अब एक वर्ष बाँच्नै पर्ने भयो !

काठमाडौं । शताब्दी पुरुष डा. सत्यमोहन जोशीले आज आफ्नो ९९ औं जन्मोत्सव मनाए । उमेरको उकालोले शताब्दी नजिक पुग्दा पनि उनको अनुहारमा देखिने तेज र शरीरमा देखिने शक्ति अद्वितीय छ ।

सेतोको बीचमा थोरै थोरै देखिने कालो जुँगा । उस्तै देखिने कपाल । चाउरिएका गाला । मसिनो आँखा र हाँसिरहेको ओठ । आज दिउँसो नइ प्रकाशनले गरेको सम्मान कार्यक्रममा शताब्दी पुरुष जोशी सधैँ झैं दौरा सुरुवाल, कोट र टोपीमा सजिएका थिए । नइ प्रकाशनले उनको जन्मोत्सवको अवसरमा दुबोको माला लगाइदिएर सम्मान गर्‍यो ।

 

भेटिने मान्छेसँग नमस्कार आदानप्रदान गरेर कुराकानी गर्ने र नचिनिनेसँग परिचय लिएर सोधखोज गर्ने उनको उत्सुक स्वभाव शताब्दी पुग्न लाग्दा पनि उस्तै छ । समाजमा पुर्‍याएको योगदान, कला, सँस्कृतिको अध्ययन तथा अनुसन्धानबाट देशलाई दिएको देनले मात्र होइन उनको साधरणपनले पनि धेरै मानिस आकर्षित गर्छ । १०० को खुड्किलो पुग्नै लाग्दा अहिले उनमा देखिने सक्रियता यौवन नै छ ।

सँस्कृति तथा लोक कलासम्बन्धी अनुसन्धानात्मक कृतिका लागि तीनपटक मदन पुरस्कार पाएका जोशी अहिले पनि पुस्तककै काममा व्यस्त छन् । उनी ‘लोक लहरी’ नामक पुस्तकमा काम गरिरहेका छन् । साझा प्रकाशनले प्रकाशन गर्ने तयारी गरेको पुस्तक यो वर्ष पूरा गर्ने उनको योजना छ । यसमा नेपाली लोक कला सँस्कृतिका बारेमा अनुसन्धानात्मक कुरा समेट्ने प्रयास गरेको उनले बताए ।

प्राचीन र मध्यकालीन नेपाली वास्तुकला, चित्रकला र मूर्तिकलासम्बन्धी लामो समयको अनुसन्धानपछि गएको वर्ष उनले ‘नेपाली कलाको रुपरेखा’ नामको पुस्तक निकालेका थिए । जसमा नेपाली कलाको चीन र भारतीय कलासँगको तुलना गरिएको छ ।

झण्डै ५० पुस्तक लेखेका जोशीले २०१३ सालमा ‘नेपाली लोक सँस्कृति’, २०१७ मा ‘नेपाली राष्ट्रिय मुद्रा’ तथा २०२८ मा ‘कर्णाली लोक सँस्कृति’ पुस्तकका लागि मदन पुरस्कार पाएका थिए ।

मदनपुरस्कार विजेता जोशीलाई ललितपुर महानगपालिकाको केही महिनाअघि गाडी, सुरक्षाकर्मी तथा टेलिफोनसहितको सुविधा दिएको थियो । कार्यक्रमहरुमा जाँदा कहिल्यै ढिलो नपुग्ने जोशी आज १० मिनेट ढिलो पुग्दा नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले ‘हिँड्दा समयमा पुग्नुहुन्थ्यो, सुविधा पाएपछि ढिला हुनुभयो’ भन्दै हँसाए । जोशी मुसुमुसु हाँसिरहेकै बेला उनको बचाउमा अरु नै बोले ‘उहाँ ढिलो हुने मान्छे होइन, आज पानी परेकाले हो ।’

जोशी समयको निकै ख्याल गर्छन् । उनले पाएको उपलब्धी र सुखी जीवनका पछि पनि उनले समयलाई दिएको महत्वको ठूलो देन छ । समयको भेउ पाएका उनले अब आˆनो जीवनको समय भने एक वर्ष भए पुग्ने बताए ।

‘अब एक वर्ष बाँच्नै पर्ने भयो’

९९ वर्षमा पनि शताब्दी पुरुष डा. जोशीको बोल्ने शैली आकर्षक छ । बीचमा खासखुस गरेर बाहिरिन थालेका मान्छे पनि उनी बोल्न थालेपछि शान्त भएर हलभित्रै बसे ।

उनी अनावश्यक कुरा लम्बेतान बोल्दैनन् । कुराको सिलसिला निबन्ध लेखनको शैलीमा जस्तो आदि मध्य र अन्त्यको संरचनामा ठीक्क मिलाउँछन् । यस्तो लाग्छ उनको बोली लेखेर प्रकाशन नै गर्ने हो भने पनि कुनै शब्द काटकुट गर्नुपर्दैन ।

प्रिन्टिङ प्रेसबाट छापेर ल्याएजस्तो मुखैले ‘नमस्कार’ टक्र्याउनेको बीचमा उनी दुई हात जोडेर नमस्कार गरिरहेका थिए । ठमठम हिँडेर कार्यक्रमस्थलमा तलमाथि गरेका उनको बोल्ने सिलसिला पनि निकै मिलेको हुन्छ ।

मञ्चमा पोडियमअघि उभिएर १५ मिनेट बोलेका उनले हातै जोडेर ‘उपस्थित सबैमा नमस्कार टक्र्याउँछु’ भन्दै आˆनो कुरा सुरु गरे ।

‘म धेरैबेर बोल्दिन । धेरै बोल्न पनि सक्दिन । बोल्न बोलाइहाल्नु भयो, आˆनो राख्नुपर्ने कुरा राख्छु । मेरो जन्मदिनमा सम्मानित हुने जुन सौभाग्य पाएँ यसमा मलाई सम्मान गर्नुहुने सबैप्रति आभार प्रकट गर्दछु । किनभने मेरो जीवनको अन्तिम अन्तिम घडीमा पाएको यो सम्मान ठूलो सौभाग्य हो ।’

नइ प्रकाशन र त्रिमूर्ति निकेतनले पहल गरेर सरकारबाट आफूले पाएको शताब्दी पुरुषको सम्मानले थप केही वर्ष स्वस्थ भएर बाँच्न पाएको उनले बताए । ०७१ साल मंसिरमा फोक्सो र पिसाबमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए ।

‘अहिले म विश्वस्त भएको छु । यो शताब्दी पुरुषको सम्मान नपाएको भए त्यो समय म अस्पतालमा खत्तम हुन्थें होला । त्यो समय उपप्रधानमन्त्री अस्पतालमा आएर ‘उहाँलाई साधारण बेडमा राख्ने होइन । राम्रो बेडमा लैजानुस् जे पर्छ सरकारले गर्छ’ भनेपछि मेरो राम्रो उपचार भयो र बाँचे’ उनले भने, ‘सरकारले १२ लाख तिरेर मलाई बचादिएको हो । त्यसो नभएको भए यो शताब्दी पुरुष कहाँ पुग्थ्यो कहाँ ।’

उनलाई ९५ वर्षको उमेरमा सरकारले शताब्दी पुरुषको सम्मान दिएको हो । त्यसबखत १०० वर्ष नपुगी उपाधि लिन आनाकानी गरेका जोशी अहिले त्यही उपाधिले आफूलाई हट्टा कट्टा बनाइराखेको विश्वास गर्छन् ।

शताब्दी पुरुषको सम्मान पाएर आफू बाँच्न सकेको बताए पनि उनलाई १०० वर्ष नपुगी शताब्दी पुरुषको सम्मान लिन मन थिएन । यसैले आफूले पाएको सम्मानलाई सार्थक बनाउन पनि अब एक वर्ष बाँच्नै पर्ने भएको उनी ढुक्क भएर बताउँछन् ।

‘मलाई अझै एक वर्ष कसरी बाँचौैं भएको छ । अरुले भनेर हुने होइन, शताब्दी पुरुष हुन त एक वर्ष अझै बाँच्नै पर्छ । दिन त ५ नम्बर ग्रेस दिएर ९५ हुँदै शताब्दी बनाइदिए तर अब यसकै लागि पनि एक वर्ष त बाँच्नै पर्छ’ उनले भने, ‘९९ भयो अब एक त जोड्नै छ । मेरो स्वास्थ्य के होला भन्ने चिन्ता भने लागेको छ ।’

पुरस्कार दिन पाउँदा खुशी थिए जोशी

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्बर्द्धनमा गरेको योगदानस्वरुप उनले सुप्रबल गोर्खा दक्षिणबाहु, विख्यात त्रिशक्तिपट्ट र आदिकवि भानुभक्त पुरस्कार प्राप्त गरेका छन् । काठमाडौं विश्वविद्यालयले मानार्थ विद्यावारिधीको पदक पनि दिएको छ ।

सरकारले उज्ज्वल कीर्तिमान राष्ट्रद्वीपले सम्मानित गरेको छ । उनी २०६९ सालमा पद्मश्री साधना सम्मानबाट पनि सम्मानित भए ।

यस्ता विभिन्न पुरस्कार र सम्मानबाट विभूषित भएका जोशी आज नइ प्रकाशनले २२ जनालाई दिएको ‘नइ पुरस्कार’ वितरण गर्दा निकै खुशी देखिए । सम्मान पाउँदा भन्दा सम्मान दिँदा उनमा उर्जा थपिएको थियो ।

कुर्चीमा बसेर सम्मान ग्रहण गरेका उनी सम्मान दिने बेला उठेरै माला लगाइदिइरहेका थिए । सबैको आग्रहपछि भने उनी मन नमाने जसरी बसेर नै सम्मान दिन थाले ।

‘पुरस्कार र सम्मानमा के दिइन्छ भन्ने कुरा ठूलो होइन । कति रकम राखियो भन्ने कुरा गौण हो । कसैले गरेको कामलाई सम्मान गर्दा हौसला बढ्छ र थप मेहनत गर्ने उर्जा मिल्छ’ उनले भने ।

उनले नइ प्रकाशनले साहित्यको विकास र स्रष्टाको सम्मानमा गरेको कामको पनि खुलेर प्रशंसा गरे । सम्मानित हुनेलाई भेट्न पाउँदा निकै खुशी लागेको बताउने उनले सबैको योगदानलाई ध्यान दिएर बुझे ।

‘उहाँहरु कति दुःख गरेर सम्मान लिन आउनुभयो । भित्री मनदेखि ग्रहण गर्नुभयो त्यो निकै ठूलो कुरा हो । एउटा प्रतिभालाई कदर गर्नु भनेकै नेपाली भाषा साहित्य इतिहास कला गरेको सम्मान हो’ उनले भने, ‘उहाँहरुले नेपाली भाषा साहित्यमा कस्तो कस्तो काम गर्नुभएको छ भनेर मैले बुझ्न पाएँ । नचिनेका मान्छेको योगदान थाहा पाएँ । उहाँहरुलाई चिन्न पाएँ । यो सानो कुरा होइन ।’

को कोले पाए नइ पुरस्कार ?

नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कारबाट जर्मनीका प्रा. डा. मानफ्रेद गेर्हार्द थ्रोई, नइ चन्द्रधन पुरस्कारबाट प्रा. डा. वेणीमाधव ढकाल, नइ कीर्तिनिधि पुरस्कारबाट भरत जङ्गम, नइ खरा सुकीर्ति पुरस्कारबाट डा. ध्रुवचन्द गौतम, नइ भाजप पुरस्कारबाट किरण खरेल, नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कारबाट भगवती बस्नेत सम्मानित भए ।

नलराज शास्त्रीलाई नइ भूपालदुर्गा पुरस्कार, प्रा. ठाकुर पराजुलीलाई नइ ईश्वर बराल पुरस्कार, डा. महेश्वर शर्मालाई नइ खरा प्रसिद्धि पुरस्कार, रेवती राजभण्डारीलाई नइ रेखा पुरस्कार, केके कर्माचार्यलाई नइ यउजा पुरस्कार प्रदान गरियो ।

यस्तै विश्ववल्लभलाई नइ कोेइलीदेवी पुरस्कार, कृष्णदेवी शर्मा श्रेष्ठलाई नइ बुलु शर्मा पुरस्कार, आनिक राना मगरलाई नइ रामलक्ष्मी पुरस्कार, रुपा सरोद न्यौपानेलाई नइ खरा गौरव पुरस्कार, डा. परिधि शर्मालाई नइ खरा पौरख पुरस्कारले सम्मान गरियो ।

नइ देरुनीखपु कोपिला पुरस्कारबाट रुनीष सुनुवार र सगुन श्रेष्ठ, नइ देरुनीखपु चिचिला पुरस्कारबाट स्निग्धा देवकोटा, नइ देरुनीखपू बाल पुरस्कारबाट रिहाना भट्टराई, एञ्जेलिना न्यौपाने, स्वन्ति श्रेष्ठ सम्मानित भए ।

source:onlinekhabar