बेपत्ता कारीदेवीको शव बाँसघारीमा फेला

सिरहाको गोलबजार नगरपालिका १० चोहर्वास्थित आफ्नै घरबाट हराएकी ५५ वर्षीया महिला कारीदेवी यादवको १६ औं दिनमा शनिबार बिहान शव भेटिएको छ । उनको शव नरहा गाउँपालिका १ देवीपुरको बाँसघारीमा गाडेको अवस्थामा स्थानीयले फेला पारेका हुन् ।

घरबाट नै बेपत्ता भएकी महिलाको खोजी गर्दै देवीपुर पुगेका स्थानीयको समुहले रामदेव (लक्ष्मणकाे मामा) काे खेतबारी र बाँसघारीमा खोज्दै जादाँ आलो माटो देखेपछि खनेर हेरेका थिए । महिलाले लगाएको कपडाको आधारमा शव कारीदेवीको नै हो भन्ने एकिन भएको छ । उनको शव अहिले पोष्टमार्टमको लागि सिरहा जिल्ला अस्पताल लगिएको छ ।

घटनास्थलमा प्रहरीको टोली
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार बाँसघारीमा महिलाको शव भेटिएको सूचना पाए लगत्तै प्रहरी घटनास्थलमा पुगेर शव निकालेको बताए ।

यसरी हराएकी थिइन् कारीदेवी
सिरहा जिल्ला अदालतबाट २४ जेठमा कारीदेवीको पक्षमा अंश सम्बन्धी मुद्दा फैसला भएको थियो । उच्च अदालतमा कारीदेवीले मुद्दा हालेपछि जेठाजु रामदेव र भतिजो लक्ष्मणले उनलाई पटक पटक कुटपिट गर्दै आएको स्थानीय बताउँछन् ।

पुख्र्यौली सम्पत्तिको रुपमा ससुराको नाममा रहेको एक बिघा १६ धुर जग्गामध्ये उनले १० कठ्ठा आठ धुर जग्गा पाएकी थिइन् । तर ससुरा र पतिको निधनपछि ससुराको नामको तीन ठाउँमा गरी १६ कठ्ठा १६ धुर जग्गा लुकाएर राखेको भेटिएपछि त्यसमा अंश दाबीसहित ५ भदौ २०७४ मा सिरहा जिल्ला अदालतमा उनले अंश मुद्दा हालेकी थिइन् ।

मुद्दा फैसला हुनु अगावै भतिजो लक्ष्मणले ‘मुद्दा फिर्ता नलिए जे पनि हुन सक्छ’ भन्दै पटक पटक धम्क्याएको अंश मुद्दामा कारीदेवीकी वारेशनामा बसेका नाति पुनित यादवले बताए । त्यसको दुई महिनापछि कारीदेवी बेपत्ता भएकी थिइन् ।

कारीदेवी हराएको साँझ भतिजो लक्ष्मण, लक्ष्मणको मामाका छोरा राधेश्यामसहित नाम नखुलेका अन्य दुई गरी चार जना मिलेर चोहर्वामा मद्यपान गरी लक्ष्मण ससुराली जान्छु भन्दै हिंडेका थिए ।

कारीदेवी हराएको दुई हप्तासम्म पनि आफन्त मौन बसेपछि खोजीको लागि उनकी बहिनीको छोरा यमकुमार यादवले जेठाजु रामदेव र लक्ष्मण यादव विरुद्ध बुधबार इलाका प्रहरी कार्यालय गोलबजारमा किटानी जाहेरी दिएका थिए ।

source:nayapatrikadaily