गर्नुपर्छ । यसका लागि तत्कालै बीस–पच्चीस अर्ब खर्च गर्न निजी क्षेत्र वा सरकार अगाडि बढ्नुपर्छ ।

बागमतीमा मुभेबल रेस्टुराँ
अभियानकै रूपमा बाग्मती सफा हुँदै गएको छ । यस पंक्तिकारसहित धेरैले बाग्मतीको सफा पानीमा नुहाएको पनि दुई वर्ष बितिसक्यो । बाग्मती किनारमा बगैँचा पनि बनेका छन् । बाग्मतीका दुवै किनारमा ढलका पाइप बिछ्याउने र सडक बन्ने प्रक्रिया पनि अघि बढिरहेको छ । अब ठाउँठाउँमा चेक ड्याम्प निर्माण गर्नु जरुरी छ । यसबाट वर्षामा पूरै बाग्मती भरिनेछ । पानी सफा गर्ने प्रक्रियामा गएर जमेको पानीमा डुलिरहने डुंगामा साँझ सञ्चालन हुने डुंगारूपी रेस्टुराँ सञ्चालनमा ल्याउनुपर्छ । यसबाट काठमाडौंको धुवाँ–धुलो र धपेडीबाट वाक्क भएका काठमाडौंवासी र पर्यटकलाई मनोरञ्जन दिन सकिन्छ ।

डबल डेकर बस सञ्चालन
काठमाडौं, ललितपुर, भक्तपुर, पोखरालगायत पर्यटकीय सहरमा पर्यटकीय डबल डेकर बस सञ्चालनमा ल्याउनुपर्छ । यस्ता बसका माथिल्लो खण्ड छानारहित खुला हुनुपर्छ । विभिन्न पर्यटकीय स्थलमा रोकिने यस्ता बसको यात्रा आधा दिनबराबरको हुनेछ । यसले आन्तरिक र बाह्य दुवै पर्यटकको मन जित्नेछ ।

चारकोसे झाडीमा मचान
चितवनको घना जंगल एकसिंगे गैंडालगायत कैयौँ जंगली जनावरका लागि विख्यात छ । हाल सौराहालगायत स्थानमा हात्तीबाट जंगल सफारीको आनन्द प्रदान गरिएको छ । जंगलभित्र ‘जिप ड्राइभ’ गरेर केही पर्यटन उद्योग सञ्चालन भएको छ । अब घना जंगलबीच सुरक्षित, आरामदायी र रात्रिकालीन समयमा जंगली जनावर हेर्न मिल्ने मचानगृह निर्माण गर्नुपर्छ । आखिर जंगलभित्रका जनावर हाम्रा अमूल्य सम्पत्ति हुन् । आफ्नो सम्पत्ति आफ्नै आँखाले हेर्ने रहर जोकोहीमा हुन सक्छ । नजिकका मचानबाट एक–अर्कामा जान मिल्ने पुल निर्माण गर्न सकिन्छ । जंगली जनावरमा कुनै हानि–नोक्सानी नपुग्ने गरी यस क्षेत्रमा लगानी आकर्षित गर्नुपर्छ ।

हिन्दूको ड्रिमल्यान्ड पशुपति
संसारभरका हिन्दू धर्मावलम्बीका लागि पशुपति क्षेत्रलगायत भूमि निकै पवित्र मानिन्छन् । यी क्षेत्रमा ठूलो संख्यामा धार्मिक पर्यटक भित्र्याउन सकिन्छ । भारतको तिरुपति मन्दिरको आम्दानी र व्यवस्थालाई यहाँ पनि अनुसरण गर्न सकिन्छ । विश्वभरका हिन्दूले आजसम्म पनि नेपाललाई हेर्ने दृष्टिकोण अत्यन्त पवित्र र पुण्य भूमिका रूपमा छ ।

साहसिक खेलको प्रवद्र्धन
नेपालका केही साहसिक खेलले विश्वबजार पिटेको छ । तर, यस क्षेत्रमा हामीले मेगा लगानी भित्र्याउन सकेका छैनौँ, भोटेकोसी र त्रिशूलीको र्‍याफ्टिङ विश्वविख्यात छ । यस्तै र्‍याफ्टिङ अन्य ठूला नदीमा पनि सम्भव छ । यसैगरी नेपालका खोचमा बन्जी जम्पिङको पनि ठूलो सम्भावना छ । तर, सिन्धुपाल्चोकबाहेकका खोचमा लगानी भित्र्याउन सकिरहेका छैनौँ । पोखराआसपासका डाँडामा लोकप्रिय प्याराग्लाइडिङ पनि अन्य थुप्रै स्थानमा सम्भाव्य छ । यसमा पनि आधारभूत सुविधा, सुरक्षा र मनोरञ्जनसहित मेगा लगानी र पूर्वाधार जरुरी छ ।

स्वर्गद्वारी र पाथीभरामा केबलकार
लामो समयदेखि स्वर्गद्वारी र पाथीभरामा केबलकार जडान गर्ने भनिए पनि हालसम्म सम्भव हुन सकिरहेको छैन । यसमा लगानीकर्तालाई ‘मुखभरि’को सुविधा दिएर भए पनि मेगा लगानी भिœयाउन जरुरी छ । यसबाट नेपालको पर्यटन क्षेत्रमा ठूलो आन्तरिक कारोबारमा मद्दत पुग्नेछ । पोखराका विभिन्न स्थान पनि केबलकारका लागि सम्भाव्य छन् । यस्ता सम्भावना नेपालभर नै फैलिएको छ ।

(नेपाल सरकारका पूर्वसचिव बास्कोटा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त हुन्)

source:nayapatrika