भारतका वाचा अपूरै

जनकपुर — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको क्रममा जनकपुरका लागि विशेष प्याकेज घोषणा गर्ने तयारीमा छन् । अयोध्या सर्किट वा कृषिसँग जोडिएको कुनै एक योजना घोषणाको तयारीमा रहेको भारतले यसअघि गरेका वाचा सबै अपूरै छन् ।

विक्रमसंवत २०७३ साल साउन ११ गते जनकपुर भ्रमणमा आउँदा भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले धार्मिक नगरी जनकपुरमा दुईवटा धर्मशाला र परिक्रमा सडक निर्माण गर्ने घोषणा गरेका थिए । मुखर्जीले जनकपुर भ्रमण गरेको झन्डै दुई वर्ष बित्दा पनि उनले घोषणा गरेको दुवै योजनाको काम वाचामै सीमित छ । भारत सरकारले झन्डै आधादर्जन योजनाको वाचा गरे पनि अधिकांशको काम अगाडि बढ्न सकेको छैन । भारतले वाचा गरेकामध्ये जयनगर–जनकपुर र बर्दिवास रेलवे मार्गको काम निर्माणाधीन छ । 

जनकपुरमा दुईवटा आधुनिक धर्मशालाको निर्माण र परिक्रमा सडकलाई कालोपत्रे गर्ने तत्कालीन भारतीय राष्ट्रपति मुखर्जीको घोषणा कार्यान्वयन हुन सकेको छैन । नेपालस्थित भारतीय दूतावासले धनुषाका विभिन्न स्थानमा ६ वटा सामुदायिक विद्यालय भवन निर्माण गर्ने वाचा गरे पनि काम अगाडि बढ्न सकेको छैन । विद्यालय भवनको जग हालिए पनि त्यस अगाडिको निर्माण वर्षौंदेखि ठप्प छ । भारतीय दूतावासको सहयोगमा नगराइनको लगमास्थित राष्ट्रिय प्राथमिक विद्यालयको ७ कोठाको भवन निर्माण ६ वर्ष बित्दा पनि पूरा भएको छैन । १५ महिनामै निर्माण सक्ने समय तोकिएको विद्यालय भवन अझै अपूरै छ । धनुषाकै राष्ट्रिय प्राथमिक विद्यालय जटहीको ७ कोठाको भवनको समेत जग मात्रै हालिएको छ । ०६८ भदौ २ गतेबाट धनुषाका ६ वटा विद्यालय भवनका लागि भारतीय सहयोगमा निर्माण थालिएको थियो । नगराइन, जटही, राघोपुर, घोडघाँस, गंगुली, खर्गाका ६ विद्यालय भवनको निर्माण भारतीय सहयोगमा थालिए पनि अलपत्र छ । 

विद्यालयका ६ भवन निर्माणका लागि भारतीय दूतावासले २ करोड ९० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।भारतीय सहयोगमा निर्माण थालिएका विद्यालय भवन समयमै नबन्दा ०७३ असार ३ गतेसम्म निर्माणअवधि थपिएको थियो । तर, अझै पनि विद्यालय भवन जगमा मात्रै सीमित छ । भारतीय दूतावासको वीरगन्जस्थित वाणिज्य दूतावासले विद्यालयको स्थलगत निरीक्षणसमेत गरेको थियो ।२०६८ साल भदौ २ गते नेपालका लागि भारतीय राजदूत राकेश सूदले धनुषामा निर्माण गरिने ६ वटा विद्यालय भवन निर्माणको शिलान्यास गरेका थिए ।राम–सीताको स्वयंवर भएको भनिएको जनकपुरको रंगभूमि मैदानको सौन्दर्यीकरणका लागि भारत सरकारले दिएको रकममा अनियमितता भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । जनकपुरको रंगभूमि मैदान, धार्मिक महत्त्व बोकेको गंगा सागर र धनुष सागरका लागि भारत सरकारको ५ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । वैशाख २८ गते भारतबाट सीधै जनकपुर भ्रमणमा आउने भारतीय प्रधानमन्त्री मोदीलाई नागरिक अभिनन्दन यही रंगभूमि मैदानमा हुनेछ ।

बृहत्तर जनकपुर विकास क्षेत्र समितिमार्फत काम गरिएको भनिए पनि रंगभूमि मैदान जीर्ण र फोहर नै छ । मोदीको नागरिक अभिनन्दनका लागि यस मैदानलाई व्यवस्थित बनाउन प्रदेश सरकारले ६० लाख रुपैयाँमा मर्मतसम्भार र रंगरोगन गरिरहेको छ । मैदानको उत्तरी र दक्षिणी कुनामा बनाइएको सार्वजनिक शौचालयको भवनमा बल्ल ढोका र पानीको व्यवस्था मिलाइएको छ । मोदी भ्रमणका बेला शौचालयलाई प्रयोगमा ल्याउन प्रदेश सरकारले ढोका र पानीको व्यवस्था मिलाएको हो । रंगभूमि मैदान, गंगासागर र धनुषसागरको सौन्दर्य वृद्धिका लागि दुई भागमा सक्ने योजना बनाउँदै २०६७/६८ मै टेन्डर गरिएको थियो । योजनाको ८० प्रतिशतभन्दा बढी रकम खर्च भइसके पनि यी तीनवटै स्थलको सौन्दर्य झल्किएको छैन । अख्तियारले सौन्दर्यीकरणका नाममा रकम अनियमितताको आशंका गर्दै अनुसन्धान गरिरहेको छ । धनुषा, महोत्तरी र सर्लाहीको हुलाकी राजमार्गको ६ वटा सडकखण्ड निर्माण गरिदिने वाचा गर्दै भारत सरकारले २०६८ सालमा भारत, हैदराबादको भिष्वा जेभी आरले निर्माणको ठेक्का पाए पनि काम अगाडि बढ्न सकेन ।

२ अर्ब ५० करोड रुपैयाँको हुलाकी राजमार्गको योजनाको ठेक्का लिएका भारतीय निर्माण कम्पनी काम अलपत्र छोडेर हिँडेका थिए । अहिले, नेपाल सरकारकै लगानीमा हुलाकी राजमार्ग निर्माणाधीन छ ।‘भारतीय योजना धेरै घोषणा हुने तर कार्यान्वयन गर्ने पाटो कमजोर छ,’ प्राध्यापक डा.सुरेन्द्र लाभले भने, ‘भारतीय योजनामा ढिलासुस्ती हुने, समयममा योजना पूरा नहुने समस्या छ । यसमा दुवै देशका अधिकारी गम्भीर हुनुपर्छ ।’ प्राध्यापक लाभले भारतीय योजना पूरा नहुनुमा दुवै देश जिम्मेवार रहेको बताए ।

पूरा नभएका योजना

जनकपुर रेलवे

दुईवटा धर्मशाला

परिक्रमा सडक

६ वटा विद्यालय

रंगभूमि मैदान, गंगा र

धनुष सागर सौन्दर्यकरण

हुलाकी राजमार्ग

source:kantipur