जापनमा बाढीबाट मृत्यु हुने १५६ पुगे

टोकियो — जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा १ सय ५६ जनाको मृत्यु भएको छ । 

 

 
 
जापान सरकारका प्रमुख प्रवक्ताले सो हताहतको पुष्टि गरेका छन् ।
 
सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या एक सय पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले जनाएको थियो । तर मङ्गलबार बिहानसम्ममा थप ५६ ओटा शव प्राप्त भएपछि सो सङ्ख्या बढेर १ सय ५६ पुगेको हो ।
 
अविरल वर्षा र बाढीको प्रकोप केही दिनदेखि जारी रहेकोले उद्धार कार्य सुचारु गर्न सकिएको छैन । यस प्रकोपमा परी अझै पनि दर्जनौँ व्यक्ति हराइरहेका छन् ।
 
मौसमविद्ले वर्षा अझै नरोकिने जनाएकोले पहिरोको जोखिममा रहेका स्थानबाट स्थानीय व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको वा सर्न निर्देशन दिइएको थियो ।
 
हराएकाको खोजी तथा उद्धारकार्यमा हजारौँ सेना तथा प्रहरी परिचालन गरिएको छ । जापानको क्योडो समाचार संस्थाले मृत्यु हुने धेरैजसो पहिरोमा पुरिएका जनाएको छ ।
source:kantipurdaily