जनयुद्धको नक्कल सफल हुँदैनः प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिको नक्कल सफल नहुने बताएका छन् । उनले क्रान्तिको नक्कल नभइ नयाँ तरिकाले विकास गर्नुपर्ने बताए ।

प्रचण्ड निवास खुमलटारमा शनिबार सिन्धुपाल्चोकबाट पार्टी प्रवेश गर्ने विप्लब समूहका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उनले जनयुद्धको समय र अहिलेको समय फरक भएकाले नयाँ सन्दर्भमा क्रान्तिको बाटो फरक हुने तर्क गरे ।

‘हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन, २०-२५ वर्षअघिको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ’, उनले भने ।

प्रचण्डले पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्तालाई सही निर्णय गरेको बताउँदै माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाउने वातावरण तयार बन्दै गएको जानकारी दिए ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि रगत पसिना बगाउनेकै नेतृत्वमा कम्युनिष्ट एकता हुनुपर्ने उनको धारणा थियो । ‘जसले बाली लगायो, उसैले थन्क्याउन पाउने नै वैज्ञानिक कुरा हो’, प्रचण्डले भने ।

दुईचार दिन समय लिए पनि एमाले माओवादी केन्द्रबीचको एकता अन्ततः भएरै छोड्ने उनको भनाइ थियो । शान्ति सम्झौतामा हस्ताक्षर गरेका बेला माओवादी सिंगो पार्टी हुँदा नै देशमा एउटै कम्युनिष्ट केन्द्र बनाउने विषयमा छलफल भएको स्मरण गर्दै प्रचण्डले कम्युनिस्ट एकता माओवादी नेतृत्वकै पहलमा हुने बताए ।

‘पहिलो संविधानसभामा ठूलो बनेको हाम्रो पार्टीलाई बचाउन सकेको भए संविधान पनि समयमै बनाउन सकिन्थ्यो । यो भन्दा राम्रो संविधान बनाउन सकिन्थ्यो । तर हामी सफल भइएन । हाम्रा विरोधी माओवादी आन्दोलनलाई टुक्राटुक्रा बनाउन सफल भए’, उनले भने ।

माओवादीलाई फुटाएर परिवर्तनका मुद्दालाई लाबारिस बनाउने खतरा पैदा भएको भन्दै उनले अब सबै छरिएर रहेका माओवादी ढिलोचाँडो मूल पार्टीमा फर्कने दावी गरे ।

कार्यक्रममा विप्लब समूहका सिन्धुपाल्चोक जिल्लाका इन्चार्ज चिरन तामाङ र सचिव कमल माझीसहित दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

source:nayapatrika