सरकारी धुलोको मारमा जनता !

आधाघन्टामा सडकको उही स्थानमा हिलो र धुलो दुवैले सताउने ठाउँ काठमाडौं उपत्यकाका मूल सडकहरूबाहेक अन्यत्र बिरलै होलान् । सरकारी निकायहरूले भत्काएरका सडक अलिकति पानी पर्नेबित्तिकै निकास रोकिएर हिलो पोखरी बन्नपुग्छन् भने घाम लाग्नेबित्तिकै सडकमा बगेको हिले पानी सुकेर धुलो उँड्छ । धुलोका कारण दम र खोकी त लाग्थ्यो नै अब यहाँको प्रदूषणले छालामा समेत गम्भीर असर पार्नसक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् । अहिले नेपालका स्वास्थ्य संस्थामा बहिरंग सेवामा उपचार गराउन आउनेमध्ये २० देखि ३० प्रतिशत छालाका बिरामी हुनेगरेको जानकारी पनि चिकित्सकले दिएका छन् । खानेपानी संस्थानबाट वितरण गरिएको मात्र हैन प्रशोधित भनेर जार वा बोतलमा भरेर विक्री गरिने पानीमा समेत मानव स्वाथ्यमा गम्भीर असर गर्ने कीटाणु भेटिएको छ । अर्थात्, काठमाडौंको हावा र पानी बिखालु छन् र माटोसमेत मानव स्वास्थ्यका लागि खतरनाक हुनपुगेको छ ।

 

खानेपानी वितरण गर्ने सरकारी संस्थाले पर्याप्त स्वच्छ पानी हैन न्यूनतम मानवीय आवश्यकता पूरा गर्ने गरी पनि पानी वितरण गर्न सकेको छैन । अभाव त छँदैछ वितरण गरिएको पानी मानवीय उपभोगका लागि उपयुक्त पनि छैन । पानी सजिलै उत्पादन गर्न सकिँदैन । यसैले पर्याप्त खानेपानी वितरण गर्न नसकेकोमा सरकारलाई दोष नदिउँला । सरकारले साँच्चै नै चाहेको भए खान हुने गरी स्वच्छ बनाएर वितरण गर्न त पक्कै सक्थ्यो हो । भैगो, त्यति पनि सकेन रे ! स्वच्छ खानेपानी भन्दै बोलत र जारमा बन्द गरेर बेचिने पानीलाई हानीकारक किटाणुमुक्त त बनाउन सक्थ्यो । पानीका हकमा त सरकारले काम नगरेको मात्रै हो बिगारेकै भनिहाल्न मिल्ने देखिँदैन । तर, काठमाडौंको हावालाई सासै फेर्न नहुने गरी बिखालु बनाउन त सबैभन्दा बढी सरकारी निकायहरूनै दोषी छन् ।   

 

जनस्वास्थ्यमा गम्भीर असर पार्नेगरी प्रदूषण फैलन नदिने प्रमुख दायित्व सरकारको हो । तर, सरकार कहिल्यै जनताको पीरमर्काप्रति संवेदनशील हुनेगरेको छैन । शासन पद्धति लोकतान्त्रिक भए पनि सरकार जनताप्रति पटक्कै उत्तरदायी हुन नपर्ने यस्तो उन्मुक्ति नेपालबाहेक अन्यत्र बिरलै होला । कालोपत्रे गरिएका अधिकांश सडकमा कतै नै खनेर भत्काइएको हुन्छ । भत्काएपछि धेरैे त खाडल पनि नपुरी छाडिन्छ । खाडल पुरे पनि त्यहाँ पानी परे हिलो र घाम लाग्नेबित्तिकै धुलो भइहाल्छ । पानी पर्न र घाम लाग्न त रोक्न सकिँदैन तर त्यसको असर कम गर्न भने खासै कठिन नहुनुपर्ने हो ।

 
 

 

योजनाबद्ध सार्वजनिक निर्माणको अभ्यास नभएकाले सडक बनाउने र खन्ने निकायहरूबीच तालमेल हुँदैन । यसैले बनिसकेको सडक खन्ने काम तत्काल बन्द पनि नहोला । यस्तो अवस्थामा सडक खन्नेबित्तिकै बनाइहाल्ने गरेमा उपत्यकाको वायु मण्डलमा धुलोको प्रदूषण उल्लेख्यरूपमा कम हुनेथियो । अहिले त झन् सडकका छेउछाउमा विशेषगरी पैदल यात्रु हिँड्ने पेटीमा रुख रोप्नका लागि होला जताततै खाडल खनेर छाडिएको छ । त्यस्तो खाडल खन्नेबित्तिकै बिरुवा रोपिहाल्ने हो भने पैदल यात्रु हिलो र धुलोको मारबाट जोगिनेछन् ।
धुलोबाट हुने नाक, फोक्सो र छालाको रोगबाट पनि त्राण पाइनेछ । सडकका छेउमा खनेर धराप थाप्न र वातावरण बिखालु बनाउन सरकारी निकायले कुनै दिन छाड्लान् ?     

source:baahrakhari