छ दिनमा २२४ जना सगरमाथा चुचुरोमा

काठमाडौँ — सर्वोच्च शिखर सगरमाथामा शुक्रबार ६५ आरोही पुगेका छन् । आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताएअनुसार ३५ जना नेपाली शेर्पा र ३० जना विदेशी रहेका छन् । आइतबारदेखि शुक्रबारसम्म चुचुरोमा पुग्नेहरुको संख्या २ सय २४ पुगेको छ । 

 

बिहीबार ९ नेपाली र नौ विदेशीसहित १८ जना आरोही चुचुरोमा पुगेका थिए । गत आइतबार यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण अभियानअन्तर्गत आठ नेपाली (शेर्पा) को समूह बाटो बनाउँदै सबैभन्दा पहिले चुचुरोमा पुगेपछि आरोहण सुरु भएको थियो । यसवर्ष सगरमाथा आरोहणका लागि नेपालसहित ४३ मुलुकका ३ सय ४६ आरोही सगरमाथा पुगेका छन् । तिनमा ६० महिला र २ सय ८६ पुरुष आरोही छन् । आरोहीका साथसाथै करिब ४ सय हाराहारी हाई अल्टिच्युट शेर्पा गाइड पनि छन् ।
 
पर्यटन विभागका अनुसार यसपटक सबैभन्दा धेरै अमेरिकी ६४, भारतीय ५९, चिनियाँ ५४ र बेलायती २४ छन् । यसपटक ५ महिलासहित २० जना नेपाली छन् । यो सिजनमा सगरमाथासहित २९ वटा हिमाल आरोहणका लागि विभागबाट अनुमति जारी भएको छ । जसमा १ सय ५ आरोहण दल सम्मिलित छन् भने ८ सय ३९ सदस्य छन् । विभागले आरोहण अनुमतिबाट ४१ करोड २८ लाख संकलन गरेको छ । यसमध्ये सबैभन्दा धेरै ३५ करोड ३५ करोड सगरमाथाबाटै संकलन भएको छ ।
 
आरोहणका लागि भृकुटीमण्डपमा रहेको पर्यटन मन्त्रालयअन्तर्गतको पर्यटन विभागलाई दस्तुर बुझाउनु पर्छ । यस्लाई सलामी भनिन्छ । सलामी तिरेपछि मात्रै हिमाल आरोहणको अनुमति पाइन्छ । सगरमाथा आरोहण गर्न चाहने विदेशीले ११ हजार डलर (११,९१,३०० रुपैयाँ) तिर्नुपर्छ । यो वषन्तकालीन यामको सलामी दस्तुर हो । जाडो र बर्खामा २७५० डलरमात्रै लाग्छ । नेपालीलाई भने ७५ हजार रुपैयाँ दस्तुर लाग्छ भने बर्खा र हिउँदयाममा १८ हजार २ सय ५० रुपैयाँ सलामी दस्तुर तिर्नुपर्छ ।
६ हजार ५ सय मिटरभन्दा साना हिमालमा सबैभन्दा कम दस्तुर विदेशीका लागि ७ हजार र नेपालीका लागि १ हजार लाग्छ । अहिले मध्य र सुदूरपश्चिमका हिमाल आरोहणका लागि भने दस्तुर तिर्नु पर्दैन ।
 
सरकारले ५ हजारभन्दा अग्ला ८ हजार ८ सय ४८ मिटरसम्मका १३ सय १० वटा हिम चुचुरा पहिचान गरेको छ । यीमध्ये ४ सय १४ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । सरकारले वर्षमा चारपटक (वसन्त, बर्खा, शरद र हिउँदयाम) हिमाल आरोहणका लागि खोल्ने गरेको छ । यी चार सिजनमध्ये वसन्तकालीन याममा सबैभन्दा धेरै आरोहणका लागि हिमालका आधार शिविरमा पुग्ने गर्दछन् ।
source:kantipur