सडक विस्तारले बनायो घरबेटीलाई डेरावाल

काठमाडौं । सानो कोठा, एउटा कुनामा खाट छ, छेउमा पुरानो टेबल, सोफा, टि-टेबल मात्र होइन, पंखा, हेलमेटदेखि लत्ता कपडा असरल्ल छरिएका थिए । सोमबार मध्यान्ह बाहिर झमझम पानी पहिरहँदा काठमाडौं-१६ बालाजुका भीमदेव श्रेष्ठ साँघुरो कोठामा सामान मिलाउँदै थिए ।

पाँच वर्षकी नातिनीदेखि ९५ वर्षीय आमासहित श्रेष्ठको आठ सदस्यीय परिवारले यही डेरामा बस्न थालेको तीन वर्ष पुग्यो । कोठाभाडा मासिक १४ हजारबाट बढेर १६ हजार रुपैयाँ पुगेको छ । घरमुली श्रेष्ठलाई हरेक महिनाको अन्तिममा कोठाभाडा जोहो गर्न हम्मेहम्मे पर्छ । उनी भन्छन्, ‘जसोतसो भाडा तिरेपछि कम्तीमा अब एक महिना कोठाबाट घरधनीले निकाल्दैन भनेर ढुक्क हुन्छु ।’

२०७२ सालअघिसम्म श्रेष्ठ आफैं ३५ हजार मासिक भाडा उठाउँथे । साढे तीन तले घर थियो । आफूले प्रयोग गरेर बाँकी रहेका कोठाहरु भाडामा लगाएका थिए ।

श्रेष्ठ परिवार १२ बैशाखको विनासकारी भूकम्पमा परेर घरविहीन भएको भने होइन । उपत्यकाको सडक विस्तारका क्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणले घर भत्काइदिएपछि श्रेष्ठ परिवार घरवेटीबाट डेरावालमा परिणत भएका हुन् ।

६५ वर्षअघि जन्मेका श्रेष्ठको बाल्यकाल आफ्ना पिताको घडी पसलमा खेलेर बित्यो । त्यतिबेला बालाजु आसपासमा त्यही एउटा घडी पसल थियो । उनका बुबाले कोलकातामा तालिम लिएर फर्केपछि घडी पसल खोलेका थिए ।

२०३२ सालमा बुबाको मृत्यु भएपछि घडी पसल श्रेष्ठले सम्हाले । त्यही पसल र घरभाडाबाट आउने पैसाले आफ्नो परिवारको गुजारा चलेको उनी बताउँछन् । ‘अहिले न त बुबाका पालाको घडी पसल छ, न आफ्नोे घर नै छ’ श्रेष्ठ भन्छन् ।

घरविहीन भएपछि आर्थिक अभाव त शुरु भयो नै, ९५ वर्षीया  आमा र ८ वर्षीय  नातिले ‘आफ्नै घरमा बस्न जाऊँ’ भन्दा मन कटक्क खाने उनी बताउँछन् । श्रेष्ठ भन्छन्, ‘नाति त ठूलो हुँदै गएपछि कुरा बुझ्दै जाला । तर, कहिल्यै डेरामा नबसेर डाँडापारीको घाम भइसकेकी आमालाई कसरी सम्झाउने ?’

प्रहरीसहित आएको सरकारी टोलीले डोजर लगाएर पछाडिबाट घर भत्काउन शुरु गर्दा पनि आमाले घर छोड्न नमानेको क्षणलाई श्रेष्ठ जीवनकै दुःखदायी पल मान्छन् । ‘घर त हामीलाई भन्दा मनलाई पो चाहिदो रहेछ’, श्रेष्ठ भावुक हुँदै भन्छन्, ‘डोजरले प्रहार गर्न थालेपछि कहाँ गएर बसौंला भन्दा पनि त्यत्रो वर्ष बसेको घर भत्कियो भन्ने कुराले पोल्दो रहेछ ।’

विभेदपूर्ण विस्तार

बालाजु वाइपास क्षेत्रमा सडक विस्तारका क्रममा श्रेष्ठ जस्तै ३८ परिवार घरविहीन भएका छन् । पहिलो चरणमा १८ र दोस्रो चरणमा २० घर भत्काइएको थियो । आफूहरूलाई अन्यायपूर्वक बेघर बनाएको उनीहरुको भनाइ छ ।

काठमाडौं उपत्यकाका नगरपालिका र नगरोन्मुख गाविसहरूमा गरिने निर्माणसम्बन्धी मापदण्ड ०६४ अनुसार बालाजु (चक्रपथ क्रसिङ)देखि बालाजु बजार हुँदै नगरपालिका सीमासम्मको सडक प्रशाखा (कनेक्ट) सडक हो । मापदण्ड अनुसार प्रशाखा सडकको १४ मिटरभित्र निर्माण कार्य गर्न पाइदैन ।

यही मापदण्डलाई आधार बनाएर काठमाडौं उपत्यका विकास प्राधिकरणले सडक मध्यविन्दुबाट दुबैतर्फ सात-सात मिटरभित्र पर्ने संरचना भत्काउन शुरु गर्‍यो । प्राधिकरणले घर-जग्गाधनीलाई मुआब्जा पनि नदिएको होइन । श्रेष्ठले ४१८ वर्गफुट जग्गाको तीन लाख २२ हजार १५२ रुपैयाँ मुआब्जा पनि पाए ।

विकासको बाधक बन्नु हुँदैन भनेर निकै न्यूनतम भए पनि स्थानीयबासीले मुआब्जा बुझे । सडक विस्तारका क्रममा क्षति पुगेको घर जसोतसो टालटुल पारे । ‘मुआब्जा त नाम मात्रको थियो, ऋण खोजेर घर पुनःनिर्माण गरेँ र बुबाको पालादेखिको घडी पसललाई निरन्तरता दिन थालेँ’ श्रेष्ठ भन्छन् ।

तर, पुनर्निर्माण गरेको केही समयमा नै फेरि श्रेष्ठ परिवारको घरमा सरकारी डोजर चल्यो । यसले आफ्नो परिवारको विल्लीबाठ भएको श्रेष्ठले बताए । सडकको अर्को किनारामा पहेँलो चिन्ह लगाएको संरचना भत्काउन छाडेर आफ्नो पुनर्निर्माण गरेको घरमा सरकारले आँखा लगाएको उनीहरुको आरोप छ ।

श्रेष्ठका छिमेकी श्याम मानन्धर पनि सडक विस्तारकै कारण घरविहीन भएका छन् । उनको परिवारले जितपुरमा रहेको १२ रोपनी खेत बेचेर घर ठड्याएको थियो । तर, सडक विस्तारले खायो । मानन्धरको घर भएको स्थान अहिले ट्याक्सी पार्किङस्थल स्थल बनेको छ । ‘ऊ त्यो ट्याक्सीको चक्का भएको ठाउँसम्म मेरो घर थियो’ मानन्धरले सोमबार अनलाइनखबरसँग भने ।

सडक विस्तारले आफ्नो १२ सदस्यीय परिवार बिचल्लीमा परेको बताउँदै मानन्धर भन्छन्, ‘यस्तो विजोग पार्नु भन्दा गोली हानेर मारेको भए हुन्थ्यो जस्तो लाग्छ ।’

सडकको मध्यभागबाट दुबैतर्फ सात-सात मिटर विस्तार गर्ने भनिए पनि एकैतर्फ १० मिटर भन्दा बढी विस्तार गर्दा समस्या उब्जिएको मानन्धर बताउँछन् । पहुँचवालाको घर भएकाले सडकको अर्को किनारामा चिहृन लगाएर पनि पछि नभत्काएको तर, आफूको उठिवास लगाएको उनको गुनासो छ ।

विभेदपूर्ण विस्तार भएको भन्दै भीमदेव श्रेष्ठ सर्वोच्च अदालत पनि गएका थिए । सर्वोच्चले १३ चैत २०७३ मा ‘छलफलबाट टुङ्गो नलागेसम्म निवेदकहरूको घर आगनमा प्रवेश गर्ने, भत्काउने जस्ता कुनै कार्य नगर्नु नगराउनु’ भन्ने आदेश दिँदा उनको घर मांसपेशी विनाको शरीर जस्तो बनिसकेको थियो ।

श्रेष्ठ अहिले त्यही करङ जस्तो घर अगाडि ओहोरदोहोर गरेर दिन बिताउने गरेका छन् ।

सडक विस्तारका क्रममा काठमाडौंमा मात्रै साढे दश हजार भन्दा बढी घर भत्किइसकेको र एक लाख पचास हजार जना प्रभावित भएको काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी बताउँछन् । सायमी भन्छन्, ‘सरकारले तत्कालै समाधानको उपाय ननिकाल्ने हो भने पीडितहरू आर्थिक मात्रै होइन, सामाजिक रुपमा पनि प्रताडित बन्दैछन् ।’

source:onlinekhabar