राहतको १८ करोड फिर्ता

मोरङ — जिल्लामा बाढीपीडितको राहतका लागि आएको बजेट जनप्रतिनिधिले वितरण नगर्दा १८ करोड २४ लाख ५० हजार बजेट फिर्ता भएको छ । जिल्लाका १७ स्थानीय तहमध्ये विराटनगर महानगर र कटहरी गाउँपालिाकाको बाढीपीडितका लागि आएको सबै बजेट फिर्ता गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

मिक्लाजुङ र धनपालथान गाउँपालिकाले भने राहत रकम निकासका लागि माग नै नगरेकाले फिर्ता गएको प्रशासनले जनाएको छ । सबभन्दा बढी बाढीपीडित भएको विराटनगर महानगरपालिकाले १ जनालाई पनि सरकारी राहत वितरण गर्न सकेन । महानगरका ५ हजार ४ सय ३६ पीडित परिवारका लागि आएको १३ करोड ७९ लाख रुपैयाँ फिर्ता गएको छ ।

विराटनगर १२ का बाढीपीडित रामदेव ऋषिदेवले महानगरले गरिव दलितका लागि कुनै सुविधा नदिएको बताए । महानगर उपप्रमुख इन्दिरा कार्कीले महानगरका सबै वास्तविक बाढीपीडितका लागि बजेट नआएकाले वितरणमा कठिनाइ भएको दाबी गरिन् ।कटहरी गाउँपालिकाको पनि सबै राहत रकम फिर्ता गएको छ । १ हजार ५ सय १७ परिवारका लागि आएको ३ करोड ७९ लाख २५ हजार रुपैयाँ फिर्ता भएको हो ।

कटहरीका अध्यक्ष रामकुमार कामतले राहत वितरणमा अनेक झमेला आउनु र विकास निर्माण समयमै सक्नुपर्ने चापले राहत रकम फिर्ता भएको बताए । ग्रामथान गाउँपालिकाको १३ लाख, केराबारीको १ लाख ५० हजार, जहदाको १८ लाख २५ हजार, कानेपोखरीको १ लाख २५ हजार, बढीगंगाको ५१ लाख फिर्ता भएको छ । यस्तै, रतुवामाईको ५ लाख, उर्लाबारीको ७५ हजार, बेलबारीको १ लाख ५० हजार फिर्ता गएको प्रशासनका लेखा अधिकृत तनुजा पोखरेलले बताइन् । ‘कटहरी गाउँपालिका, सुन्दरहरैंचा र सुनवर्षी नगरपालिकाले राहत वितरण गरेको कागजात हालसम्म पठाएका छैनन्,’ उनले भनिन् । तीनवटै तहले साउन मसान्तभित्र राहत वितरण गरेको कागजात नबुझाए निकासा भएको सबै रकम उनीहरूकै नाममा बेरुजु हुने उनको भनाइ छ । ती तहमा ४ करोड ४५ लाख ७५ हजार पीडितलाई राहत वितरणका लागि निकासा गरिएको थियो । 

रंगेली, बेलबारी, लेटाङ र पथरीशनिश्चरे नगरपालिकाले मात्रै शतप्रतिशत राहत रकम वितरण गरेको प्रशासनले जनाएको छ । रंगेलीमा २ करोड ५७ लाख ५० हजार, पथरीशनिश्चरेमा १ लाख, लेटाङमा १ लाख र बेलबारीमा ६ लाख २५ हजार रुपैयाँ राहत रकम आएको थियो ।सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले गत वर्ष साउन २९ गते आएको बाढीले पूर्ण रूपमा घर क्षति भएका १७ वटै स्थानीय तहका १२ हजार ९३ परिवारका लागि ३० करोड २३ लाख २५ हजार रुपैयाँ गृह मन्त्रालयले पठाएको बताए । जिल्लामा आएको राहत रकममध्ये ७ हजार २ सय ९८ परिवारको १८ करोड २४ लाख ५० हजार फिर्ता गएको जनाए ।

source:kantipurdaily