देउवा–प्रचण्ड सम्बन्ध : मर्ने–मार्नेदेखि सत्ता सहयोगीसम्म

नेपाली राजनीतिमा तत्काल निर्णय लिन सक्ने नेताका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चिनिन्छ । त्यस्तै निर्णय गर्न सक्ने क्षमताले अहिले दुई नेतालाई एकठाउँमा उभ्याएको छ । माओवादी जनयुद्धको सुरुवात देउवा प्रधानमन्त्री हुँदा भएको थियो, जसको नेतृत्व प्रचण्डले गरेका थिए । २१ वर्षे यो समयावधिमा देउवा–प्रचण्डबीचको सम्बन्धमा निकै उतार–चढाव आएको देखिन्छ ।

स्वभावजन्य पृष्ठभूमि
कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै आँटिला नेतामा पर्छन् । नेपाली राजनीतिमा कुनै पनि निर्णय तत्काल लिन सक्ने नेताका रूपमा दुवैलाई चिनिन्छ । पछि पर्न सक्ने प्रभावका विषयमा कुनै लेखाजोखा नगरी निर्णय लिन दुवै खप्पिस छन् । जोखिम मोलेरै भए पनि आफूलाई लागेको कुरामा ‘बोल्ड डिसिजन’ लिन सक्ने नेताका रूपमा चिन्छन्, दुवै पार्टीका नेताहरू देउवा–प्रचण्डलाई ।

प्रचण्ड आफूलाई लागेको विषयमा प्रस्ट खुलेर कुरा गर्न रुचाउँछन्, तर देउवा अलिक ‘रिजर्भ’ बस्न रुचाउने नेता हुन् । सञ्चारकर्मीहरूसँग प्रस्तुत हुँदा देउवा आफू त्यत्ति नजानेजस्तो गरी अरूका कुरा बढी सुन्न र जान्न रुचाउँछन् । तर, प्रचण्ड भने आफ्ना कुरा बढी जानकारी दिन चाहन्छन् । सुरुमा काम गर्ने, तर त्यसको नतिजा पछि नराम्रो आए त्यही वेला पछुताउने खालको शैलीमा दुवैमा समानता देखिन्छ ।

‘पोजिसन’ फेर्ने स्वभाव
यी दुई नेताको विगत कटुता र शत्रुतापूर्ण भए पनि राजनीतिक सम्बन्ध र यिनीहरूले राख्ने र विचार भने केही हदसम्म मिल्छन् । ‘प्रचण्डमा कुरा राखेर बुझाउन खोज्दा चाँडै कन्भिन्स हुने स्वभाव छ । कहिलेकाहीँ पोजिसन फेर्ने स्वभाव छ, तर अप्ठ्यारो र रिजिड होइन,’ कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महत भन्छन्, ‘तर, धेरै अप्ठ्यारो नेता होइन । अरूका कुरामा चित्त बुझ्दा आफ्नो कुरा हुनैपर्छ भन्ने पनि छैन । देउवाजी पनि मिलाएर जाऊँ, मैले जे भनेँ त्यही हुनुपर्छ नभनी अडानबाट फेरिने नेता हुनुहुन्छ ।’

dp

देउवा–प्रचण्ड पहिलो भेट 
२०४८ सालको आमनिर्वाचनताका देउवासँग पहिलो भेट भएको प्रचण्ड बताउँछन् । ‘२०४८ सालको निर्वाचनका क्रममा संसद् उपयोग गर्ने हाम्रो नीति थियो । त्यही क्रममा देउवासँग भेट भएको हो,’ प्रचण्डले नयाँ पत्रिकासित भने, ‘त्यसवेलादेखि नै उहाँसँग कुनै न कुनै रूपमा प्रत्यक्ष, कहिले परोक्ष रूपमा छलफल हुँदै आएको छ ।’

देउवासँग द्वन्द्वकालमै पनि टेलिफोन संवाद हुने गरेको प्रचण्डले खुलासा गरे । ‘देउवाजीसँग अलि बढी शान्ति प्रक्रियामा आउने सन्दर्भमा कुरा हुन्थ्यो,’ उनले भने, ‘म दाङमा थिएँ, उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो, दाङबाट उहाँसँग मैले त्यतिवेला फोनमा कुरा गरेको थिएँ । शान्ति प्रक्रियाको वातावरण बनाउने क्रममा उहाँसँग दाङ जिल्लाबाट फोनमा कुराकानी गरियो, त्यो नै उहाँसँगको सम्बन्धमा आइसब्रेक थियो ।’

आफूसँग कुराकानी भएपछि नै देउवाले वार्ताका लागि उभ्याएको प्रचण्ड बताउँछन् । ‘मसँग कुरा भएपछि देउवाले शान्ति प्रक्रियाको वार्ताको पक्षमा आफूलाई उभ्याउनुभयो । मसँग कुरा गरेपछि उहाँले नेपालको एउटा बहादुर नेता प्रचण्ड हो भनेर बाहिर बोल्नु पनि भयो । त्यो सकारात्मक भनाइ बाहिर दिनुभयो र शान्ति सम्झौता गर्नुपर्छ भनेर वातावरण पनि बनाउनुभयो ।’

शान्ति वार्ताको सुरुवात भएपछि माओवादीले संविधानसभाको निर्वाचनलाई सर्त बनाएको थियो । तर, देउवाले नमानेपछि पहिलो वार्ता सफल हुन नसकेको प्रचण्ड स्मरण गर्छन् । त्यतिवेलादेखि देउवासँग राजनीतिक रूपले परिणाममुखी संवाद हुन थालेको उनले सुनाए ।

युद्धकालमा देउवा–प्रचण्डबीच भेट भएन
माओवादीले चलाएको युद्धकालमा देउवा–प्रचण्डका बीचमा भेट भएन । माओवादी नेताहरूले त्यसवेला पनि एमालेका शीर्ष नेता, अन्य वामपन्थी पार्टीका नेताहरू र कांग्रेसकै पनि कतिपय नेताहरूसँग भेटघाट र छलफल गरे पनि देउवासँग भने त्यस्तो भेटघाट हुन पाएको थिएन ।

त्यसो त देउवाले माओवादी नेताहरूको सबैभन्दा माथिल्लो नेतालाई भेटेको भनेको कृष्णबहादुर महरालाई नै हो । २०५८ सालमा सरकार–माओवादीबीच चलेको पहिलो वार्तामा प्रचण्डले महराको नेतृत्वको वार्ता टोली बनाएर पठाएका थिए । देउवासँग माओवादीको उच्चस्तरीय नेतृत्वले भेटेको त्यो नै पहिलो हो । त्यहीवेलादेखि माओवादी नेतृत्वले देउवासँग आवश्यकताका आधारमा क्रमशः सम्बन्ध र भेटघाट स्थापित गर्दै लगेको हो ।

‘सम्बन्ध राजनीतिक उद्देश्यका कारण हुन्छ, व्यक्तिगत सम्बन्ध पनि हुन्छन्,’ महराले भने, ‘राजनीतिक सम्बन्ध भइराख्ने भन्ने हुँदैन, राजनीतिक उतारचढावसँगै सम्बन्धमा पनि उतारचढाव भइराख्छ ।’

देउवानिकट कांग्रेस नेता डा. महत पनि यी दुई नेताबीच दोस्रो जनआन्दोलनपछि पहिलो भेट भएको बताउँछन् । ‘माओवादीले ०५२ सालमा प्रधानमन्त्री देउवासमक्ष ४० बुँदे मागपत्र बुझाउँदा डा.बाबुराम भट्टराईले भेटेकाले त्यसअघि ०४८ सालतिरै देउवा र प्रचण्डबीच भेट भएको होला,’ उनले भने ।

parchanda

डिनरका लागि देउवानिवास पुगिरहन्छन् प्रचण्ड 
शान्ति प्रक्रियामा आएपछि भने देउवा–प्रचण्ड सम्बन्ध अलिक बढी बाक्लिन थालेको हो । खासखास अप्ठ्यारा समयमा दुई नेताहरूबीचमा बढी नै भेटघाट हुने गर्दथ्यो । कांग्रेस सभापति गिरिजाप्रसादको निधनपछि देउवा–प्रचण्ड भेट थप बाक्लिएको थियो । ‘शान्ति प्रक्रियामा आइसकेपछि उहाँसँग अलिक बढी नजिकबाट छलफल हुन थाल्यो,’ प्रचण्ड भन्छन्, ‘पछिल्लो चरणको कुरा गर्ने हो भने उहाँसँग मेरो राजनीतिक विषयको छलफल मात्र नभएर पारिवारिक सम्बन्ध पनि बढ्दै गएको छ । मेरो र उहाँको परिवारबीच आपसमा भेटघाट गर्ने, सँगै खाना खाने क्रम बढ्न थाल्यो ।’

पारिवारिक भेटघाटले पनि देउवासँग खुलेर कुराकानी गर्ने वातावरण बनेको प्रचण्ड बताउँछन् । ‘परिवारका सदस्यसँगको भेटघाटपछि उहासँग खुलेर कुराकानी गर्न सकिने, उहाँले हामीसँग कुराकानी गर्न सक्ने वातावरण बन्यो,’ देउवासँगको सम्बन्ध प्रस्ट्याउँदै प्रचण्ड भन्छन्, ‘त्यो कुराले पनि अहिले समझदारी बनाउन मद्दत पुगेजस्तो मलाई लाग्छ ।’

गिरिजाप्रसादको निधनपछि कांग्रेस सभापति सुशील कोइराला भए पनि देउवा पार्टीभित्र प्रभावशाली थिए । कतिपय विषय देउवासँगको सहमतिमा मात्र टुंग्याउन सहज हुने हुँदा प्रचण्ड उनीसँगको परामर्शलाई पनि उत्तिकै महत्व दिन्थे । देउवाले पनि प्रचण्डलाई वेलावेलामा आफ्नै निवासमा डिनरका लागि आमन्त्रण गरिरहन्थे । यी दुई नेताका बीचमा पछिल्ला केही वर्षयता पारिवारिक सम्बन्ध पनि स्थापित हुँदै जान थालेको माओवादी नेताहरू बताउँछन् । देउवाले खासखास सन्दर्भमा प्रचण्डको सपरिवारलाई बूढानीलकण्ठस्थित निवासमा बोलाएर डिनर खुवाउँथे । प्रचण्डकहाँ भने देउवा एकपटक मात्र खाना खान पुगेका छन् । बिहानको समयमा यी दुई नेताहरूबीच भेटघाट हुँदा चियाकफीमा मन भुलाउँछन् । तर, साँझको समयमा डिनर सँगै बसेर खान्छन् ।

लामो हुँदैन भेटघाट
दुई नेताहरूबीच राजनीतिक विषयमा खासै लामो समयसम्म कुरा हुँदैन । बिहान–दिउँसोको समयमा भेटघाट हुँदा बढीमा १५–२० मिनेटमै छलफलका विषय टुंगिन्छन् । तर, डिनरसहितको भेटघाट भए भने राजनीतिक सँगसँगै अन्य पारिवारिक कुराकानी पनि हुने गरेको बताइन्छ । देउवा सीधा कुरा गर्न रुचाउने भएका कारण छलफलका विषयमा सोही ढंगले कुराकानी गर्छन् । तर, प्रचण्ड अलि भूमिकासहित प्रस्ट पार्न खोज्छन् । कांग्रेस नेता डा. महत दुवै नेतामा राजनीतिलाई अड्काउन नहुने सोचाइ रहेको बताउँछन् । सीधा रूपमा विषय प्रवेश गरेर जटिलतालाई फुकाउन सक्ने नेताको रूपमा उनी देउवा र प्रचण्डलाई अथ्र्याउँछन् ।

सम्बन्धमा नयाँ मोड
संविधान निर्माणका वेला प्रमुख तीन दल कांग्रेस, माओवादी र एमाले एक ठाउँमा उभिएका थिए । तर, त्यो उभ्याइ साथसाथ रहन सकेन । कांग्रेस प्रतिपक्षमा बस्न पुग्यो भने एमाले माओवादीले मिलेर सरकार गठन गरे । एमाले माओवादी सरकार गठनका क्रममा तित्तता पनि जन्मँदै गयो । यसैक्रममा गत वैशाख तेस्रो साता कांग्रेस–माओवादीबीच सरकारका विषयलाई लिएर सम्बन्ध नयाँ मोडमा पुग्न थाल्यो ।

माओवादी अध्यक्ष प्रचण्डलाई कांग्रेसले सरकारमा साथ दिने आश्वासन दियो । दुई पार्टीबीच औपचारिक–अनौपचारिक छलफल पनि उत्तिकै भए । तर, त्यसवेला त्यो प्रयासले सार्थकता दिन सकेन । त्यसले दुई नेताबीच विश्वासको संकट देखिन थाल्यो । अहिले फेरि ओली नेतृत्वको सरकार ढाल्ने क्रममा देउवा–प्रचण्ड एकै ठाउँमा उभिएका छन् । दुवै मिलेर ओली नेतृत्वको सरकारविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता भएको छ ।

पहिलेका शत्रु, अहिलेका मित्र
मुलुकमा माओवादी संघर्ष सुरु हुँदा देउवा नै प्रधानमन्त्री थिए, उत्कर्षमा पुग्दा पनि उनै प्रधानमन्त्री भए । माओवादीका शीर्ष नेतको टाउकोको मोल पनि तोके । तर, २०६२–६३ को जनआन्दोलनपछि अवस्था फेरियो । दुई–दुईवटा संविधानसभा चुनावमध्ये कांग्रेस पहिलोमा दोस्रो भयो, दोस्रो चुनावमा पहिलो भयो । माओवादीले पहिलो चुनावमा पहिलो हुने अवसर प्राप्त ग-यो । दोस्रो चुनावमा तेस्रो भयो । यी दुवै दल संविधान बनाउन क्रियाशील भए । कतिपय मुद्दामा यिनीहरूबीच टसल पनि भयो । देउवा अखण्ड सुदूरपश्चिको मागमा रहे । तर, माओवादी पश्चिमका थारूलाई पनि अधिकार दिनुपर्ने पक्षमा उभियो ।

फेरि सन्दर्भ र अवस्था फेरिँंदै यी दुवै दल र दुवै नेता सत्ता सहयोगीसमेत बन्दै छन् । यस्तो वेला पहिलेका मर्ने र मार्ने खेलको अध्याय अब सकिएको बताउँछन्, कांग्रेस केन्द्रीय सदस्य कँडेल । ‘द्वन्द्वकालमा माओवादी आफ्नो क्रियाकलापमा थियो, हामी शान्ति स्थापनामा लागेका थियौँ, राजनीतिमा कोही स्थायी शत्रु र कोही स्थायी मित्र हुँदैन भनेजस्तै अहिले फेरि कांग्रेस–माओवादी सत्ता सहयोगीसम्म हुनु परिवर्तनका लागि हो,’ कँडेल भन्छन्, ‘दुवैलाई सत्तामा आउन एक अर्को नभई भएको छैन । एक–अर्कालाई सिध्याउने होडबाजी थियो । तर, यी शक्ति एक ठाउँमा आएका छन् ।’

deuba

०५२ देखि ०६२ सालका घटना बिर्साउन नजिकिंँदै देउवा र प्रचण्ड
एक राजनीतिक विश्लेषक देउवा र प्रचण्डबीचको विकसित सम्बन्ध र घटनालाई २०५२ देखि २०६२ सम्ममा घटनाक्रम बिर्सने प्रयत्नमा रहेको रूपमा व्याख्या गर्छन् । ‘५२ सालदेखि ६२ सालसम्म राजनीतिक, आपराधिक जे घटना भए, यी घटनाक्रम बिर्सने प्रयत्नमा दुई नेता देखिन्छन्,’ ती राजनीतिक विश्लेषक भन्छन्, ‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन भन्ने छ । प्राज्ञिक, बौद्धिक र कानुनी रूपले ५२ देखि ६२ सम्मको विषय उठ्लान्, तर अब राजनीतिक रूपमा उठाउनुका कुनै अर्थ छैन भन्ने सन्देश देउवा र प्रचण्डले दिन खोजेका छन् ।’ प्रधानमन्त्री केपी ओलीको ‘चर्को राष्ट्रवाद’, तीनवटै चुनाव आफैँ गर्छु भन्ने दम्भले पनि देउवा र प्रचण्डलाई एकठाउँमा ल्याउने काम गरेको ती विश्लेषकको टिप्पणी छ ।

देउवाले प्रचण्डको टाउकाको मूल्य तोके माओवादीले देउवालाई झन्डै एम्बुसमा पारे
२०५८ मंसिरमा सरकार–माओवादी वार्ता भंग भएपछि सबैभन्दा तीतो सम्बन्ध देउवा प्रचण्डबीच नै रह्यो । देउवाले देशमा संकटकाल लगाए । माओवादीलाई आतंककारी घोषणा गर्दै नियन्त्रणका लागि आतंककारी तथा विध्वंशात्मक अपराध नियन्त्रण तथा सजाय अध्यादेश) मात्र ल्याएनन्, २०५९ वैशाखमा माओवादी नेताहरूको टाउकाको मूल्यसमेत तोकिदिए । त्यसपछि इन्टरपोलले रेड कर्नर नोटिससमेत जारी ग-यो ।

प्रचण्डसहित वरिष्ठ नेताको ५० लाख, पोलिटब्युरो सदस्हयहरूको ३५ लाख र केन्द्रीय सदस्य तथा अन्य प्रभावशाली नेताहरूको २५ लाख मूल्य तोकियो । गृहमन्त्री थिए खुमबहादुर खड्का । देउवा सरकारका गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले ‘जसले मारेर ल्याए पनि हुन्छ । त्यही झोलाभरि पैसा लिएर जानुस्’ भनेर सरकारको निर्णय सार्वजनिक गरे । माओवादी नेताको टाउको ल्याएकै झोलामा पैसा पनि लिएर जाने गरी तत्कालीन सरकारले घोषणा गरेपछि माओवादी देउवाविरुद्ध झन् आक्रामक हुन पुगेको थियो ।

देउवालाई एम्बुस
सत्तामा छँदा देखाएको व्यववहारकै कारण माओवादीले उनी सरकारबाट बाहिरिएपछि पनि रिसइवी साँधिरह्यो । कैलालीमा माओवादीले देउवाको गाडीमा एम्बुस राख्यो, तर देउवालाई केही भएन । उनी बालबाल बच्न पुगे । डोटीबाट फर्किंदै गर्दा देउवाको गाडीलाई लक्षित गरी एम्बुस थापिएको थियो ।

देउवाका गृहराज्यमन्त्रीलाई गोली
टाउकाको मोल तोेकेको घोषणा गर्ने तत्कालीन गृहराज्यमन्त्री कँडेललाई समेत माओवादीले निसाना बनायो । ललितपुर कुसुन्तीमा १२ भदौ २०६० मा माओवादीका सात कार्यकर्ताले कँडेलमाथि गोली प्रहार गरेका थिए । ६ वटा गोली लागेर पनि उनी बाँच्न सफल भए । ‘चित्रलेखा यादवको सानेपाको घरबाट फर्किंंदै थिएँ, कुसुन्ती पञ्चेश्वर मन्दिरछेउमा सातजनाको जत्थाले आक्रमण ग-यो । दुई हतियारधारीले गाडीमा फाइरिङ गरे,’ कहालीलाग्दो सो घटनाबारे कँडेल भन्छन्, ‘१७ राउन्ड गोली प्रहार भएकोमा ६ वटा गोली ढाड, पाखुरा, काखीमा लागेर पनि बाँच्न सकेँ । अहिले पनि काखीमा एउटा गोली बोकेर हिँडेको छु ।’

deuba and parchanda

किस्सा–किस्सामा जोडिएका देउवा–माओवादी ७ परिघटना
. ०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको कम्युनिस्ट सरकार ढलेपछि २०५२ देखि ०५४ सालसम्म कांग्रेसबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए । देउवा सरकारकै पालामा आपूmले बुझाएको ४० बुँदे मागको सुनुवाइ नभएको भन्दै माओवादीले सशस्त्र क्रान्तिको घोषणा गरेको थियो ।

 माओवादीले जनयुद्ध सुरु गर्दा सत्ताको बागडोर सम्हाल्दै थिए, देउवा । २०५२ सालमा राप्रपा र सद्भावना पार्टीलाई साथमा लिएर बनेको सरकारका प्रधानमन्त्री देउवा र गृहमन्त्री थिए, खुमबहादुर खड्का । त्यही वेला माओवादीको वैधानिक मोर्चा ‘संयुक्त जनमोर्चा’ले २१ माघ २०५२ मा राष्ट्रियता, जनतन्त्र र जनजीविकास“ग सम्बन्धित रहेर ४० सूत्रीय माग बुझाएको थियो । मागपत्र बोकेर डा. भट्टराई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका थिए । तर, देउवाले माओवादीको त्यो मागलाई खासै चासो दिएनन्, त्यसपछि माओवादीले १ फागुनबाट जनयुद्ध घोषणा ग-यो ।

. देउवापछि लोकेन्द्रबहादर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई हुँदै पुनः गिरिजाप्रसाद प्रधानमन्त्री बनेपछि २०५८ सालमा देउवा प्रधानमन्त्री बने । माओवादी युद्ध सुरु भएपछि आधा दर्जन प्रधानमन्त्री फेरिएको यो ६ वर्षमा माओवादी सशस्त्र संघर्ष उत्कर्षमा पुग्यो । ४० बुँदे माग सम्बोधन नभएपछि माओवादी ६ वर्षमा देशभर फैलिसकेको थियो । आधा दर्जन सरकार ढल्ने र बन्ने यही समयमा माओवादी संघर्ष सबैभन्दा उचाइमा पुग्यो । फेरि माओवादी सशस्त्र द्वन्द्वको सामना गर्न उनै देउवा सत्तामा पुगेका थिए ।

. देउवासँगको माओवादीको प्रसंग यतिमा मात्र सीमित छैन, वार्ताको पहल पनि उनकै कारण भएको थियो । २०५६ सालको मध्यतिर प्रधानमन्त्री थिए, कांग्रेसका सन्तनेता कृष्णप्रसाद भट्टराई । उनले देउवाकै नेतृत्वमा ‘माओवादी समस्या समाधान उच्चस्तरीय सुझाब समिति’ गठन गरे । त्यसपछि देउवाले नै माओवादीसँग विभिन्न सूत्रमार्फत सम्पर्क-सम्बन्ध स्थापित गर्ने प्रयास थाले । उनले दुर्गा सुवेदीमार्फत माओवादीसँग सम्पर्क स्थापित गर्ने प्रयास गरे । त्यो सम्बन्ध केही कामयावी हुन पुग्यो । देउवाको आह्वानपछि प्रचण्डले १ फागुन २०५६ मा जनयुद्धको पाँचौँ वर्ष प्रवेशको वक्तव्यमै सरकारले वार्ताका लागि उपयुक्त वातावरण बनाएमा वार्तामा बस्न तयार रहेको सन्देश दिए । २७ फागुनमा देउवाले माओवादी नेतृत्वलाई पत्र लेखे, प्रचण्डले १ चैतमा देउवाको पत्रको प्रत्युत्तर लेख्दै छलफलका लागि आफ्ना प्रतिनिधि भनेर दिनानाथ शर्मालाई खटाए । प्रचण्ड देउवाका बीचमा युद्धकालमै यसरी पत्र सम्बन्ध स्थापित भए पनि प्रत्यक्ष भेटघाट भने हुन पाएको थिएन । चैतमा भट्टराई नेतृत्वको सरकार ढल्यो । भट्टराई–देउवाले माओवादीसँग थालेको वार्ताको प्रसंग पनि ओझेलमा पर्न गयो । माओवादीले त्यसवेला देउवासँग नरम नीति अवलम्बन गरेको माओवादी नेताहरू बताउँछन् ।

. देउवाकै पालामा माओवादीले सुरु गरेको जनयुद्ध उनकै पहलमा पहिलोपटक भएको वार्ता प्रयासले देउवा पुनः प्रधानमनत्री भएकै वेला औपचारिकता पायो । २०५८ साउनमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीबाट हटेपछि देउवा प्रधानमन्त्रीका रूपमा चुनिए । ४ साउनमा प्रधानमन्त्री निर्वाचित भएपछि शपथग्रहण नै नभईकन देउवाले माओवादीलाई वार्ताका लागि आह्वान गरे । ८ साउनमा माओवादीले युद्धविराम ग-यो । तत्कालीन विद्रोही माओवादीबाट कृष्णबहादुर महरा र सत्तापक्षबाट चिरञ्जीवी वाग्लेको नेतृत्वमा वार्ताटोली बन्यो । सरकार माओवादीबीच पहिलो वार्ता हुन पुग्यो । वार्ता चल्दै गर्दा सरकारले सेनालाई रुसबाट दुईवटा हेलिकोेप्टर किन्न अनुमति दियो । साथै बेल्जियमबाट पनि हातहतियार किनेर भित्राउने काम ग-यो ।

. देउवाले प्रधानमन्त्री हुँदा बेल्जियमबाट हातहतियार किन्ने र माओवादी सिध्याउनेसम्मका योजना बनाएको माओवादी नेताहरू त्यसवेलाको घटना स्मरण गर्दै सुनाउँछन् । ‘यो राजनीति हो, सधैँ एकनाशले बग्दैन, राजनीतिमा दुस्मन मित्र र मित्र दुस्मन भइरहन्छन्,’ महरा भन्छन्, ‘राजनीतिमा सम्बन्ध निरन्तर राम्रो भइराख्छ भन्ने हुँदैन, तर देउवासँगको सम्बन्ध त्यति धेरै असमझदारी छैन ।’ देउवाकै पालामा माओवादीले युद्धविराम भंग ग¥यो । माओवादीले दाङ, स्याङ्जालगायतका ठाउँमा सेना, प्रहरीलगायत सरकारी कार्यालयमाथि धावा बोल्यो । ११ मंसिरमा सरकारले संकटकाल घोषणा गर्दै सेना परिचालनको निर्णय ग¥यो । त्यसवेला देउवा प्रचण्ड एक अर्कामा देखभेट नभए पनि सम्बन्ध भने तिक्ततापूर्ण रहन पुगेको थियो ।

. दोस्रो वार्ताका क्रममा माओवादीले कांग्रेसभित्रको अन्तरविरोधमा राम्रोसँग खेल्न खोजेको थियो । माओवादीले त्यसवेला सत्ता गिरिजाप्रसाद हुँदा देउवासँग हिमचिम वढाउन खोज्थ्यो भने देउवा सत्तामा छँदा गिरिजाप्रसादसँग हिमचिम बढाउँथ्यो । ‘त्यसो गर्दा कांग्रेसभित्रको अन्तरविरोधमा खेल्ने र आफ्नो पार्टीको राजनीतिक मिसनलाई अगाडि बढाउन सजिलो हुन्थ्यो, हामी त्यस्तै गर्दथ्यौँ,’ माओवादीका एक शीर्ष नेताले भने ।

. देउवासँगको अर्काे किस्सा पनि छ, माओवादीसँग । देउवाले एमाले–सद्भावनाको सहयोगमा सरकार बनाए । उच्चस्तरीय शान्ति समिति गठन गरी असोजमा देउवाले पुनः माओवादीलाई वार्तामा बस्न आह्वान गरे । उनले पुस महिनाभरिको म्याद तोकेर वार्ता आह्वान गरेका थिए । तर, प्रचण्डले त्यसवेला देउवाको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिए । तत्कालीन अवस्थामा राजाले चालेको १८ असोजको परिघटनाबाट देशलाई पुनः अघिल्लो अवस्थामा पु-याउन सक्ने आधारको खोजी गर्दै प्रश्न तेस्र्याए । देउवाले माओवादीसँग वार्ता गर्न नसकेपछि तत्कालीन राजा ज्ञानेन्द्रले देउवालाई अपदस्थ गरे । त्यसपछि भने देउवाको माओवादी नेतृत्वसँगको सम्पर्क सम्बन्ध ‘क्राइसिस’मा पुग्यो । एकैपटक २०६३ सालमा बालुवाटारमा प्रचण्ड सार्वजनिक भएको दिनमा मात्र आएर फेरि स्थापित हुन थाल्यो ।

  रामकृष्ण अधिकारी/रमेश सापकोटा