२० लाख सहयोग गर्ने हेल्प नेपाल फाउण्डेशनको घोषणा

२० लाख सहयोग गर्ने हेल्प नेपाल फाउण्डेशनको घोषणा

बेलायतको हेल्प नेपाल फाउण्डेशनले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि २० लाख रुपैँया सहयोग गर्ने घोषणा गरेको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि स्थापना भएको सो फाउण्डेशनले भूकम्प प्रभावितका लागि संकलन गरेको २० लाख रुपैँया धुर्मुस सुन्तली फाउण्डेशनलाई सहयोग गर्ने घोषणा गरेको हो । भूकम्प पिडितलाई राहात र पुनर्निर्माणमा सघाउ पुर्याउने उद्देश्यले संकलन गरिएको रकम धुर्मुस सुन्तलीमार्फत पिडित सम्म पुर्याउन चाहेको हेल्प नेपाल फाउण्डेशनले जनाएको छ ।

प्रधानमन्त्री विपद् उद्धार कोषमा जम्मा भएको पैसा पिडित समक्ष कहिले पुग्ने हो पत्तो नभएका कारण पनि धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गिरान्चौर एकिकृत बस्ती निर्माणमा उक्त रकमको आवश्यकता देखिएकाले यो निर्णय गरिएको फाउण्डेशनद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । घोषणा गरिएको उक्त सहयोग जतिसक्दो छिटो नेपाल पठाइने हेल्प नेपाल फाउण्डेशनका कोषाध्यक्ष नारायण बहादुर सापकोटाले जानकारी दिएका छन् ।

ब्लु अर्किट रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा हेल्प नेपालका अध्यक्ष शर्माले भने ‘भूकम्प पीडितलाई सहयोग गर्नका लागि उपयुक्त प्रोजेक्टको खोजीमा थियौं, धुर्मुस सन्तुलीले सञ्चालन गरेको सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत वस्ती निर्माणलाई हेल्प नेपालले उपयुक्त ठहर ग-यो । र, त्यही परियोजनालाई सहयोग गर्ने निर्णय गरेको हो ।’
पत्रकार सम्मेलनमा संस्थाका सचिव रुसी श्रेष्ठले फाउन्डेसनले स्थापनाकालदेखि गरेको कामको फेहरिस्ता प्रस्तुत गरेकी थिइन् । पत्रकार सम्मेलनमा संस्थाका अधिकांश पदाधिकारीहरुको उपस्थिति थियो ।