घरायसी विवादमा बाबुले गरे छोराको हत्या

भक्तपुर : घरायसी विवादलाई लिएर भक्तपुरमा बाबुले आफ्नै छोराको हत्या गरेका छन्। मोरङ सुनवर्षा नगरपालिका- १ घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका- १ लोकन्थली रमाइलो चोककम डेरा गरी बस्दै आएका डिल्लीराम चापागाईंले आफ्नै छोरा सागर चापागाईको हत्या गरेका हुन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार ४० वर्षीय डिल्लीरामले आफूसँगै सुतेका १७ वर्षीय सागरलाई मंगलबार राती दाउले घाँटी काटी हत्या गरेका थिए। परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले छोराको हत्यापछि डिल्लीराम डेरा घरको एक तल्लामाथिबाट हामफाली भाग्दै गर्दा प्रहरीले तत्काल पक्राउ गरेको जानकारी दिए।
प्रहरीले घटनास्थलबाट रगत लागेको दाउसमेत बरामद गरेको छ।

पक्राउ परेका डिल्लीरामले घरायसी विवादका कारण छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रवक्ता प्रहरी नायब उपरीक्षक पोखरेलले बताए। छोराको हत्या गर्ने डिल्लीराम महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

source:annapurnapost