नेपालको समृद्धिमा सँधै सहयोग : मोदी

काठमाडौँ — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको समृद्धिमा आफू सँधै सहयोग गर्न तयार रहेको बताएका छन् ।प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका सन्दर्भमा शनिबार हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मोदीले नेपालको समृद्धि र नेपालीको खुसीमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

 

उनले भने, ‘नेपालको समृद्धिमा हामी सँधै साथमा छौं।’
 
सगरमाथादेखिको सागरसम्मको पहुँचमा सहयोगी बन्न जलमार्गको घोषणा गरेको उनले जनाए। उनले भने, ‘नेपाल ल्यान्ड लिङ्क भइसक्यो, अब वाटर लिङ्क हुनुपर्छ।’
 
प्रधानमन्त्रीसँगको भेट निकै रमाइलो र खुसीको भएको भन्दै मोदीले नेपाल निर्वाचनपछि नयाँ युगमा प्रवेश गरेको बताए।
 
उनले नेपालको शिक्षा, स्वास्थ्य, कृषिको आधुनिकीकरण गर्नमा सहयोग बढाउने आश्वासन पनि दिए। छोटो समय सम्बोधन गरेका मोदीले सुरुमा नेपाली भाषामा सम्बोधन गरेका थिए।
 
source: Kantipur