रानीपोखरीमा व्यर्थै साढे दुई करोड खर्च

रानीपोखरी पुनर्निर्माणमा खर्च भएको साढे दुई करोड खर्च व्यर्थ भएको छ । स्थानीय बासिन्दा, पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच अहिलेसम्म निर्माण गरिएका संरचनामा विवाद हुँदा भत्काउने निर्णय भएको हो । पुरातत्व विभाग र कामपाले नयाँ संरचना हटाएर रानीपोखरी पुरानै शैलीमा निर्माण गर्ने सहमति गरेपछि दुई करोड ५० लाख खर्च त्यसै खेर गएको छ ।

१२ वैशाख ०७२ को भूकम्पका कारण क्षति भएको रानीपोखरी आधुनिक शैलीमा पुनर्निर्माण सुरु गरिएको थियो । १० वैशाख ०७३ देखि वल्र्डवाइल्ड कँडेल केएन केजी जेभीले ठेक्कामा काम गरेको थियो । तर, पुरानै शैलीमा पुनर्निर्माण हुनुपर्ने भन्दै विवाद भएपछि पुरातत्व विभाग र महानगरपालिकाबीच नयाँ संरचना निर्माण रोक्ने सहमति भएको हो । पुरानै शैलीमा रानीपोखरी पुनर्निर्माण गर्न पुरातत्व विभागसँग सहमति भएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले नयाँ पत्रिकालाई बताए ।

पुरानै शैलीमा बनाउन नयाँ टेन्डर
विवादका कारण नयाँ संरचना निर्माण रोकिएको रानीपोखरीमा अब पुरानै शैलीका संरचना बन्ने भएका छन् । साढे दुई करोड खर्चमा निर्माण भएका संरचना भत्काइनेछ । पुरानै शैलीमा निर्माणका लागि नयाँ टेन्डर आह्वान गर्ने महानगरपालिकाको तयारी छ । ‘रानीपोखरीको पुनर्निर्माणका लागि नयाँ टेन्डर गर्दै छौँ,’ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने, ‘पुरातत्व विभागसँग समन्वय गरेर नयाँ टेन्डर आह्वानपछि काम सुरु हुनेछ ।’

भूकम्पले क्षति पुगेको रानीपोखरी पुनर्निर्माणका लागि ११ करोड ६० लाख ७३ हजार ९०० लाग्ने अनुमान भए पनि करिब ७ करोडमा निर्माण कम्पनी वल्र्डवाइल्ड कँडेल केएन केजी जेभीलाई जिम्मा दिइएको थियो ।

source:enayapatrika