चीन–जर्मनी सम्बन्ध सुधारको अर्थ

अमेरिकी कदमले चीन र जर्मनीबीचका असमझदारी हटाउँछ भन्ने होइन । जर्मनीका पनि चीनसँग धेरै असमझदारी तथा गुनासा छन् ।

‘मेरो शत्रुको शत्रु मेरो मित्र’ भन्ने एउटा भनाइ छ । अमेरिकासँगको व्यापार युद्धको सन्दर्भमा चीन र जर्मनीको हकमा यो भनाइ लागू भएको छ । यी दुई देशबीच हालै बढेको कूटनीतिक चहलपहलको करण पनि यही हो । कूटनीतिक सम्बन्ध मजबुत बनाउने क्रममा जर्मन चान्सलर एन्जेला मर्केलले गत महिना चीनको भ्रमण गरेकी थिइन् । यसैबीच, इयू–चीन शिखर सम्मेलन हुन दुई दिन बाँकी छँदा चिनियाँ प्रधानमन्त्री ली खछियाङले जर्मनी भ्रमण गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अघि सारिएको संरक्षणवादी एजेन्डाको प्रतिवादका लागि बेइजिङ र बर्लिन दुवै सहकार्यको रणनीति बनाउन चाहन्छन् । अमेरिकी नेतृत्वको स्वतन्त्र प्रजातान्त्रिक अवधारणबाट चीनलाई राजनीतिक रूपमा अलग्याइएको छ ।


जर्मन चान्सलर मर्केलले उनको १२ वर्षे चान्सलर कार्यकालमा ११ पटक चीन भ्रमण गरेकी छिन् । यसैबीच मर्केलको पछिल्लो चीन भ्रमण र लीको जर्मनी भ्रमणलाई निकै महत्वसाथ हेरिएको छ । विश्वका विभिन्न मुद्दामा चीन र जर्मनीले साझा एजेन्डा अघि सारेका छन् । इरान परमाणु सम्झौताबाट अलग्गिने अमेरिकी निर्णयको विपक्षमा यी दुवै देश उभिएका छन् । चीन र जर्मनीका साथै, संयुक्त अधिराज्य बेलायत, फ्रान्स र रुससमेतले ट्रम्पको यस एकल निर्णयको विरोध गरेका छन् । जलवायु परिवर्तन सम्झौताबाट हात झिक्नेदेखि जेरुसेलममा अमेरिकी दूतावास सार्नेसम्मका ट्रम्पका निर्णयलाई यी राष्ट्रले विरोध जनाएका छन् ।

चीन र जर्मनी निर्यातका लागि सबैभन्दा ठूला राष्ट्रमध्ये पर्छन् । यसर्थ, ट्रम्पको व्यापार युद्धबाट यी राष्ट्रले ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । ३४ अर्ब अमेरिकी डलरबराबर निर्यातमा चीन र अमेरिकाले एक–अर्काका सामग्रीमा कर लगाएका छन् । यसैगरी, अमेरिका–इयू व्यापार द्वन्द्वको सबैभन्दा ठूलो क्षति जर्मनीमाथि पर्ने देखिन्छ । अमेरिकी कर योजनाका कारण जर्मनीमा उत्पादित आल्मुनियम, स्टिल र कार निर्यात सबैभन्दा बढी प्रभावित भएको छ । व्यापारमा देखिएको यस्तो प्रतिकूल वातावरणले चीन र जर्मनीलाई एक ठाउँमा उभिन बाध्य बनाएको छ ।

यद्यपि, अमेरिकाले व्यापार क्षेत्रमा लिएको कदमले यी देशबीच रहेका असमझदारी सबै हटाउँछ भन्ने होइन । अमेरिकाले झैँ जर्मनीले पनि चीनसँग धेरै असमझदारी तथा गुनासा राख्ने गरेको छ । व्यापारिक मुद्दाको सन्दर्भमा जर्मन कम्पनीले चिनियाँ बजारमा न्यायोचित पहुँच नपाएको गुनासो छ । यसैगरी, जर्मन प्रविधि र विज्ञताको नक्कल तथा चोरी गरेको आरोप चीनलाई बारम्बार लाग्ने गरेको छ ।

अमेरिका, इयू, जापानलगायत अन्य देशले पनि बौद्धिक सम्पत्तिको अधिकार, प्रविधि रूपान्तरण, चीनको औद्योगिक नीति र राज्य नियन्त्रित उद्योगप्रति चीनको व्यवहारलाई लिएर प्रश्न उठाउने गरेका छन् । चीन र जर्मनीबीच राजनीति, क्षेत्रीय तथा विश्व सुरक्षाका सन्दर्भमा पनि धेरै असमझदारी व्याप्त छन् । यसकारण, चीन–जर्मनी सम्बन्धले भोलिका दिनमा कस्तो गति लेला भन्ने चासोको विषय बनेको छ ।

(केरी हुआङ चिनियाँ मामिलाका विश्लेषक हुन्) 
साउथ चाइना मर्निङ पोस्टबाट

source:nayapatrikadaily