चीन जाने भिसा आयो 'भद्र र रुप्सी' को

चितवन — चीन पठाउन जंगलबाट समातेर ल्याएका गैंडाका बच्चा (केटो) बाहेक केही दिनअघिसम्म उनीहरुको अन्य परिचय थिएन । तर अहिले त्यहाँ रहेका गैंडाका चारवटा बच्चामध्ये दुईवटाको नामांकरण भइसकेको छ । नामकरण भएका केटोहरुको चीन जाने दिन पनि तय भएको छ । अब ति दुई बच्चा चितवनका लागि दुई दिने पाहुना भएका छन् ।


प्रकाशित : असार १९, २०७५ १४:१४ 

नाम पाएका दुईमध्ये एउटा भालेको नाम भद्र र अर्को पोथीको नाम रुप्सी राखिएको छ । ‘यो नाम सरकारले नै तोकेर हामीलाई जानकारी गराएको हो । विदेश पठाउने भएपछि नाम दिनु पर्ने हुन्छ,’ गैंडाका बच्चाह राखेको ठाउँ राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा कार्यलयका प्रमुख रामकुमार अर्यालले भने । निकुञ्जका अधिकारीहरुका अनुसार जुलाई १२ अर्थात असार २८ मा यी दुई चीन जाने छन् ।

‘लिखित नभएर मौखिक रुपमा हामीलाई गैंडाका दुईवटा बच्चा असार २८ गते चीन उड्ने जानकारी आएको छ । हामी तयारी अवस्थामा छौं,’ चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले भने । निकुञ्जका अधिकारीहरुलाई चीन जाने गैंडाको बच्चालाई नयाँ वातावरणमा घुलमिल बनाउने अभिभारा थियो । त्यो जिम्मेवारी पुरा भएको छ ।

गैंडा चीन जाने दिन तोकिएपछि चीनका पशु चिकित्सक र साईटीसका अधिकारीहरु सौराहा आएर बच्चाहरुलाई हेरिसकेका छन् । मान्छे विदेश जाँदा पनि केही समयअघि बाटै तयारी सुरु हुन्छ । विदेश जाने देशले प्रवेश अनुमति (भिसा) दिएपछि बल्ल जाने पक्का जस्तै हुन्छ । गैंडाका बच्चा जाने मिति तोकिनु भनेको पनि एक प्रकारले भिसा आए जस्तै हो ।

‘भद्र र रुप्सीको भिसा आयो’ अचेल सौराहामा यही चर्चा हुन्छ । गैंडा चीन जाने चर्चा सुरु भएको लगभग अढाई वर्षअघि हो । तत्कालीन वन मन्त्री अग्नी सापकोटा ७२ सालको पुसमा चीन भ्रमणमा जाँदा चीनले गैंडाको बच्चा माग गरेको थियो । चितवनमा विश्वमा नै दुर्लभ मानिएको एकसिंगे गैंडा पाइन्छ । जुन गैंडा नेपाल बाहेक भारतमा मात्रै छ ।

चीनले चाहना गरेपछि नेपाल सरकारले ७३ सालको असार २६ गते उपहार स्वरुप दुई भाले र दुई पोथी गैंडा दिने औपचारिक निर्णय गरेको हो । त्यसपछि अनेक विधि र प्रक्रिया पुरा गरेर दुई वर्षपछि गैंडा चीन पुग्दै छन् । गैंडा ठूलो शरिर भएको हिंस्रक वन्यजन्तु हो । माउ गैंडा लैजान सक्ने अवस्था थिएन । त्यसैले बच्चा गैंडा पठाउन थालिएको हो ।

केटोहरुमा पनि आक्रमक स्वभाव नहुने हैन । त्यसैले जंगलबाट समाएपछि लगभग एक महिना सौराहाको खोरमा राखेर नयाँ खानपान र वातावरणमा उनीहरुलाई अभ्यस्त बनाइएको हो । मान्छे नजिक जाँदा पनि नआत्तिने, नयाँ खानेकुरा पनि मज्जाले खाने भएपछि उनीहरु चीन जान तयार भएका हुन् । केटोहरुलाई चितवनबाट खोरमा राखेर काठमाडौं लगिने छ । काठमाडौंमा खोरलाई विमानमा राखेर गैंडा चीन पुर्‍याइने छ । 

source:kantipurdaily