विकासको असारे संस्कृति

रेक वर्ष असार आउँछ र देशका सडकमा विकासका अनेक भलबाढी ल्याउँछ । कति सरकार फेरिए, कर्मचारीका कति पुस्ता गले, कति नयाँ–नयाँ ठेकेदार आए, प्रविधि कति बदलिए र कति–कति नीति बने तर यो विकास प्रक्रिया बदलिएन ।

जब कुनै काम एउटा लामो समयसम्म अनुसरण गरिरहिन्छ, पुस्ता दरपुस्ता उस्तै शैली दोहोरिन्छ अनि त्यसले संस्कारको रूप लिन्छ ।

संस्कारलाई जब उत्सवमय बनाइन्छ अनि त्यो स्वीकार्य मूल्य बन्छ । अब भने यसो गर्न कसैले सम्झाउनुपर्दैन । स्वतः अनुसरण गरिन्छ । नेपालको असारे विकास त्यस्तै भएको छ ।

असारे विकासका दुईवटा चित्र हुन्छन् । नेपालको मौसम सामान्यतया सधैँ उस्तै रूपमा दोहोरिन्छ । असोजदेखि वैशाख, जेठसम्म कम पानी पर्छ ।

कात्तिकदेखि चैतसम्मको याम त सुख्खायाम नै मानिन्छ । असारदेखि भदौसम्म बढी वर्षा हुन्छ । यसैले परम्परादेखि नै घर बनाउने काम या निर्माणका काम असोजदेखि वैशाखसम्ममा सक्ने गरिन्छ । तर, यता सरकारको काम गर्ने शैली भने फरक छ ।

पहिले त सरकारको बजेट पास हुन ढिलो भयो भन्दै हिउँद लागेपछि ठेक्का प्रक्रिया आरम्भ गर्ने र कामचाहिँ मध्य असारमा हतारहतारमा गर्ने चलन थियो । अहिले असारमै बजेट पास गर्ने नियमित अभ्यास आरम्भ भएको छ ।

साउनमै नयाँ ठेक्कापट्टाको काम आरम्भ हुन सक्छ । असोजदेखि निर्माणको काम थालनी गर्न कुनै रोकावट छैन । तर, अहिले पनि असार अन्तिम सातातिर धमाधम सडक खन्ने, सम्याउने, पिच गर्ने, टालटुल गर्ने, ढल खन्ने र बनाउने काम भइरहेको देखिन्छ ।

यसो गर्दा हतारमा र दर्के झरीमा काम हुन्छ । दर्के झरी हुँदा गरिएको पिच जम्न पाउँदैन, एकै छिनपछि या एक–दुई दिनपछि भत्किन थाल्छ ।

तर, कमसल पिच भएका सडकको प्राविधिक जाँच पास पनि हुन्छ, ठेकेदारले भुक्तानी पाउँछ, प्राविधिक कर्मचारी र प्रशासकले मिलिभगतमा हिस्सेदारी पाउँदा हुन् । अनि अर्को वर्ष त्यही बाटो फेरि मर्मत गरिन्छ र मर्मतका लागि असार नै कुरिन्छ ।

यो सरासर राज्यको ढुकुटीमाथि निरन्तर हमला गरिरहने, मुठ्याउने र दुई हातले खाने खञ्चुवा प्रवृत्ति पञ्चायतकालमा जस्तै पछिल्ला सबै रंगका सरकारको समयमा निरन्तर जारी छ ।

यतिवेला पनि सिंहदरबारभित्रको सडक, पेटी या अरू निर्माण कार्य हतारहतारमा गरिँदै छ । बजेट सक्नु छ, रित्याउनु छ, काम कमसल गरेर अर्को वर्ष पनि यही कामका लागि बजेट मागेर सक्नु छ ।

खन्दै पुर्दै, पुर्दै खन्दै एउटै पोखरीबाट हरेक वर्ष बजेट पचाउने र बजेटसँग लाज पनि पचाउने यो परम्पराले संस्कृतिकै रूप लिएपछि हामी कहिले अघि बढ्न सकौँला ?

अहिलेका टेक्नोक्र्याट अर्थमन्त्री युवराज खतिवडा यस्तो काम आफ्नै अगाडि भइरहँदा कसरी हेरिरहेका छन् ? के उनले अर्को वर्ष यस्तो प्रवृत्तिको नियोजन गर्न कुनै कदम चाल्ने सोच बनाएका छन् ?

source:nayapatrikadaily