म्यानमारका राष्ट्रपति काठमाडौंमा

काठमाडौँ — म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुगेका छन् । राष्ट्रपति मिन्ट बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा भाग लिनका लागि मंगलबार अपराह्न काठमाडौं आइपुगेका हुन् । उनलाई स्वागत गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल विमानस्थल पुगेका थिए ।

 

उनी सम्मेलन सुरु हुनु दुई दिनअगावै यहाँ आएका हुन्। बिमस्टेक सम्मेलन बिहीबार सुरु हुँदैछ। सम्मेलनमा बंगलादेश, भारत, श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटानलगायतका राष्ट्रप्रमुखहरुले भाग लिनेछन्।
म्यानमारका राष्ट्रपति मिन्टले १४ गते राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गर्नेछन् भने १६ गते लुम्बिनी भ्रमणमा जाने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
 
सन् १९९७ मा स्थापना भएको बिमस्टेकको चार वर्षअघिबाट नेपाल अध्यक्ष राष्ट्र हो। बिमस्टेकको पहिलो सम्मेलन थाइल्यान्डमा सन् २००४ मा भएको थियो। दोस्रो भारतमा सन् २००८ मा भएको थियो। तेस्रो शिखर सम्मेलन ६ वर्षपछि सन् २०१४ मा म्यानमारमा भएको थियो। त्यसपछिको अध्यक्ष नेपाल हो। कार्यतालिकाअनुसार नेपालमा चौथो सम्मेलन नेपालले गर्न लागेको हो।
source:kantipurdaily