सुस्तायो मेलम्ची आयोजना

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाको काम फेरि सुस्ताएको छ । निर्माण कम्पनी सीएमसीले सरकारसँग करिब १ अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेपछि काम सुस्ताएको हो । सरकारले क्षतिपूर्ति नदिएको भन्दै कम्पनीले काम ठप्प पारेको छ ।

 

दुई महिनाअघि २६ किमि सुरुङ खन्ने काम सकिए पनि सुरुङको आरसीसी ढलान सकिएको छैन । ‘२६ मध्ये जम्मा ५ किलोमिटर सुरुङमा आरसीसी ढलान भएको छ, पूरै सुरुङमा नटबोल्ट हाल्ने र भेन्ट सफ्ट कार्य पनि भएको छैन,’ खानेपानी मन्त्रालयका उच्च अधिकारीले भने ।

मेलम्ची स्रोतका अनुसार निर्माण कम्पनीले भूकम्प र नाकाबन्दीलगायत विभिन्न समयमा काम बन्द भएको भन्दै त्यसको क्षतिपूर्ति मागेको हो । ‘काम निकै सुस्त भएको छ, अब त वर्षा लाग्यो, काम गर्न गाह्रो छ,’ स्रोतले भन्यो ।

मेलम्ची आयोजनाले भने ठेकेदारले मागेजति क्षतिपूर्ति दिन नसकिने जनाएको छ । ७० प्रतिशत काम सकिए पनि ३० प्रतिशत काम अझै बाँकी रहेको आयोजनाका एक अधिकारीले बताए । टनेल अडिट मार्ग तथा इचोक, थकनी र शिवपुरीमा भेन्टिलेटर, सुरुङभित्र प्लास्टर र ओपन कट इन्टेक निर्माण कार्य हुन सकेको छैन । ड्राइभर्सन टनेल, अस्थायी बाँध (कभर बाँध) निर्माण, स्थायी बाँध र इन्टेक संरचनासमेत निर्माण हुने सकेको छैन ।

अस्थायी बाँध निर्माण गरेर भए पनि दसैंअघि सुन्दरीजलमा पानी ल्याउने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । साथै अम्बानथान हेड वर्कक्स जोड्ने पक्की पुल पनि निर्माण हुने सकेको छैन । खानेपानी तथा सरसफाइ मन्त्रालयले ठेकेदार कम्पनीलाई जसरी भए पनि दसैंअघि सुन्दरीजलमा पानी ल्याउनैपर्ने दबाब दिँदै आएको ती अधिकारी बताए ।

‘ठेकेदारले हुन्छ भन्छ, काम गर्दैन, तीव्र रूपमा काम गरे सुन्दरीजलमा पानी पुर्‍याउन खास समस्या छैन,’ ती अधिकारीले भने, ‘तर, हुन्छ भन्छ पछि काम गर्दैन, इमान्दार नै छैन, बहाना मात्र निकाल्छ ।’ पछिल्लोपटक खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले इटालीबाट सीएमसीका प्रतिनिधि र एसियाली बैंकका प्रतिनिधि छलफल गरेर असोज जसरी पानी पुर्‍याउन निर्देशन दिएको छ । ‘मन्त्रीज्यूले कडा निर्देशन दिनुभएको छ, काम गरे धेरै गाह्रो छैन, गर्छौं भनेर प्रतिबद्धता जनाएको छ,’ मन्त्रालयका सहसचिव अनिलभद्र खनालले भने, ‘सानासाना काम हुन्, चार महिनाभित्र सकिन्छ ।’

क्षतिपूर्ति दिने/नदिने विवाद समाधान समितिलाई निर्णय गर्ने अधिकार भएको उनले बताए । ‘एक महिनाभित्र समितिले प्रतिवेदन बुझाउँछ होला, त्यसपछि मात्र भन्न सकिन्छ,’ उनले भने, ‘त्यसअघि क्षतिपूतिबारे केही भन्न सक्दैनौं ।’ बहुप्रतीक्षित मेलम्ची खानेपानी अयोजनाम हालसम्म ३२ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा २०५८ मा उक्त आयोजना सुरु भएको हो । यसरी २०६५ भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भनिए पनि समय सीमाभित्र काम सम्पन्न नहुँदा आयोजनाको लागत ३५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।

source:ekantipur