बेलायतीलाई ढाका टोपी र पछ्यौरा

लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट इनमा गत सोमबार बेलायतीहरु भिन्न रुपमा देखिए । बेलायती महिला स्कार्फ र टिका (बिन्दी) अनि पुरुषहरुले ढाका टोपी र खादामा सजिएर नेपाली परम्परागत शैलीमा तिहार मनाए ।
एभरेष्ट इन रेष्टुरेन्टले विदेशीलाई दोश्रो ठूलो नेपाली पर्व तिहार अवगत गराउन, नेपाली खानाको स्वाद चखाउन र न्यानो आतिथ्य प्रदर्शन गर्न एउटा भिन्न माहोल जुराएको थियो ।

कार्यक्रममा सहभागी सबै बेलायती परम्परागत नेपाली पहिरनमा सजिएर नेपाली गीत संगीत अनि खानामा घण्टौं रमाए । ‘नेपाली कला संस्कृतिबारे अवगत गराउन र पर्यटन प्रवर्धन नै मुख्य उद्देश्य थियो’, एभरेष्ट इन रेष्टुरेन्टका निर्देशक यादव भण्डारी भन्दै थिए । 

कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदी, लुइसम काउन्सिलका डिष्ट्रिक्ट चिअर काउन्सिलर ओबाजिमी, साउथ इष्ट लन्डन चेम्बर अफ कमर्स आवद्ध हेलेन मेकान्टोस लगायतले नेपालको सांस्कृतिक विविधताबारे खुबै प्रशंसा गरे । डिष्ट्रिक्ट चिअर ओबाजिमी र हेलेनले नेपाल भ्रमणको चाहना समेत व्यक्त गरेका थिए ।

शुभकामना मन्तव्यका क्रममा राजदूत सुवेदीले भण्डारी दाजुभाईले बेलायत बसेर नेपालको राजदूतका रुपमा काम गरिरहेको भन्दै प्रशंसा गरे । उनले नेपाल मनोरम प्राकृतिक दृश्य र विविध संस्कृतिले भरिएको देश भएको बताउँदै नेपालीले पाहुनालाई भगवान सरह सत्कार गर्ने अवगत गराए ।

कार्यक्रममा नेपाली संस्कृति झल्कने विविध नाच समेत प्रस्तुत गरिएको थियो । एभरेष्ट इनका सञ्चालकद्वय पशुपति भण्डारी र यादव भण्डारीले नेपालको कला संस्कृति जगेर्ना र पर्यटन प्रवर्द्धनका लागि आफ्नै प्रयत्नमा यस्ता कार्यक्रम नियमित गर्दै आएका छन् । पशुपति भण्डारी नेपाल पर्यटन बोर्डका बेलायत प्रतिनिधि पनि हुन् । 

Source: Kantipur