सुनुवाइ समितिको बैठक अझै सुरु भएन

काठमाडौँ — प्रधानन्यायाधीशमा दीपकराज जोशीका बारेमा निर्णय गर्न बस्ने भनेको संसदीय सुनुवाइ समितिको बैठक निर्धारित समयभन्दा डेढ घण्टा ढिला भइसक्दा पनि बस्न सकेको छैन ।

 

सोमबारको बैठकले बुधबार ३.३० बजे बस्ने गरी बैठकको समय तोकेको भए पनि ५.०० बजेसम्म पनि बैठक बस्न नसकेको हो। जोशीलाई प्रधानन्यायाधीशका रुपमा सत्ता पक्षका सांसदहरु अस्वीकार गर्ने र प्रतिपक्षी सांसदहरु स्वीकार गर्ने अडानमा रहँदा बैठक बस्न नसकेको हो।
 
जोशीलाई प्रधानन्यायाधीशको रुपमा अस्वीकारको निर्णय हुन लागेमा समिति बैठक बहिष्कार गर्ने कांग्रेस सांसद्हरुको चेतावनीपछि अहिले सत्तारुढ नेकपाका सांसद्हरु आन्तरिक गृहकार्यमा छन् । उनीहरुले आजै अस्वीकृतकाे निर्णय गर्ने वा कांग्रेसलाई मनाउन बैठक सार्ने भन्ने विषयमा छलफल केन्द्रित गरेका स्रोतले बतायो ।
 
त्यसअघिसत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीका सांसद र प्रतिपक्षी कांग्रेसका सदस्यहरुबीच अनौपचारिक छलफल समेत भएको थियो ।
 
गत बिहीबार प्रधानन्यायाधीशमा जोशीकाबारे सुनुवाइ भएको थियो। सामान्यत: त्यही दिन निर्णय हुने गरेको भएपनि सोमबारसम्मका लागि बैठक सारिएको थियो। सोमबारको बैठक पनि प्रतिपक्षी कांग्रेसका सांसदहरुको आग्रहमा सारिएको थियो।
source:kantipurdaily