लाहुरमा हराएको पहिचान

करिव दुई सय बर्षअघि देखि लाहुर जान थालेका नेपाली जनजाति युवाहरु अझै पनि छाति नाप्न लालयित छन् । मुलुकले संघीयता र समावेशी संरचना अंगालिसकेको बेलामा पनि जनजाति युवाहरु लाहुरमै आफ्नो पहिचान खोजिरहेका छन् “लाहुरे” नेपाली समाजमा प्रचलित शव्द हो। लाहुरे शब्द नेपाली समाज भित्र पनि विशेष गरेर जनजाति समुदायमा लोकप्रिय छ। लाहुरे शव्दको उत्पति कुनै समय पाकिस्तानको “लाहोर” भन्ने शहरमा काम गर्न जाने नेपालीहरुलाई लाहुरे भन्ने प्रचलनबाट सुरु भएको मानिन्छ। नेपालीहरुको विगत दुई सय वर्षदेखिको लाहुर जाने परम्परा अहिले पनि कायमै छ। मात्र यसको स्वरुपमा परिवर्तन आएको छ। 

नेपाल–अंग्रेज युद्ध विसं (१८७१–७२) पछि सो युद्ध लडेका कतिपय नेपाली सेना पञ्जाबका राजा रणजित सिंहको सेनामा भर्ना हुन लाहोर पुगे। त्यस पछि मात्र नेपाली समाजमा लाहुरे शव्दले व्यापकता पाएको थियो। हाल पाकिस्तानमा पर्ने लाहोरतिर नभई ब्रिटिस गोर्खा र भारतीय गोर्खा सेनामा भर्ना हुन जानुलाई अहिले पनि लहुर जानु नै भनिन्छ। खास सेनामा जागिर खाने मानिसहरुलाई लाहुरे भन्ने प्रचलन रहेको छ।
देशमा एक पछि अर्को गर्दै परिवर्तनका लहरहरु चले, तर लाहुरे समुदायमा आजसम्म पनि परिर्वतनको लहरले कति पनि छोएन। लाहुरे यतिबेला पुर्खेयौली पेशा र वंशानुगत गुण जस्तै बनिसकेको छ। जनजाति समुदायका मानिसहरु लाहुरे पेशा सहजै परिवर्तन र छाड्ने मनाशयमा पनि छैनन्। कस्तो विडम्बना देशमा गणतन्त्रको स्थापना पश्चात समावेशी, समानुपातिक र पहिचानको कुरा निकै सुनिए तर मुलधारमा राज्यले जसलाई ल्याउन चाहेको हो तीनै मानिसहरु लाहुरे बन्ने नाममा मुलधारमा आउन चाहेनन्।
 
यति बेला उनीहरुको पहिचान लाहुरमा एउटा खुकुरी र बन्दुकमा हराइरहेका छन्। लाहुरको खुकुरी र बन्दुकमा पहिचान खोज्नेहरुले राज्य सञ्चालनका अंगहरुमा पहिचान खोज्ने समय आएन र? विश्वमा खुकुरी चलाएर आफ्नो पहिचान बनाउनेहरुले आफ्नै देशमा पहिचान खोज्न अझै कति समय लाग्ला? पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्धमा खुकुरीमार्फत विश्वमा आफ्नो पहिचान बनाएका लाहुरेहरुले आफ्नै देश र माटोमा पहिचान खोज्न ढिला भएन र? पुर्खाहरुको समयमा देशमा रोजगारी र अवसरहरु कमै थिए। मानिसहरु उतिबेलाको समयमा चाहेर पनि लेख पढ गर्न पाउदैन थे। त्यतिबेलाका पुस्ताहरुलाई लाहुर जान बाध्यता र अवसर दुबै थियो। तर आजसम्म पनि तिनै पेशालाई निरन्तरता दिनु पर्ने कुनै खास कारण छ र? यसले एउटा जब्बर प्रश्न खडा गरेको छ लाहुरे पेशाले हामीलाई छाड्न सकेन कि हामीले लाहुरे पेशा?
 
विश्वमा बहादुर जातिहरु शासक हुन्छन्, जुन प्रकृतिको नियम हो। तर हाम्रो बहादुरीता कौडिको भाउमा बिक्री भइरहेको छ। जनजाति समुदाय भित्र विशेष गरेर (गुरुङ, मगर, राई र लिम्बू) समुदायहरुमा अझैसम्म पनि लाहुरे संस्कृतिले बेस्सरी घर गरेको छ। ति समुदायका कतिपय मानिसहरु आजसम्म पनि आफ्नो सन्ततिहरुले बहादुरिता बेचेको हेर्न चाहन्छन्। यदी कथम् कथाचित आफ्नो सन्ततिहरुले बहादुरिता निर्यात गर्न सकेन भने दु:ख मन गर्न र जीवनदेखि नै हरेस खाने प्रचलन रहेको छ। २१ औं शताव्दीमा पनि एउटै पेशामा रहिरनु पर्ने बाध्यता सिर्जन गर्न कारक तत्वहरुको उपचार खोज्ने समय आएको छ। यतिबेला लाहुरे बने मात्रै जीवन सफल भइन्छ भन्ने सोच र विचारलाई फाल्ने सहि समय आएको छ। किनभने देशमा गणतन्त्र र सङ्घीयताको स्थापनाका साथै कार्यन्वयन भइसकेको छ।
 
यति बेला राज्यले हरेक जात–जातिलाई चौतर्फी विरोधको बाबजुत पनि मूलधारमा समेट्ने प्रयास गरिरहेको छ। समावेशी या आरक्षण प्रणालीमार्फत राज्यले हरेक समुदायका मानिसहरुलाई राज्यको हरेक अंगहरुमा पहिचानसहितको उपस्थितिको चाहना गरेको छ। तर जनजाति युवाहरु भने ति चिजहरुलाई लत्याउदै आफ्नो कलिलो उमेर छाति र तिघ्र नाप्ने स्थानमा आफ्नो पहिचान खोजिरहेको छ। युवा पुस्ताहरुले पनि पुर्खाहरुकै पाराले लाहुर भित्रको खुकुरी र बन्दुकमा पहिचान चाहिरहेका छन्। उनीहरुको विद्यालय तहको शिक्षा पार गरेपछिको पहिलो रोजाई नै भर्ति केन्द्र बन्छन्। कस्तो बिडम्बना जति युवाहरु छाति र तिघ्रा नाप्न भर्ति केन्द्रहरुमा लाइन लाग्छन् त्यतिको मात्रामा लोक सेवा जस्तो देशको गरिमा बोकेको निष्पक्ष संस्थाको परीक्षाको फर्म भर्नलाई समेत लाइन बसेको देखिंदैन। यसले एउटा प्रश्न उत्पन्न गरेको छ पहिचान र अधिकार जनजातिहरुलाई चाहिएको हो कि राज्यलाई? त्यस्तै लाहुरे समुदायका महिलाहरु भित्र पनि त्यस्तै सोच र भावनाको विकाश भएको पाइन्छ। जीवनमा केहि बन्न नसकेपनि लाहुरेनी बन्ने सोच राखेको हुन्छन्। त्यसको अर्थ हो लाहुरेसंगको जीवन सहज हुन्छन् भन्ने परजीवि र अल्छि मानसिकता। आधा संसार ओग्ट्ने लाहुरेनीहरुले पनि यस विषयमा सोच्ने समय आएको छ। अनी बाहिर बसेर भन्ने गर्छन् यो देशमा हाम्रो कुनै पहिचान र अस्तित्व नै छैन। यस विषयमा पहिचानको राजनीति गर्नेहरुले पनि सोच्ने बेला आएको छ। पहिचान लोक सेवाको लाइनमा खोज्न लगाउने कि छाति र तिघ्रा नाप्ने स्थानमा? 
 
जबसम्म हामी जनजातिहरुमा बन्दुक र खुकुरी भन्दा कलमको पहिचान बलियो हुन्छ भन्ने भावनाको विकास हुँदैन तवसम्म राज्यले प्रदान गरेको आरक्षण र समावेशी कोटाको कुनै अस्तित्व हुँदैन। अर्कोतर्फ लाहुरे पेशा अरवको महलहरुमा चौकिदार बस्नु भन्दा अलि स्तरीय र भरपर्दो पेशा भने पक्कै हो। तर दिर्घकालिन भने अवश्य हैन। पछिल्लो समय ब्रिटिस सरकारले नेपाली गोर्खाहरुलाई त्यहाँका सेना सरह सुविधाहरु उपलव्ध नगराउनु यसको ज्वलन्त उदाहरण हो। आखिर विकशित मुलुकहरु नै हुन् नियम, कानुन परिवर्तन हुन कत्ति पनि समय लाग्दैन। छिन भरमै जादु झै गरेर परिवर्तन भयो भने के गर्ने? त्यति बेला विदेशमा बसेर गाँसको लागि लड्ने कि देशमा फर्केर पहिचानको लागि? अनि त्यति बेला विदेशको गाँस त गुम्ने छ भने स्वदेशको पहिचान समेत गुमाइसकेको हुने छ। त्यसैले छाति र तिघ्र नाप्न हिड्ने युवाहरुले यस बारे ठण्डा दिमाग्ले सोच्ने समय आएको छ। त्यस्तै यसबारेमा त्यो भन्दा बढी पहिचानको राजनीति गर्न पल्केका पहिचानवादी नेताहरुले साच्नु पर्ने बेला आएको छ।
 
अर्कोतर्फ बेलायतले लाहुरेलाई धन दिएन तलब दियो। धन दिएको भए खोईत यो देशमा कति जना लाहुरेहरु उद्योगपति बने? बेलायतले लाहुरेहरुको दिमाग बनाइ दिएन मसल बनाइदिए। लाहुरेहरुलाई पहिचान दिएन तेस्रो दर्जाको अस्थाई परिचय पत्र दिए। त्यसैले अब लाहुरेहरुले वास्तविक पहिचान आफ्नै देशमा खोज्ने समय आएको छ। लाहुरको बन्दुक र खुकुरीमा पहिचान पुर्खाहरुले बनाइसकेका छन्। त्यसैले आफ्नो राज्यको अङ्गहरु भित्र पहिचान खोज्ने उपयुक्त समय आएको छ। यो उपयुक्त समयको सदुपयोग गर्नु बाहेक अन्य विकल्पहरु हामीसँग छैन। त्यसैले अब लाहुरको तेस्रो दर्जाको नागरिक बन्नुभन्दा स्वदेशको पहिलो दर्जाको नागरिक बन्नुमा गर्व गर्ने कि? यो लेख कान्तिपुर बाट साभार गरियको हो