दूधमा सोडा: कति हानिकारक?

काठमाडौँ — यति बेला दूधमा कास्टिक सोडा र युरिया मिसाइएको विषय निक्कै चर्चामा छ । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरि भएको यो दुष्कर्मको जति आलोचना गरे पनि कम हुन्छ ।

 

हुन त दूध तथा दुग्धजन्य पदार्थमा अखाद्य पदार्थ मिसावट गरेर बिक्री वितरण गरिएको घटना नँया होइन। कहिले दूधमा कोलिफर्म भेटिएको त कहिले चिल्लो तथा घुलनसिल ठोसको न्युनतम मापदण्ड नपुगेको वा सोडा, युरियाजस्ता अखाद्य रसायन मिसाइएको घटना बाहिरिइरहेकै छन्। अहिले कृषि मन्त्री कै नेतृत्वमा भएको अनुगमनमा यस्ता कुकृत्य भेटिए पछि चर्चा चुलिएको छ। दूधजस्तो दैनिक उपभोग्य वस्तुमा अखाद्य हानिकारक रसायन भेटिनु मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड हो।
 
पशु पालनमा आएको आधुनिकिकरणसँगै दूध र दूधजन्य पदार्थको उत्पादनमा आत्मनिर्भरताको बाटोमा गइरहेको अवस्थामा भइरहेका यस्ता प्रवृत्तिले आम उपभोक्ताको दुग्ध उत्पादनप्रतिको विश्वास त गुमाउँछ नै स्वदेशी उत्पादनलाई बजार विस्थापित गरि अन्य देशको उत्पादन तथा बहुराष्ट्रिय कम्पनीहरुको प्रवेशमा सहज बनाइदिन्छ। जसको प्रत्यक्ष नकारात्मक असर अहिलेका उत्पादक, उद्योगी तथा व्यापारीहरुलाई पर्नेछ। यस्ता प्रवृत्तिलाई निरुत्साहित पार्दै बेलैमा असल स्वच्छ उत्पादन, प्रशोधन तथा वितरण प्रणालीको विकास गरि गुणस्तरीय स्वच्छ दूध खान पाउने उपभोक्ताको अधिकार संरक्षित गर्न जरुरी छ।
 
पोषणका दृष्टिले दूध
 
दूध स्तनधारी जीवको जीवनको सुरुवाति अमृत खाना हो। शुद्ध दूध पोषणका दृष्टिकोणले धेरै फाइदाकर छ। औसतमा गाई र भैंसीको दूधमा क्रमश: पानीको मात्रा ८८ र ८४ प्रतिशत, चिल्लो पदार्थको मात्रा करिव ३–४ र ६ प्रतिशत, प्रोटिनको मात्रा ३.२२ र ३.७५ प्रतिशत, कार्बोहाइडेट ४.४३ र ५.१२, खरानीको मात्रा ०.६९ र ०.७९, इनर्जीप्रति १०० ग्राम करिव ६० र ९७ किलो क्यालोरी पाइन्छ। दूध भिटामिनको पनि राम्रो श्रोत हो। दूधमा भिटामिन ए, विभिन्न बी भिटामिनहरु, भिटामिन डी, भिटामिन इ र भिटामिन के पनि पाइन्छ। तर यी सबै पोषक तत्वको मात्रा प्रजाति अनुसार फरक हुन्छ। दूधमा उपयोगी खनिज पनि पाइन्छ। दूधमा पाइने मुख्य खनिजमा क्याल्सियम, कपर, फलाम, म्याग्नेसियम, म्याग्नीज, फस्फोरस, पोटासियम, सोडियम, जिंक आदि प्रमुख हुन। दूधलाई क्याल्सियमको सबैभन्दा उत्तम श्रोत मानिन्छ। चिल्लो पदार्थमा गाइको र भैसिको दूधमा क्रमस कोलेस्टेरोल प्रति सय ग्राम करिव १० मिलिग्राम र १९ मिलिग्राम हुन्छ। दूध शरीरका लागि अत्यावश्यक प्रोटिनको राम्रो श्रोत हो। समग्रमा स्वच्छ दूध बालक देखि बृद्धसम्म सबैका लागि पोषिलो हुछ।
 
किन हालिन्छ दूधमा सोडा वा युरिया?
 
दूध जसरी मान्छेका लागि पोषकयुक्त छ त्यसरी नै जीवाणुका लागि पनि छ। दूधजस्ता पोषिला र पानीको मात्रा बढी भएका खानेकुरामा सुक्ष्म जीवाणुको संक्रमण एकदमै छिटो हुन्छ। विभिन्न खालका ब्याक्टेरियाहरुले दूधमा संक्रमण गर्न थाल्दछन् जसको परिणाम स्वरुप दूध अमिलिन्छ र फाट्छ। यसरी संक्रमण भई दूध नफाटोस् भन्नका लागि उत्पादकले कास्टिक सोडा मिसाउने गर्दछन् जुन मानव स्वास्थ्यका लागि एकदमै हानिकारक छ। दूधको असल उत्पादन, दुवानी, प्रशोधन तथा व्यवस्थापन गर्ने हो भने यो समस्या समाधान हुन्छ। तर हामीकहाँ किसानको गोठदेखि उपभोक्ताको ओठसम्म आइपुग्ने आपुर्ति चेनमा नै मुख्य समस्या छ। किसानले गाई वा भैंसी दुहुँदा गर्नु पर्ने सरसफाई नगर्ने, बाल्टी वा ग्यालिनमा बोकेर संकलन केन्द्र पुर्‍याउने, संकलकले तापक्रम व्यवस्थापन त परै जाओस् भाडाको सरसफाई समेत ध्यान नदिने र दूध प्रशोधन उद्योगसम्म ढुवानी गर्ने क्रममा पनि तापक्रम नमिलाई गर्ने अभ्यास हेर्दा दूधको स्वच्छता कायम छैन। कसैले बाइकमा, प्लास्टिकका गिलेनमा त कसैले हिल ट्यांकीमा राखेर तातो घाममा दूध ओसारेको देखिन्छ। दूध फाट्नबाट बच्न कास्टिक सोडा हाल्ने चलन किसानदेखि संकलक हुदै प्रशोधकसम्म भएको देखिन्छ।
 
अधिकांश दूधमा युरिया मिसावट भएको तथ्यांक पनि अहिले चर्चामा छ। युरिया दूधमा पानी मिसाउँदा प्रति मिलिलिटरमा हुने प्रोटिनको मात्रा नघटोस भनी झुक्याउनका लागि मिसाइन्छ। दूधमा पानी मिसाउँदा दूध पातलो हुन्छ र त्यसमा भएको प्रोटिन, चिल्लो पदार्थ अन्य ठोस पदार्थ पनि पातलिन्छ वा प्रति मिलिलिटरमा कम हुन्छ। यसरी दूधमा पानी मिसाएको थाहा नहोस भनी स्टार्च, युरिया आदि हाल्ने चलन छ। सामान्यतया खानेकुरामा भएको प्रोटिनको मात्रा पत्ता लगाउन त्यसमा भएको नाइट्रोजनको मात्रा हेर्ने गरिन्छ। जब दूधमा युरिया मिसाइन्छ, प्रोटिन पत्ता लगाउन नाइट्रोजन चेक गर्दा युरियामा भएको नाइट्रोजन पनि सँगसँगै देखिन्छ। सामान्य प्रोटिन जाँचमा नाइट्रोजन दूधको प्राकृतिक हो वा युरियाबाट आएको हो भन्न सकिंदैन। त्यसका लागि छुट्टै जाँच आवश्यक पर्दछ। युरियाको मिसावट पनि किसान देखि संकलक हुदै प्रशोधकसम्म भएको देखिन्छ।
 
कास्टिक सोडाका असरहरु
 
कास्टिक सोडा एक प्रकारको क्षर हो जसलाई सोडियम हाइड्रोक्साइड वा लाई पनि भनिन्छ। यसलाई सरसफाईका लागि प्रयोग गरिन्छ। विभिन्न धुलाई पाउडर वा साबुन बनाउन यसको प्रयोग गरिन्छ। कास्टिक सोडालाई डेरी उद्योगहरुमा सरसफाईका लागि पनि प्रयोग गरिन्छ। त्यसैले डेरी उद्योगमा सोडाका बोरा भेटियो भनेर गलफत्ती गर्नु पनि गलत हो। कहिलेकाहिँ केहि उपभोक्तावादी डेरी उदोगमा सोडा भेटियो भनेर रोइलो गर्ने गरेको देखिन्छ। यदि सरसफाईका लागि मात्र प्रयोग गरेको छ र दूधमा अवशेष मिसिएको छैन भने त्यो गलत हैन। यहाँ त दूध नफाटोस् भनेर उत्पादनस्थलदेखि नै सोडा मिसाइन्छ जुन एकदमै खतरनाक कुकृत्य हो।
 
सोडा मिसाइएको दूध पिउदा आँखा, नसाहरु, छाला आदिमा नकारात्मक असर गर्न सक्छ। सोडाले प्रोटिनलाई हाइड्रोलाइसिस गराउँछ, आँखामा असर पर्ने वा सधैंका लागि दृष्टि गुम्न पनि सक्छ। यस्तो दूधले पेट तथा आन्द्रामा घाउ गराई वा भित्री पत्र खियाएर पाचन प्रणालीमा गम्भीर असर पार्न सक्छ। नियमित जम्न सक्छ। सोडा मिसिएको दूधको उपभोग गरिरहदा ल्यारिक्स सुनिन्छ र श्वास नलिमा पानी श्वासप्रश्वासमा असर पार्नुका साथै नाक र घाँटीमा समेत नराम्रो असर पार्दछ। कास्टिक सोडाको मात्रा शरिरमा बढ्दै जादा यसले शरीरमा भएको प्रोटिन नास गर्ने र कोषहरुमा घाउ गराउने वा नष्ट गर्न सक्छ। यो रसायन पेटमा भएको अम्ल तथा हेलोजेनिक यौगिकसँग प्रतिक्रिया गरि विभिन्न हानीकारक पदार्थ बन्दछ। खाना अपच हुने, पेट दुख्ने, टाउको दुख्ने जस्ता समस्याहरु आउन सक्दछन्। कास्टिक सोडालाई अहिलेसम्म क्यान्सर गराउन सक्ने रसायन (कार्सिनोजेनिक) का रुपमा भने प्रमाणित गरिएको छैन।
 
मानव स्वास्थ्यमा गम्भिर असर पर्ने मिसावट तत्काल निरुत्साहित गर्न जरुरी छ। त्यसका लागि सरकारी नियामकहरु जिम्मेवार हुने, उत्पादन तथा व्यापारीहरुले खाद्य स्वच्छता कायम गरेर मात्र उत्पादन वा बिक्री वितरण गर्ने र आम उपभोक्ता सचेत हुनु पर्दछ।
source:ekantipur