तस्करीको नाका बन्दै बिपी राजमार्ग

सिन्धुली : ठला र साना गाडीको मापदण्डका विषयलाई लिएर एक महिनादेखि विवादमा परेको बिपी राजमार्गमा अवैध सामानको व्यापक ओसारपसार हुने गरेको पाइएको छ । ३३ किलो सुनकाण्डमा बिपी राजमार्ग प्रयोग गरिएको चर्चा नसेलाउँदै सोही मार्गमा अवैध सामानको ओसारपसार हुने गरेको पाइएको हो ।

स्थानीय तथा प्रहरीलाई आधार मान्ने हो भने अहिले दैनिकजसो बिपी राजमार्गहुँदै राजधानी काठमाडौं तथा पहाडी जिल्ला र काठमाडौंहुँदै मध्यतराईका साथै भारतसम्म अवैध सामानको ओसारपसार हुने गरेको छ ।
 
चार दिनअघिमात्र ना ४ ख ५५१४ नम्बरको ट्रक अवैध रुपमा गाईभैसीको दाना तराईबाट लिएर बिपी राजमार्गहुँदै काभ्रे जिल्लातर्फ निर्वाध प्रस्थान ग¥यो । प्रहरीलाई विशेष सुराकी दिइए पनि प्रहरी प्रमुख रामेश्वर यादवकै निर्देशनमा प्रहरी चेकपोष्टमा बसेका प्रहरीले उक्त ट्रकलाई बिनाजाँच छाडिदिए ।

एक दिनअघिमात्र ना १ ज ३९९२ नम्बरको बर्दिबास यातायातको बोलेरोमा झन्डै तीन लाख रुपैयाँ बराबरको भारतबाट राजस्व छली गरी काठमाडौंतर्फ लैजाँदै गरेको अवैध कपडा जिल्ला प्रहरी कार्यालय नजिकै रहेको प्रहरी चेक प्वाइन्टमा नियन्त्रणमा लिएर पनि छोडियो ।

त्यसको भोलिपल्टै ना ३ ख २१९५ नम्बरको हायसमा झापाबाट काठमाडौंतर्फ लैजाँदै गरेको एक लाख ५० हजार रुपैयाँ बराबरको अबैध कपडा सुराकीकै आधारमा सिन्धुली प्रहरीले नियन्त्रणमा लियो तर  छोडियो । शुक्रबारमात्र बा ३ ख ७९७४ नम्बरको हायसमै महोत्तरीको बर्दीबासबाट लाखौं रुपैयाँको सुर्ती, रजनीगन्धा, पान, पराग लगायतका सामग्री सिन्धुलीहुँदै काठमाडौं पठाइयो ।

यी  केही उदाहरणमात्र हुन् । जिल्लामा बिपी राजमार्गको प्रयोग गर्दै दिनरात प्रहरीकै सेटिङमा अवैध मालसमान दैनिकर ओसारपसार हुने गरेका प्रमाण भेटिएका हुन् । प्रहरीका उच्च अधिकारीको सेटिङमा हुने यस्ता अवैध तस्करीले जिल्लामा साना पदमा रहेका प्रहरीलाई भने सास्ती पर्ने गरेको प्रहरी जवानकै भनाइ छ ।

‘हरेक सामाग्री नेपाली र भारतीय सवारीसाधनहरुमा दैनिक ओसारपसार भएको सुराकी आउँछ । हामी त्यसलाई नियन्त्रणमा लिन्छौं । तर, माथिल्लो तहका हाकिम साप’को निर्देशनपछि पुनः छाड्नुपर्ने हुन्छ’, जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत एक प्रहरी जवानले भने ।
 
अर्का एक जवानले थपे, ‘तराईका व्यापारीसँगको मिलेमतोमा भारतबाट ल्याइएका अवैध समान र पहाडका ब्यापारीसँग मिलेर पहाडबाट गाईभैंसी, चीनबाट ल्याइएका लत्ताकपडा, विद्युतीय सामाग्रीका साथै सुन, चाँदीसम्म बिपी राजमार्गबाट तराईहुँदै भारतसम्म पुयाउने गरिएको छ । हामीले बोले जागीर नै जान्छ । ठुलासँग कसरी सेटिङ हुन्छ थाहै हुँदैन ।’

यस विषयमा सिन्धुलीका प्रहरी प्रमुख यादवले प्रहरीबाट कुनै पनि गैरकानुनी काम नभएको दाबी गरे । उनले प्रायः सबै गाडीमा चेकजाँच हुने र अबैध मालसामान नियन्त्रणमा लिएर त्यस्ता व्यक्ति, व्यवसायीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाए ।

source:annapurnapost