धुर्मुस–सुन्तली हुनुको विडम्बना

सबैलाई हसाउने धुर्मुस र सुन्तलीको जोडी २०७२ सालको भूकम्पपछि जनतालाई हसाउनमात्र हैन तिनको आँसु पुछ्न पनि अघि बढे । गरिब र निमुखा जनताको आँसु पुछेर सर्वत्र चर्चित र सबैको प्यारो बनेको यस जोडीलाई अहिले भने आफ्नै आँसु पुछ्नुपर्ने अवस्था आइपरेको छ । अहिलेसम्म सबैका प्रिय बनेका यो हास्य कलाकार जोडी र यिनको समूहमाथि अचानक फाउन्डेसनको नाममा लाखौं असुल गरेको आरोप लागेको छ । 

 

सिताराम कट्टेल ‘धुर्मुस’ले पत्रकार सम्मेलन गरेर आफूलाई लागेको आरोप प्रमाणित भए यो संसारबाटै बिदा लिनेसम्मको प्रतिज्ञा गरे । उनले वीर अस्पतालको सरसफाइमा रंगरोगनसमेत गर्नु परेपछि आफूले सामाजिक संजालमार्फत् वास्तविक अवस्था दर्शाएको र सहयोगका लागि अनुरोध गरेको पनि स्पष्ट पारे । सरकारले भने वीर अस्पताल सफाइको कामको स्वास्थ्य मन्त्रालयले संयोजन गरेको र सफाइ सद्भाव दूतका रूपमा धुर्मुस–सुन्तली फाउन्डेसन यस कार्यमा सहभागी भएको जनाएको छ । 

 

वास्तविकता के हो भनेर यस विषयमा खासै अनुसन्धान गरिरहनु पर्दैन । यो जोडीप्रतिको विश्वास जनतामा कति खाँदिएर बसेको छ भने यिनले आफूले गरेको काममा बदमासी भएको छैन भनेर निर्दोषिताको प्रमाण दिनै पर्दैन । सामाजिक संजालमा धुर्मुस सुन्तलीको समर्थनको बाढी नै आएको छ । तर, यो जोडीले वीर अस्पतालको सफाइबाट आफूलाई अलग्याएको हो त ? के सामाजिक सेवाबाट यो जोडी र यसको फाउन्डेसन अब अलग भएर बस्छ त ? यहीँ आएर धुर्मुस सुन्तली हुनुको विडम्बना देखिन्छ । सामाजिक सेवामा लाग्ने सबैलाई यो विडम्बना भोग्नुपर्ने हुन्छ । यो समस्याबाट निस्कन सहज भने अवश्यै छैन । 

 
 

वि.सं. २०७२ वैशाख १५ र त्यसपछिका अनुकम्पपछि सबैको मन पोल्यो । परोपकारी मनलाई सहयोग गर्न र सहयोग पुर्‍याउन सबैको सहभागिता खोज्ने सद्भाव जाग्यो । पापी मनका लागि घर भत्किएका र परिवार गुमाएकाको नाममा देखावटी केही गरेर बाँकी सम्पत्ति लुँडाउने इच्छा भयो । दुवै थरीका व्यक्ति र समूहले एकै पटक मद्दतका लागि आवाज बुलन्द गरे । कसैले पाएको सहयोगको रकम सकभर हरेक पैसा आवश्यकता हुनेहरूसम्म पुर्‍याउने जमर्को गरे भने कतिले स्वदेश र विदेशमा उठाएको पैसाको ठूलो हिस्सामा थुक निले । परिणामतः सहयोग गर्ने हातहरू डराए र सही व्यक्तिको हातमा सो सहयोग पुर्‍याउने कोसिसमा लागे । 

 

सो भूकम्प र बारम्बारको अनुकम्पपश्चात कतिपय व्यक्ति घर नजिकको चौरमा पाल लगाएर त्रसित भएर बसे । तिनले कसैलाई ठूलो सहयोग पनि गरेनन् र कसैको पैसा खल्तीमा हाल्ने मौका पनि पाएनन् । तर, केही व्यक्ति सहयोग मागेर सहयोग पुर्‍याउने कार्यमा लागे । यो लेखक आफैँ पनि सहयोग पुर्‍याउने कार्यमा लाग्यो । विदेशबाट पठाइएको र यहीँ संकलन भएको लाखौं रुपैयाँको चामल, दाल, तेल, नुन, झुल, ओछ्याउने म्याट आदि अनेक सामान पसलबाट किनेर गाउँगाउँमा पुर्‍याइयो । तर, त्यस्तो सहयोग पुर्‍याउने कामको निरन्तरता दिनु भनेको बिस्तारै त्यसमै फसिँदै जाने र त्यही नै पेसा हुँदैजाने जोखिम देखियो । सामाजिक संजालमा घोषणा नै गरेर आफूले सहयोगका सामान पुर्‍याउन बन्द गरेको हुनाले सहयोग रकम नपठाउन आग्रह गर्नुपर्‍यो । तर धुर्मुस सुन्तलीले गरेको समाज सेवाको बृहत् आयतन र सो जोडीमाथि संसारभरका नेपाली र अन्य उदार व्यक्तिले देखाएको विश्वासले गर्दा उनीहरूलाई यो कर्मबाट निवृत्त हुने मौका मिलेन । यस्तो कामबाट निवृत्त कहिले हुने हो भनेर सोच्ने समय नै भएन । 

 

वास्तवमा हरेक सहयोगी व्यक्तिले आफूले सहयोग गरेको सबै रकम बराबरको सामान पीडितसम्म पुगोस् भन्ने चाहन्छ । उसले ढुवानीको भाडा, सामानसँगै जाने व्यक्तिको खाजा खर्च अझै कतिपय अवस्थामा बास बस्ने खर्च आदिको हिसाब गर्दैन् । अनि कतिपय अवस्थामा सहयोगीहरूलाई पनि ज्याला दिनुपर्ने हुन्छ । त्यो रकम कहाँबाट जुटाउने ? सहयोगको रकमबाट सो पैसा घटाउने हो भने दातालाई मन पर्दैन, नघटाउने हो भने समाजसेवीको खल्ती रित्तिसकेको हुन्छ । अझ समाज सेवा गर्ने समयावधि कति लामो हो ? आफूसँग बस्न, खान कमाउनु नपर्ने छ भने बेग्लै कुरा भयो तर आफूले पनि कमाएर बाँच्नु पर्ने अवस्था छ भए केही समय पछि आफ्नो बाँच्नेसम्मको खर्च पनि त समाजसेवीले लिनुपर्‍यो । अनि सबै कामको समन्वय गर्न अफिस चाहियो । अफिसमा टेबल पुछ्न र चिया ल्याउन सहयोगी पनि चाहिए । हिसाब राख्न एक जना र समाजसेवा गर्न खटिने अरु केही । सबै खर्च बिस्तारै जोडिदै जाँदा कुनै पनि व्यक्ति वा फाउन्डेसन हामीले सधैँ आलोचना गर्दैआएको गैरसरकारी संस्था बन्न पुगिहाल्छ । जब ‘गैरसरकारी‘ संस्था बन्छ अनि अति त्यागी, अति उपकारी समाजसेवी हुन सकिँदैन । धुर्मुससुन्तली हुनुको विडम्बना यहाँनिर फेरि प्रकट हुन्छ । 

 

आफूले पनि समाजसेवी भएर केही महिना काम गरेको अनुभवको आधारमा धुर्मुस सुन्तलीले कुनै विशेष राष्ट्रिय महत्त्वको बेलामा समाजसेवाको काम गरेर अन्य समयमा कलाकारिता गरेको भए सुनमा सुगन्ध हुन्थ्यो भन्ने लाग्छ । 

 

यो जोडीले गिरानचौरमा भूकम्प पीडितका लागि घर बनाउँदा आफ्नै घर बेच्नुपर्‍यो । हुनत पछि आएको सहयोगले घर त उठ्यो होला तर उनीहरूलाई कलाकारिताबाट बाहिर हुत्याएर समाजसेवाको पेसामा अल्मल्यायो । अनि यस्ता मनकारी कलाकार, जनताको लागि मरिमेट्ने यस्ता प्रिय व्यक्ति ‘एनजीओ’का हाकिमजस्तो हुन पुगे । अहिले एउटा दैनिक पत्रिकाले गलत आरोप लगाएर भए पनि धुर्मुस–सुन्तली (सीताराम कट्टेल र कुन्जना घिमिरे) लाई आफ्नो भविष्यका विषयमा एकपल्ट सोच्न बाध्य पारेको छ ।

 

अब ‘एनजीओ चलाउन‘ छाडेर कलाकारितामा फर्किने बेला भयोजस्तो देखिएको छ । तर, देशलाई यस्तै प्राकृतिक विपद् वा अन्य समस्या परेको बेलामा फेरि संसारभरका मनकारीसँग सहयोग मागेर जनसेवा गर्ने प्रण भने कायमै राख्नुपर्छ । जनतालाई हसाउने र खुसी बनाउने यस जोडीले अब गहभरी आँसु लिएर आफ्नो सत्यता साबित गर्न ‘अग्नि परीक्षा’ दिनुपर्ने दिन नआओस् । 

source:baarhakhari