गंगामायाको जीवनरक्षा गर्न आग्रह

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले छोरा कृष्णप्रसाद अधिकारीको हत्याका दोषीलाई कारबाही माग गर्दै अनशनरत गंगामाया अधिकारीको जीवन रक्षाका लागि अविलम्ब पहल गर्न सरकारसँग आग्रह गरेको छ ।

 

आयोगका तर्फबाट प्रवक्ता मोहना अन्सारीद्वारा बिहीबार जारी विज्ञप्तिमा न्याय प्राप्तिजस्तो आधारभूत अधिकारका लागि लामो समयदेखि वीर अस्पतालमा अनशनरत गंगामायाको अवस्था गम्भीर एवं जटिल बन्दै गएको प्रति संवेदनशील भई तत्काल आवश्यक पहल गर्न सरकारलाई आग्रह गरिएको छ । विज्ञप्तिमा आयोगले सरकारलाई पत्राचार एवं सिफारिस गर्नुका साथै सरकारी अधिकारीको पटकपटक ध्यानाकर्षण गराउँदासमेत सर्वोच्चको आदेश कार्यान्वयन नहुनु दु:खद भएको उल्लेख गरिएको छ ।

सुशीलाको आँसु बग्यो
सर्वाेच्च अदालतको आदेश पालना हुनुपर्ने माग राखी आमरण अनशनरत गंगामाया अधिकारीलाई भेट्न बिहीबार वीर अस्पताल पुगेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की आईसीयूमा पस्नेबित्तिकै भावविह्वल बनिन् । ‘अचेत अवस्थामा रहेकी गंगामायातिर हेर्दै उहाँले आँसु चुहाउनुभयो,’ आईसीयूभित्र साथमै गएका अधिवक्ता ओम अर्यालले भने । सधैंजसो कडा मुद्रामा देखिने कार्कीका आँखा रसाएको दृश्यले अन्य मानव अधिकारवादी र अधिवक्ता पनि भावुक बने ।

‘तपाईं साहसको प्रतिमूर्ति हुनुहुन्छ, न्यायका लागि यत्रो तपस्या गर्ने दुनियाँमा अर्काे कोही छैन,’ कार्कीलाई उद्धृत गर्दै अर्यालले भने, ‘व्यावहारिक रूपमा तपाईंले जितिसक्नुभएको छ, सारा दुनियाँ तपाईंको साथमा छ ।’ कानुन पालनाको सामान्य अवस्थामा पनि हत्यारालाई छाड्न नमिल्ने भन्दै यस्तो त्याग र जीवनको उत्सर्ग गर्ने गंगामायाको जित निश्चय नै हुने कार्कीले बताएकी थिइन् ।

source:kantipurdaily