विवादबीच न्यायाधीश नियुक्तिको तयारी

नागरिकता र शैक्षिक प्रमाणपत्रको चरम विवादकाबीच प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायपरिषद र न्याय सेवा आयोगको बैठक डाँकेका छन् । कानूनमन्त्रीको सचिवालय स्रोतका अनुसार, शुक्रबार नै बैठकको चिठी मन्त्रीको हातमा पुगेको छ। न्यायपरिषद र न्याय सेवा आयोगको अध्यक्ष प्रधानन्यायाधीश हुने संवैधानिक व्यवस्था छ। केही दिनपछि अवकाश पाउने कानूनमन्त्री यज्ञबहादुर थापा समेत दुवै निकायमा सदस्य छन्। 

चौतर्फी विवादकाबीच प्रधानन्यायाधीश गोपाल पराजुलीले बैठक डाँकेको र विवादास्पद निर्णयमा सामेल हुनुपर्ने देखिएपछि त्यसबाट जोगिन सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधिश दिपकराज जोशी फागुन ८ गतेसम्म बिदामा रहेको सर्वोच्च अदालत स्रोतले बतायो। सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश समेत दुवै निकायमा सदस्य हुन्छन्।

अर्कोतर्फ हाल काम चलाउ सरकारका रहेका कानूनमन्त्री समेत केही दिनमा पदबाट मुक्त हँुदैछन्। ‘विवाद टुंगिएर नयाँ कानूनमन्त्री आएपछि बोलाउनुपर्नेमा हतारहतार बैठक डाँक्नु उचित थिएन,’ सर्वोच्च अदालत स्रोतले भन्यो।
स्रोतका अनुसार, जिल्ला र उच्च अदालतका न्यायाधीश नियुक्ति नै न्यायपरिषद बैठकको मुख्य एजेण्डा हो। प्रधानन्यायाधीश पराजुलीले केही उच्च अदालतमा न्यायाधीशहरु नियुक्त गर्ने योजनामा छन्। स्रोतका अनुसार, सम्भव भएमा सर्वोच्च अदालतमा समेत खाली रहेको एक सिटमा न्यायाधीशको नाम सिफारिसबारे छलफल हुनसक्नेछ। यो समाचार कान्तिपुरमा प्रकाशन भएको छ