रिमोट कन्ट्रोलले चलेको जीवन

जहाजको अन्तिम सिटमा ढोकानेर एयर होस्टेजले उनलाई पाखुरामा समाउँदै ल्याएर राखिदिइन्। विशिष्ट व्यक्तित्वहरूलाई जहाजमा यसरी नै ढोकानेर राखिदिने रहेछन्।

उनी सुस्तसुस्त पाइला चाल्दै अगाडिको सिटको अड्याउनीमा दाहिने हातले समाएर आफ्नो सिटमा गएर बसे। यसरी बसे, मानौं घचक्क बस्यो भने आफ्नो भारले सिटलाई गाह्रो हुन्छ।

सजिलो गरी बसिसकेपछि उनले दाहिने हात पाइन्टको दाहिने गोजीमा हाले र मोबाइल झिके; मोबाइलका नम्बरहरू दबाउन थाले। तीनओटा अंक दबाइसकेपछि उनी एक्कासि झस्किए। त्यसपछि उनका औंलाहरूले नम्बर थिच्न सकेनन्। उनले मोबाइल घोप्टो पारेर काखमा राखे अनि भावुक भएर जहाजको अण्डाकार सानो झ्यालबाट बाहिर हेर्न थाले। उड्नका लागि जहाजको पंखा जोडजोडले घुमिरहेको थियो। उनको मनको पंखा पनि घुमिरहेको थियो। जहाज आकाशमा उड्यो; उनको मन भावनामा उड्यो।

कतै जान जहाज चढेपछि उड्नुभन्दा पहिले सिटमा बसिकेपछि सधैं उनी आफ्नी पत्नी यशोदालाई फोन गर्थे। यशोदा यो संसारमा छैनन् भन्ने बिर्सेर उनले तीनओटा अंक थिचेका रहेछन्।

यशोदासँगको बियोग २५ दिनको आलो थियो। तर, उनी साहित्यिक यात्रामा थिए। यशोदा बितेपछि धेरै मानिस उनलाई भेट्न आए। यसै क्रममा पूर्वराष्ट्रपति रामवरण यादव उनलाई समवेदना दिन आएका थिए र भनेका थिए, ‘मेरी श्रीमती पनि क्यान्सरबाटै बितेकी थिइन्। १३ दिनसम्म त धेरै जना भेट्न आए। त्यसपछि आएनन्। घरमा बस्न एकदम गाह्रो भयो। मनमा धेरै कुरा खेल्न थाल्यो, अनि म क्लिनिकमा काम गर्न जान थालेँ र आफूलाई भुलाउन थालेँ। तपाईं पनि काममा जानुस्।’

उनले भने, ‘मैले पनि यस्तै सोचिराछु।’

उनी चौधौं दिनमै कोहलपुर विद्यार्थी भर्नासम्बन्धी कार्यक्रममा गए र पाँच जना विद्यार्थीलाई समता स्कुलमा पढ्ने गरी यशोदाको नाममा छात्रवृत्ति घोषणा गरे।

यसै सिलसिलामा उनी साहित्यिक–यात्रामा थिए। फाइनप्रिन्ट फिभरको ब्यानरमा वैशाख १५ गते सुर्खेत, १७ गते धनगढी र १८ गते कोहलपुरमा एकदिने घुम्ती साहित्य महोत्सव हुँदै थियो। उनी कार्यक्रममा मुख्य आकर्षण थिए।

कार्यक्रममा भाग लिनेहरूमा उनीलगायत लेखकहरू महेशविक्रम शाह, हरिबहादुर थापा, यज्ञश, युग पाठक, शिवानीसिंह थारू र म थियौं।

हामी सबैलाई नेतृत्व दिएका थिए फाइन प्रिन्टका सञ्चालक निरज भारीले।

जाडो गइसके पनि गर्मी आइसकेको थिएन। तर, सुर्खेत पुग्दा लाग्यो– गर्मी आइसकेको छ; धनगढी र कोहलपुरमा अझ चाँडै गर्मी आइसकेको थियो। तर, हामीलाई पंखा र एसीले भन्दा कुराले धेरै शीतल दिएको थियो। हामी धेरैजसो मदन दाइकै कुराको शीतल ताप्न झुम्मिँदै थियौं। उनका कुरा शीतला थिए, किनभने ती कुरा कुनै हाँसेमा डुबेर आएका थिए, कुनै आँसुमा।

उनको जीवन खुला किताब थियो। उनको आत्मकथाको किताब प्रकाशित भएपछि अझ खुल्ला भएको छ। जति खुल्ला भने पनि धेरै कुराहरू भने बाँकी रहिरहँदा रहेछन् जस्तो उनलाई लाग्छ। उनको छोरा यमनले भनेका थिए, ‘ड्याडीको जीवन तीन–चार सय पेज किताब को हो र ? ’

मदन दाइ (मदनकृष्ण श्रेष्ठ)लाई पर्किन्सन छ। टाउकोमा पेसमेकर राखिएको छ। उनलाई आफ्नो जीवन रिमोटले चलाइरहेझैं लाग्छ। हिँड्दाहिँड्दै उनका गोडाका फड्काहरू छोटिँदै गएर गोडा एकै ठाउँमा गुटुमुटु हुन्छन्। त्यसपछि हिँड्न, भर्‍याङ् उक्लिन पनि अप्ठेरो हुन्छ। लेख्दालेख्दै कलम एकै ठाउँमा दाइँ हाल्न थाल्छ र अक्षरहरू गुटुमुटु हुन्छन्। ठूला अक्षरहरू लेख्दै जाँदा उनका अक्षर साना हुँदै जान्छन्; एकदमै साना। त्यसपछि रिमोटमा नम्बर थिच्नुपर्छ। अक्षरहरू ठूला हुन्छन्। फड्को लामो हुन थाल्छ।

स्वास्थ्यको अवस्था यस्तो भए पनि जब उनी स्टेजमा जान्छन्, अचानक शक्ति आउँछ। हातखुट्टा कमाउँदै स्टेजमा गएका उनले दुई वर्षअघि महजात्रा देखाउँदा डनको भूमिका गरेका थिए। स्टेजभन्दा बाहिर काम्दै सुस्तरी चल्ने उनको हातखुट्टा स्टेजमा डनका झैं चलेका थिए। यो सबै शक्ति उनले दर्शकबाट पाएजस्तो लाग्छ। मायाको शक्ति देखेर उनी छक्क पर्छन्।

शोकमा खौरिएपछि भर्खर पलाउँदै गरेको छोटो कपाल, जो तीलचामले भएको छ। प्रायः हाफ बाहुले सर्टमा देखिने उनी दर्शकको अगाडि जतिखेर पनि हँसिला देखिन्छन्। उनले सुर्खेतमा होस् या धनगढी या कोहलपुरमा दर्शकसँग कहिले भावुक भएर कहिले हँसाएर आफ्ना कुरा सुनाए।

उनको जीवनमा कलम र क्यामेराको ठूलो भूमिका छ। झट्ट हेर्दा क्यामेराको भूमिका धेरै देखिए पनि कलमको भूमिका पनि त्यति नै छ। किनभने प्रत्येक प्रहसन, नाटक, फिल्म क्यामेराले लेख्नुभन्दा पहिले हातले लेख्नुपर्छ। आफूहरूले खेल्ने सबै प्रहसनहरू मह जोडी (मदनकृष्ण–हरिवंश) आफैंले लेखे।

जीवन धेरै भूमिकामा बाँधिएको हुन्छ। त्यसमा पनि उनको जीवन अझ धेरै भूमिकामा बाँधिएको छ। गीतकार, गायक, संगीतकार, लेखक, निर्देशक, अभिनेता, सामाजिक अभियन्ता...। यी त सबै सार्वजनिक भूमिका हुन्। व्यक्तिगत जीवनका भूमिका त छँदै छन्।

उनलाई सबै क्षेत्रबाट सुन्तुष्टि मिलेको छ। सन्तुष्टि पाउँदा टुक्राटुक्रामा होइन, सग्लै पाएझैं लाग्छ। उनी अभिनयमा बढी सक्रिय भए पनि कलाकारिताको यात्रा गीतबाट भयो। उनलाई गीत–संगीत गाउँको जन्मघर जस्तो लाग्छ भने अभिनय सहरको कर्मघरजस्तो लाग्छ।

यति धेरै अभिनय गर्दा उनलाई जीवनजस्तो गहिरो अभिनय लागेन। जीवनजस्तो गहिरो त संसारका कुनै नाटक, फिल्म र प्रहसन लाग्दैन। तिनले त जीवनको गहिराइलाई सम्झाउने मात्र हुन्।

साहित्यिक यात्रामा उनी बेलाबेलामा आफ्नो अनुभव सुनाउँछन्, ‘कलाकारहरूसँग यात्रा गरिरहँदा अभिनय, गीत, संगीतको कुरा धेरै हुन्छ; साहित्यिकहरूसँग हिँड्दा साहित्यिक र बौद्धिक कुरा हुन्छ। चिन्तन र विचारको कुरा धेरै हुन्छ। सांस्कृतिक कार्यक्रममा जाँदा त्यही दर्शक मनोरञ्जनको मुडमा हुन्छ भने साहित्यिक कार्यक्रममा तार्किक मुडमा हुन्छ। संगीतमा साहित्य र साहित्यमा संगीत हुनुपर्छ। नारायणगोपालका गीतहरू साहित्यिक भएका कारणले नै कालजयी भए। देवकोटाहरूका साहित्य संगीत भएकाले अमर भए। साहित्य नभएको संगीत सुक्खा हुन्छ। अचेल धेरै गीतहरूमा साहित्य कम पाउँछु।’

सुर्खेतमा साँझ भएको गजलको प्रस्तुतिले उनलाई असाध्यै छोयो। उनी हेरेको हेर्‍यै भएका थिए। म भने गजलकारहरूको गजल आएर उनको अनुहारमा कसरी ठोकिन्छ र कसरी परावर्तन भएर आउँछ भनेर हेरिरहेको थिएँ। सुर्खेत त उनलाई गजलको सहर जस्तो लाग्यो।

उनका चिन्तन र सिर्जनाहरू हेर्दा लाग्छ, संगीत र साहित्य उनको हरेक कुरामा मिसिएर आउँछ। बोलीमा होस् या व्यवहारमा। ‘दर्शकमाझ हँसाउने मदनकृष्ण’ भनेर चिनिएका उनले कोहलपुरको साहित्यिक कार्यक्रममा जीवनमा दुःख धेरै छ कि सुख भन्ने प्रश्नको जवाफ दिँदै भने, ‘जीवनमा सुखभन्दा दुःख धेरै छ; आँसु धेरै छ। त्यो आँसुमा पौडिन जानिएन भने आँसुमै डुबेर मरिन्छ। आँसुमा डुंगा चलाएर जिउनुपर्छ। आँसुले पनि आनन्द दिन्छ।’

यात्रामा उनले थुप्रै जोक र रमाइला किस्सा अभिनयात्मक शैलीमा सुनाए। जस्तै एउटा प्रसंग थियो, एक मद्रासी फिल्मको– एउटा विदूषक हुन्छ, जसलाई भिलेनहरूले शरीरमा बम बाँधिदिएर त्यो बमको तारमा सलाई कोरेर सल्काइदिन्छन्। विदूषकलाई बचाउन आउँदै गरेको हिरोलाई पनि भिलेनहरूले आउन दिँदैनन्। तार सल्किँदै जान्छ; विदूषक बमझैं पड्केर मर्ने भएँ भनेर आत्तिँदै जान्छ। तार सल्किँदै सल्किँदै खुट्टामै आइपुग्छ। अब बम पड्किन्छ भन्ने बेलामा विदूषकले आत्तिएर पिसाब फेरिदिन्छ। त्यही पिसाबले तारको आगो निभाइदिन्छ।

रमाइलो प्रसंग सँगसँगै आमा, साथी, पत्नी, सन्तान, देश र दर्शकका सम्बन्धमा गम्भीर कुराहरू पनि सुनाए।

आमा : विराटनगरबाट उडेको जहाज दुर्घटित भएपछि सबै यात्रु जलेर मरे। जहाजको सिटबाट लासहरूलाई झिक्दै जाँदा एउटा सिटमा आमा र बच्चा अँगालोमै बाँधिइरहेका रहेछन्। आमा र बच्चा दुवैको कपडा र छाला डढेको थियो। लासलाई छुट्ट्याउँदा आमा र बच्चाको बीचमा रहेको छातीको कपडा भने जलेको रहेनछ। आमाको माया भनेको आगोले पनि जलाउन नसकेको त्यही कपडाजस्तै हुन्छ।

साथी : माया भनेको सुनजस्तो हुन्छ; मित्रता भनेका हीराजस्तो हुन्छ। त्यसैले माया फुट्यो भने जोड्न सकिन्छ तर मित्रता फुट्यो भने फुट्याफुट्यै हुन्छ। तर, हाम्रो (मह) को मित्रता सुनले बेरिएको हिराजस्तै हो, जो सदाका लागि रहिरहन्छ। त्यसैले मित्रतालाई मायाले बेर्नुपर्छ।

पत्नी : आधा अंग; आधा जीवन र घरको प्राण।

सन्तान : आफ्नै अंश; प्रतिनिधि; बुढेसकालको सहारा।

देश : घर भएन भने मानिस बिचल्लीमा पर्छ। देश भनेको घरको पनि घर हो। हाम्रो देश त झन् सगरमाथाको पनि घर हो; बुद्धको पनि घर हो; सारा हिमाल, पहाड र तराईको घर हो; नेपालीको घर हो। विदेशमा बस्नु भनेको राम्रो घरमा डेरा गरेर बस्नुजस्तै हो। त्यसैले देश आमाको पनि आमा हो; बाको पनि आमा हो।

दर्शक : भगवान्।

०००

साहित्यिक कार्यक्रममा उनलाई युग पाठकको इतिहास र समाजलाई हेर्ने फरक दृष्टिकोण मज्जा लाग्यो। यज्ञशको आख्यानजस्तै लाग्ने गैरआख्यान प्रस्तुतिले प्रभाव पार्‍यो। शिवानीसिंह थारूको हाउभाउ र ‘वडी ल्याङ्वेज’ले छोयो। महेशविक्रम शाहको चिन्तनले चिमोट्यो। हरिबहादुर थापाको राजनीतिक चिरफारले हल्लायो।

अभिनयमा बढी सक्रिय भए पनि मदनकृष्ण श्रेष्ठको कलाकारिता–यात्रा गीतबाट भयो। उनलाई गीत–संगीत गाउँको जन्मघर जस्तो लाग्छ भने अभिनय सहरको कर्मघरजस्तो लाग्छ।

सुर्खेत, धनगढी र कोहलपुरको कार्यक्रम सकेर वैशाख १९ गतेको अपरान्ह हामी सबै नेपालगन्जको राँझा विमानस्थलमा काठमाडौं फर्कन जहाज कुरिरहेका थियौं। मौसम गढबढका कारण जहाज आउन केही ढिला भइरहेको थियो। मैले उनलाई सोधेँ, ‘चार दिनको साहित्यिक यात्रा गरेर घर फर्कंदै हुनुहुन्छ। यत्तिका दिन बाहिर हुनुभयो। दाइलाई घर पुग्न कत्तिको हतार लागिराछ ? ’

एकछिनसम्म उनी सोचमग्न भए अनि भावुक भएर सानो आवाजमा भने, ‘घर पुग्न केही हतार छैन। किनभने, म हतारिनलाई उनी घरमा छैनन्। उनलाई अहिले कस्तो भयो होला, औषधि खाइन् कि खाइनन् होला, खाना खाइन् कि खाइनन् होला, उनलाई अस्पताल लग्ने बेला पो भयो कि भनेर सोच्नु परेको छैन !’

०००

यात्रा दुई (जेठ २५)

समाचार आएको थियो– फेरि काठमाडौंबाट दाङ सोझै जहाज चल्ने भयो। लाग्यो, धेरै समय हामीलाई छोडेर गएको विकास फेरि फर्केर आयो। तर, कच्ची धावनमार्ग, पूर्वाधाररहित एयरपोर्ट ! त्यो त दुई दिन मात्र रहेछ। हामी काठमाडौंबाट सोझै दाङ जान पाएनौं, नेपालगन्जबाट जानुपर्ने भयो।

पहिलो यात्रामा उनले सुनाएको भावपूर्ण गीत मेरो मनोलोकमा गञ्जिरहेको थियो। मेरो मनोलोकमा त्यही गीत गुञ्जिरहेको थियो– तिमी जूनजस्तै लाग्छौ प्यारो...।

हामी फेरि अर्को साहित्यिक यात्रामा पनि सँगै भएका थियौं। दाङको तुलसीपुर उपनगरपालिकाले आयोजना गरेको साहित्यिक कार्यक्रममा जाँदै थियौं।

एयरपोर्ट पुग्दा पहिलेझैं उनी सबैभन्दा पहिले नै आइसकेका रहेछन्। सधैं अलिकति पहिला पुग्ने उनको बानी नै रहेछ। सायद उनलाई अहिले घर छोड्न गाह्रो र घर पुग्न हतारो बनाउने अर्बौं मान्छेहरूमध्ये एक मन मिल्ने मान्छे नभएर होला।

एयरपोर्टमा जहाज कुरिरहँदा पनि उनलाई एकछिन फुर्सद थिएन। उनीसँग फोटो खिच्नेको लाइन थियो। मैले त्यो दिन सम्झेँ, जुन दिन आर्यघाटमा उनी पत्नीको अन्तिम बिदाइमा रोइरहेका थिए। उनको रुवाइ र आँसु खिच्न सयौं क्यामेराले उनलाई हेरिहरेका थिए। मानिसहरूले स्टेजमा उनको प्रहसनको हाँसो मात्र खिचेनन्, आर्यघाटमा उनको जीवनको आँसु पनि खिचे। सबैको भएपछि त रुन र शोककुल हुन पनि नपाइने रहेछ। उनले यसलाई पनि दर्शकले आफूलाई गरेको माया र आफूलाई एक्लै रुन र हुन नदिएको प्रेमको रूपमा लिए।

यसअघिको यात्रामा चाँडै आएकी शिवानीसिंह थारू यसपटक सबैभन्दा ढिलो आइन्। रमेश क्षितिज, हरि रोका, विमल आचार्य, दीपक सापकोटा– हामी एक हुल लेखक उड्नका लागि जहाज चढ्यौं। जहाज चढेपछि यसपटक उनले पहिलेझैं मोबाइल झिकेनन् र यशोदाको फोन नम्बर थिचेनन्। सायद अब उनका हातहरू झुक्किँदैनन्।

अपरान्ह ४ बजे उडेको जहाज ५ बजे नेपालगन्ज पुग्यो। हामीलाई लिन दाङबाट एक जोर गाडी आए। ५ः३० बजे तिर हामी नेपालगन्जबाट कोहलपुर हुँदै महेन्द्र राजमार्गबाट दाङतिर लाग्यौं। चमेलियामा चिया र माछा खाएर हामी महेन्द्र राजमार्ग छोडेर उत्तरतिर लाग्यौं।

साँझ ८ बजे तुलसीपुर उपमहानगरपालिका पुग्यौं। तुलसीपुर बृहत् साहित्य सम्मेलनका संयोजक देवराज विश्वकर्मा र वसन्त आचार्यले स्वागत गरे। मेयर घनश्याम पाण्डेले आफ्नो कार्यकक्षमा हामीलाई स्वागत गरे। उनी कला साहित्यका प्रेमी रहेछन्। नम्र र मृदुभाषी पनि रहेछन्।

त्यहाँबाट सोझै हामी मलबार थारू गाउँतिर लाग्यौं। मलबार पुग्दा रात गाढा भइसकेको थियो। थारू नाच र थारू परिकारले हामीलाई मीठो स्वागत गर्‍यो। त्यो कार्यक्रममा सबैको आकर्षणका केन्द्र बनेका थिए– मदनकृष्ण श्रेष्ठ। सुदूरगाउँका मानिसले पनि आफ्ना फिल्महरू टेलिभिजनमा हेरेको थाहा पाएर उनी खुसी थिए। उनलाई थारू परिकार असाध्यै मीठो लाग्यो। परिकारभन्दा मीठो उनीहरूले गरेको प्रेम र सत्कार मीठो लाग्यो।

थारू परिकार, प्रेम र छ्याङले हामीलाई अनौपचारिक बनाइदिएको थियो। हामीलाई गाउँको अर्गानिक प्रेमले मुग्ध बनाएको थियो।

भोलिपल्ट कार्यक्रम थियो, तुलसीपुरको एकान्त होटेलमा। कार्यक्रमको सहजकर्ता भएकाले उनलाई मैले त्यही दार्शनिक गीत गाउन अनुरोध गरेँ, जुन गीतको रचनागर्भ नभने पनि हामी सजिलै बुझ्न सक्छौं–

तिमी जूनजस्तै लाग्छौ प्यारो

तिमी जूनजस्तै लाग्छौ शीतल

तर जून जत्तिकै टाढा, निकै टाढा, टाढा छौ तिमी

तिमी मेरो लागि खाली मृगतृष्णा, यो थाहा छ मलाई

तैपनि यो मन एकोहोरिएर खोजिरहन्छ तिमीलाई

तिमी हौ एक मीठो सपना

तिमी मीठो सपनाझैं प्यारो

तर सपना जत्तिकै टाढा, निकै टाढा, टाढा छौ तिमी

धेरै टाढाको घामको न्यानो धरतीले पाइरहेझैं

टाढैबाट तिम्रो त्यो माया पाहिरहुँ म सधैं नै

तिमी हिउँदको घामझैं न्यानो

तिमी इन्द्रधनुषझैं राम्री

तर आकाशको ताराझैं टाढा, निकै टाढा, टाढा छौ तिमी

०००

गीत गाउँदागाउँदै उनका आँखा रसाए। त्यसैले मैले प्रसंग बदलेर रमाइलो कुरामा लगेँ। जब प्रहसनको प्रसंग आयो उनले हँसाइहाले। उनी हाँस्दा उनको आँखाको आँसु ओभाएकै थिएन, आँखाको डिलबाट चेपतिर पोखियो।

उनको स्वभाव र गाम्भीर्यता देख्ता लाग्छ, हरिवंश आचार्यसँग उनको भेट नभएको भए उनी अभिनेताभन्दा गायक भएर धेरै चिनिन्थे होलान्; नारायणगोपाल जस्तै गम्भीर र क्लासिकल गायक।

उनले अर्बौं मान्छेहरूको भीडमा, खोला वारि खोला पारि जस्ता गीतहरू गाएर दर्शकलाई मन्त्रमुग्ध बनाए।

स्टेजमा गम्भीर गीत सुनाए भने हामीलाई यात्रामा केही रमाइला किस्साहरू पनि सुनाए।

किस्सा एक : पञ्चायतकालकै कुरा। वीरगन्जमा मह साँझ हुँदै थियो। मह साँझ हुने हलकै आडमा नयाँ मःमः पसल खोलेको रहेछ। पसलको नाम राखिएछ– मह मःमः। मह साँझमा यति धेरै भीड भएछ कि धेरैले टिकट नै पाएनछन्। टिकट नपाउनेहरूले मह मःमः खाएछन् र चित्त बुझाएछन्। पसलेले दुई प्लेट मःमः मह जोडीलाई छुट्टयाएर राखेको रहेछ। त्यो मःमः पनि मह साँझ हेर्न नपाउनेहरूले खाइदिएछन्।

किस्सा दुई : न्युयोर्कमा मह जोडीको कार्यक्रम हुँदै थियो। कार्यक्रमको नाम थियो– ‘आहा ! क्या रमाइलो साँझ।’ टिकट बिकिरहेको थिएन। मह जोडी न्युयोर्क पुगेको खबरले उत्तिखेरै टिकट सकिएछ। त्यसपछि त कार्यक्रमको नाम ‘आहा ! क्या रमाइलो साँझ’ भए पनि कार्यक्रमको ब्यानरमा नाम नै परिवर्तन गरेर लेखिएछ– ‘आहा ! क्या रमाइलो सोल्ड आउट साँझ।’

किस्सा तीन : एकेडेमीमा नारायणगोपालको स्वर्णीम सन्ध्या साह्रै राम्रो भएपछि मह जोडीले भनेछन्, ‘नारन दाइ, म्युजिसियनले रक्सी नखाई बजाएको एकदम राम्रो भयो। अबको कार्यक्रममा पनि नखानु भन्नुहोला।’ नारायणगोपालले ‘हुन्छ, म त्यसै भन्छु’ भनेछन्। पोखरामा अर्को कार्यक्रम हुँदा नारायण गोपालले सबै वाद्यवादकलाई बोलाएर भनेछन्, ‘ल, प्रोग्राम नसकिएसम्म कसैले रक्सीसक्सी नखाने है।’ नारायणगोपाल आफैंले भने होटेलकै कोठामा मगाएर बियर खाएछन्।

किस्सा चार : एक जापानी महिला यामामोतो मायुयी नेपाली भाषा सिकेर ‘नेपाल र भारतको सम्बन्ध’ का विषयमा थेसिस गर्न नेपाल आएकी रहिछन्। उनी मह जोडीको कार्यक्रम पनि हेर्न गइछन्। कार्यक्रम हेरेपछि यति धेरै प्रभावित भइछन् कि आफ्नो थेसिसको विषय नै परिवर्तन गरिछन्– सोसियल एन्ड पोलिटिकल लाइफ अफ नेपलिज पिपुल। र, पछि यसको किताब पनि प्रकाशित गरिन्। उनले मह जोडीको प्रहसनका क्यासेट सुनेर पाण्डुलिपि पनि तयार गरिदिइछन् र स्नेहपूर्वक भनिछन्, ‘यसलाई प्रकाशित गर्नू।’

वि.सं. २०५० सालमा ‘महसन’, सोह्र ओटा प्रहसनको संकलन साझा प्रकाशनबाट प्रकाशित भयो।

०००

अत्यन्त संवेदनशील र सिर्जनशील मदन दाइसँग दाङको कार्यक्रम सकेर काठमाडौं फर्कन फेरि जहाज कुरिरहेका थियौं। यसपटक मैले एयरपोर्टमा जहाज कुरिरहँदा पहिलेझैं सोधनँ, ‘दाइ, घर पुग्न कत्तिको हतार लागिरहेछ ? ’

अर्बौं मान्छेहरूमा उनको एक मन मिल्ने मान्छे नभए पनि अनेक मन मिल्ने मान्छेहरू छन्, जसले उनलाई अपार प्रेम र सम्मान दिइरहेका छन्। खासमा उनी रिमोट कन्ट्रोलले होइन, सारा नेपालीको माया र सम्मानको शक्तिले चलिरहेका छन्।

source:annapurnapost