तस्वीरमा राणाकालीन सभाहल

श्री ३ चन्द्रशमशेर राणाले सन् १९०७ मा निर्माण गरेको गद्दी बैठकको जीर्णोद्धारलाई वसन्तपुर दरबारको पुनर्निर्माणमा एउटा उल्लेख्य उपलब्धि मानिएको छ । १२ वैशाख २०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त वसन्तपुर दरबारभित्रको गद्दी बैठकलाई पुरानै स्वरुपमा झकिझकाउ पारिएको छ ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल यो कामले ऐतिहासिक–पुरातात्विक महत्वका दरबार र सभाहलहरूको मौलिक सबलीकरण गर्न सकिने विश्वास बढाएको बताउँछन् । ऐतिहासिक दरबार र त्यहाँका बैठकहरूलाई भविष्यका लागि समेत हुने गरी मौलिक ढाँचामा सबलीकरण गर्न सकिन्छ भन्ने गतिलो उदाहरण गद्दी बैठक भएको उनले बताए ।

बाँकी भवन र सभाहलहरूको पुनर्निर्माण पनि यही रूपमा गर्नुपर्ने उनको भनाइ छ । पुरातत्व विभागले संयोजन गरेको यो परियोजनामा सांस्कृतिक संरक्षण सम्बन्धी अमेरिकी राजदूत कोष (एएफसीपी) को रु.७ करोड ५ लाख आर्थिक र मियामोटो ग्लोबल डिजास्टर रिलिफ (जीडीआर) को प्राविधिक सहयोग रह्यो । जीडीआर ऐतिहासिक भवनहरू बनाउन सघाउने जापानस्थित अन्तर्राष्ट्रिय संस्था हो ।

मल्लकालीन हनुमानढोका दरबारमा जोडेर बनाइएको नियो–क्लासिकल शैलीको गद्दी बैठक भवनमा काठ, ढुंगा, ईंट, सुर्की लगायतका निर्माण सामग्री प्रयोग भएको छ । बैठकको साजसज्जामा युरोपेली शैली र सामग्री छन् । दशैं, इन्द्रजात्रा लगायतका अवसरमा नेपालका राष्ट्रप्रमुख र सरकारप्रमुख गद्दी बैठकमा गएर हनुमानढोका दरबारको कार्यक्रममा सहभागी हुने परम्परा छ ।

वीरशमशेरपछिका राणा शासकहरूले भव्य बैठक कक्ष सहितको नियो–क्लासिकल शैलीका ठूल्ठूला दरबार बनाएका थिए । तीमध्ये कति नासिइसके भने कति अझै साबुत छन् । संरक्षण गरिएका भवन र सभाहलमध्ये धेरैजसो निजी स्वामित्वमा छन् । सरकारी स्वामित्वमा रहेका १०० वर्षभन्दा पुराना सभाहलमध्ये सिंहदरबारको दरबार हल (स्टेट हल) र ग्यालरी बैठक प्रसिद्ध छन् ।

निजी स्वामित्वमा रहेका याक एण्ड यती होटलको लालदरबार हल, शंकर होटलको लाजिम्पाट हल र डिल्लीबजार दरबारको हल अहिले दैनिक प्रयोगमा छन् । हात्तीसार दरबार (अहिले माया मानोर होटल) को बैठक हल सुरक्षित रहे पनि प्रयोगमा छैन ।

इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार, भव्य बैठक कक्ष सहितका नियो–क्लासिकल दरबारहरू बनाउनेमा वीरशमशेर अगाडि थिए । अहिले अस्तित्वमा नभए पनि उनले बनाएका सेतोदरबारको लालबैठक र ठूलो बैठक अति भव्य थिए ।

अहिलेको अन्नपूर्ण होटल सेरोफेरोमा ३७५ रोपनी जग्गामा बनेको सेतोदरबारको भुईंतलामा लालबैठक र माथिल्लो तलामा ठूलो बैठक थिए । तिनलाई बेलायती झाड्फानस, ठूल्ठूला ऐना, फर्निचर, गलैंचा, पर्दा, मार्बलले सजाइएका थिए । २२ फुट उँचाइ र १२ फुट गोलाइका आठ वटा सेता स्फटिकका खम्बाहरूले लालबैठकलाई अद्वितीय बनाएका थिए । १९९० वैशाखमा लागेको आगोले सेतोदरबार ध्वस्त भयो ।

यस्ता धरोहरग्यालरी बैठक निर्माणको नेतृत्व वीरशमशेरको पालामा चल्तीका इन्जिनियर जोगलाल स्थापित (भाजुमान) ले गरेका थिए । त्यस्तै चन्द्रशमशेरको पालामा कुमारनरसिंह राणा, किशोरनरसिंह राणा लगायत विदेशमा पढेका आर्किटेक्टहरू सक्रिय रहेको सांस्कृतिक इतिहासका जानकार सत्यमोहन जोशी बताउँछन् ।

ग्यालरी बैठक
चन्द्रशमशेरले सिंहदरबारसँगै ग्यालरी बैठक पनि बनाएका थिए । प्रा. मुकुन्द अर्यालका अनुसार, भित्ताहरू ऐनाले सजाइएकाले यसलाई पहिले ‘ऐना घर’ भनिन्थ्यो । चन्द्रशमशेरले विदेशी पाहुना आउँदा मेहफिल जमाउन र अरू बेला आफैं नाटक–नृत्य हेर्न र गीत–संगीत सुन्न सो भवन बनाउन लगाएका थिए ।

तस्वीर: ‘दी रानाज् अफ नेपाल‘ पुस्तकबाट

सिंहदरबारको बैठक हल जस्तै गरी सजाइएको ग्यालरी बैककको भुईंमा सयौं चितुवाको छालालाई १३ लाइनमा ओछ्याएर कार्पेट बनाइएको दी रानाज् अफ नेपाल नामक पुस्तकमा सचित्र उल्लेख छ । २००४ सालमा ‘नेपालको वैधानिक कानून’ बनेपछि ग्यालरी बैठकमा भारदारी सभा र २००७ सालपछि सल्लाहकार सभा यही ‘ऐनाको घर’ मा बस्न थालेको प्रा. अर्याल बताउँछन् । २०४८ सालपछि संसद भवनको रूपमा प्रयोगमा आएको ग्यालरी बैठक भवनलाई २०७२ को भूकम्पपछि ताला मारेर राखिएको छ ।

सीतामहल बैठक
भीमशमशेरले आफ्नी बडामहारानी (सीतामाया तामाङ) का लागि सन् १९३१ मा सीतामहल बनाएका थिए । नक्सालस्थित सीतामहलको बीच तलामा रहेको भव्य बैठक हल अहिले लथालिङ्ग छ । नेपाल बाल मन्दिर र ललितकला प्रज्ञा प्रतिष्ठान रहेको सीतामहल २०७२ वैशाखको भूकम्पपछि प्रयोगमा छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका उपनिर्देशक राजु न्यौपानेका अनुसार सीतामहल, केशरमहल, बबरमहल, बालुवाटारस्थित नेपाल राष्ट्र ब्यांकको मुख्य भवन, राष्ट्र ब्यांकको कार्यालय रहेको थापाथली दरबार, श्रीमहल (पुल्चोक) जस्ता १०० वर्षभन्दा पुराना दरबारहरूको सबलीकरण योजना बनिरहेको छ । तिनमा रहेका बैठकहरूलाई पुरानै ढाँचामा सजाइने उनले बताए ।

लाजिम्पाट बैठक
३१ भदौ १९०३ को राति भएको कोतपर्वमा काजी वीरकेशर पाँडे मारिएपछि उनको लाजिम्पाट दरबार कर्णेल त्रिविक्रमसिंह थापा हुँदै वीरशमशेरको स्वामित्वमा गयो । भव्य दरबारहरूका सौखिन उनले १९४२ सालमा भाइ जीतशमशेरका लागि यसको पुनर्निर्माण गराए ।

पछि जुद्धशमशेरका नाति केन्द्रशमशेरको स्वामित्वमा आएको यो दरबार २०२१ सालमा रामशंकर श्रेष्ठले किने, जहाँ अहिले शंकर होटल छ । होटलमा २५० जनाभन्दा बढी पाहुना अटाउने लाजिम्पाट हल छ, जसमा पहिलेको आकर्षण कायम छ ।

दरबार बैठक
चन्द्रशमशेरले वि.सं. १९६० मा सिंहदरबार निर्माण गर्दा विशिष्ट पाहुनाहरुलाई स्वागत गर्न भव्य बैठक कक्ष पनि बनाए । शुरुमा दरबार बैठक र पछि ‘स्टेट हल’ पनि भनिएको यो बैठकलाई बेलायती मार्बल, फर्निचर, कार्पेट, बेल्जियमको सिसा, मुरानो स्याण्डिलियर (झाड्फानस), फ्रान्सको क्रिस्टल क्लकले सजाइएको छ । भित्ताहरूमा युरोपका राजप्रासादको जस्तै शैलीमा सिंगारिएको छ ।

तस्वीर: ‘दी रानाज् अफ नेपाल‘ पुस्तकबाट

२०३० असारमा आगलागी हुँदा सिंहदरबारको पश्चिम खण्डमा रहेकोले दरबार बैठक जोगियो । २०७२ को महाभूकम्पपछि सिंहदरबारसँगै यो बैठकलाई पनि ‘सिल’ गरेर राखिएको छ । दरबार बैठकमा खातिरदारी पाउने पछिल्ला विदेशी पाहुना चिनियाँ प्रधानमन्त्री वेन च्यापाओ थिए । ३० पुस २०६८ मा दरबार बैठकमा आयोजित दिवाभोजमा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले चिनियाँ समकक्षीसँग ‘टोष्ट’ गरेका थिए ।

लालदरबार बैठक
वि.सं. १९४२ मा वीरशमशेरले बनाएको लालदरबारको एउटा भागमा अहिले याक एण्ड यती होटल रहेको छ । २७० कोठा भएको यस होटलको मुख्य आकर्षण लालदरबार बैठक (हल) हो । यसमा थुप्रै परिवर्तन गरिए पनि पहिलेको स्वरुप कायम गरिएको छ ।

 source:himalkhabar