सम्पदा पुनर्निर्माणमा विदेशी चहलपहल

भुइँचालोमा भत्किएको हनुमानढोका दरबारक्षेत्रस्थित गद्दी बैठक जिर्णोद्धार अन्तिम चरणमा पुगेको छ। अमेरिकी सहयोगमा भइरहेको जिर्णोद्धार जेठसम्म सकेर नेपाललाई हस्तान्तरण गरिने पुरातत्व विभागले जनाएको छ।

अमेरिकाले गद्दी बैठक जिर्णोद्धार गर्न २०७३ असोजमा ७ लाख अमेरिकी डलर अनुदान घोषणा गरेको थियो। त्यसको एक वर्षपछि जिर्णोद्धार सुरु भएको हो। ‘काम द्रूत गतिमा भइरहेको छ। यही जेठमै हस्तान्तरण हुने कुरा भइरहेको छ,’ विभागका इन्जिनियर गोपाल झाले भने।

राणा प्रधानमन्त्री चन्द्रशमशेरले बेलायत भ्रमणपछि बेलायती वास्तुशैलीमा सन् १९०८ मा यो बैठक बनाउन लगाएका थिए। गद्दी बैठक पञ्चायत कालसम्म राजकीय कूटनीतिक भेटघाटस्थल थियो।

उता, नौतले दरबार चीनले पुनर्निर्माण गरिरहेको छ। उसले सन् २०२२ सम्म पुनर्निर्माण सिध्याउने गरी काम गरिरहेको छ।

गत साउन ३१ गते चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पुनर्निर्माण शिलान्यास गरेका थिए। करिब १६ करोड रुपैयाँ लाग्ने अनुमान छ।

यसमा चीनबाटै आएका प्राविधिक खटिएका छन्। ‘बाहिर नदेखिए पनि नौतले दरबार पुनर्निर्माण द्रूत गतिमा भइरहेको छ,’ इन्जिनियर झाले भने, ‘पानी पर्दा भित्री भाग र नपर्दा बाहिरी भाग पुनर्निर्माण गरिरहेका छौं। उनीहरुले भनेकै समयमा काम सक्छन् भन्नेमा ढुक्क छौं।’

यो दरबार पृथ्वीनारायण शाहले विसं १८२६ मा निर्माण गराएका थिए।

दरबार क्षेत्रमै जापान सरकारले श्रीकृष्ण र महाविष्णु मन्दिर पुनर्निर्माणको अध्ययन गर्दैछ। दरबार क्षेत्रकै अन्य मल्कालीन दरबार, भण्डारखाल बगैँचामा रहेको महादेव मन्दिर पुनर्निर्माणको अध्ययन पनि जापानले गरिरहेको छ।

काष्ठमण्डपबाहेक केही सानातिना मठ-मन्दिर स्थानीय र पुरातत्व विभागको पहलमा पुनर्निर्माण भइरहेका छन्। केहीको पुनर्निर्माण सकिएको विभागले जनाएको छ।

काठमाडौं दरबार क्षेत्रमा तीन देशले पुनर्निर्माण गरिरहँदा भक्तपुर दरबार क्षेत्रमा भने विदेशी सहयोग रोकिएको छ।

विदेशी सहयोगविनै पुनर्निर्माण द्रूत भइरहेको नगरपालिकाले जनाएको छ। विश्व सम्पदामा सूचीकृत दरबार क्षेत्रमा पुरातत्व विभागकै कतिपय कामलाई नगरपालिकाले अनुगमन गरेर सही तरिकाबाट गर्न निर्देशन दिइरहेको छ।

भक्तपुर नगरले पुनर्निर्माणमा सहयोग गर्न उपभोक्ता समिति गठन गरेको छ। समितिले गर्न नसकेका काम मात्र नगरपालिकाले गर्छ।

अन्य क्षेत्रमा विदेशी सहयोग र अनुदानका लागि तँछाडमछाड हुँदा भक्तपुरले भने किन लिएन?

‘सकेसम्म आफ्नो काम आफैं गर्नुपर्छ भनेर हामी लागिपरेका छौं। सहयोग गर्छु भनेर त धेरै आएका थिए,’ भक्तपुर मेयर सुनील प्रजापतिले भने, ‘नगरबासी नै सम्पदा पुनर्निर्माण आफैं गर्छौं भनेर आउँछन्। श्रमदान गर्छन्। नसके मात्र नगरपालिकाले गर्नुपर्छ भन्छन्। त्यही भएर हामीलाई सम्पदा पुनर्निर्माणमा अरुको मुख ताक्नु नपरेको हो।’

यति मात्र होइन, भक्तपुर दरबार क्षेत्रका वधशाला, रामेश्वर, ताहापल्चा, सिद्धिलक्ष्मी लगायत मन्दिर पुनर्निर्माण गर्दा नगरपालिकाले ९० सालको भुँइचालोभन्दा अगाडिको जस्तै बनाउँदैछ। यसको निम्ति विज्ञापन गरेर नगरबासीसँग सहयोग मागेको छ। विभिन्न व्यक्तिसँग ऐतिहासिक तस्बिर मागेर अध्ययन, अनुसन्धान गरिएको छ।

‘हामीसँग कालिगढ प्रशस्त छन्। नपुग नहोस् भनेर नयाँ कालिगढ ल्याउन प्रशिक्षण गराइरहेका छौं,’ मेयर प्रजापतिले भने, ‘आज र अहिलेको पुस्तालाई मात्र प्राथमिकता दिएर भएन। हामीले सम्पदा निर्माण गर्ने भनेको १०० वर्ष पछिसम्मका पुस्ताका लागि हो।’

नगरपालिका क्षेत्रभित्र पूर्ण र आंशिक क्षति भएका १३६ मठ-मन्दिर पुनर्निर्माण भइरहेका छन्।

source:setopati