धरौटी बुझाएर छुटे सुधीर बस्नेत

घरजग्गा व्यवसायी सुधीर बस्नेत चार अदालतमा धरौटी बुझाएर रिहा भएका छन्।

भक्तपुर जिल्ला अदालतले मागेको धरौटी बुझाएपछि बस्नेत आइतबार साँझ  जेलमुक्त भएको डिल्लीबजार कारागारका जेलर अरुण पोखरेलले जानकारी दिए।

धरौटी बुझाउन नसक्दा यसअघि उनी पुर्पक्षका लागि जेल परेका थिए।

उनीविरुद्ध भक्तपुरसहित जिल्ला अदालत काठमाडौं, स्याङ्जा र उच्च अदालत पाटनमा दर्जन बढी मुद्दा छन्।

'पहिला पनि उहाँ ती अदालतमा जानुहुन्थ्यो। भक्तपुरमा पनि धरौटी बुझाएपछि तारेखमा रिहा हुनुभएको हो,' पोखरेलले भने,'सफाइ पाएको होइन।'

२०७१ भदौमा  सर्वोच्च अदालतले सर्वसाधारणको पैसा लिएर फिर्ता नदिएको अभियोग लागेका ओरियन्टल सहकारीका अध्यक्ष बस्नेतलाई थुनामा पक्राउ गर्न आदेश दिएको थियो।

२०७३ पुस १३ गते प्रहरीले उनलाई धापासीस्थित घरबाट पक्राउ गरेको थियो। उनले सर्वसाधारणको १ अर्ब ६० करोड रूपैयाँ हिनामिना गरेको आरोप छ।

कोहिनूर हिल हाउजिङ एण्ड कोहिनूर बिल्डर्सका नाममा बैंकहरुबाट बस्नेतले ७० करोड रुपैयाँ लिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको २१ करोड ७१ लाख रुपैयाँ कर्जा उनले तिर्न सकेका थिएनन।

उनले प्राइम कमर्शियल बैंकबाट २० करोड ४६ लाख, कुमारी बैंकको ७ करोड ३६ लाख र सिद्धार्थ बैंकको ६ करोड १५ लाख रुपैयाँ कोहिनूर हाउजिङमा लिएका थिए। नबिल बैंकको १४ करोड ६ लाख रुपैयाँ बस्नेतले डुबाएका छन्।

ओरेन्टियल विल्डर्सको नाममा उनले एनआईसी एसिया बैंकबाट २० करोड एक लाख ३ ऋण लिएका थिए। ऋण लिने र नतिर्ने गरेपछि उनी भूमिगत जस्तै भएका थिए।

source:setopati