नेपाली क्रिकेट खेलाडी सोमबार सांझ लन्डन उत्रिएका छन्

कप्तान पारस खड्कासहित १५ खेलाडी, प्रशिक्षक जगत टमाटा र अन्य अफिसियल लन्डन आएका हुन् । नेपाली खेलाडीले यही जुलाई १९ तारिख बिहान लन्डनस्थित विश्वविख्यात लर्डस क्रिकेट मैदानमा पहिलो पटक एमसीसी (मार्लेबोन क्रिकेट क्लव) संग मैत्रीपूर्ण खेल खेल्दैछन् । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्षका अवसरमा नेपाली खेलाडीलाई उक्त ऐतिहासिक खेलको अवसर मिलेको हो । 

१२ तारिख मंगलबार नेपाली दूतावासले दिने रिसेप्सनपछि नेपाली खेलाडी १३ तारिखका दिन जिमखाना क्रिकेट क्लव, ओस्टर्लीमा प्रशिक्षणमा व्यस्त हुनेछन् र त्यही दिन बिहान साढे दश देखि सांझ ५ बजेसम्म फ्रि फरेस्टरसंग ४० ओभरको म्याच खेल्ने कार्यक्रम छ ।

त्यसैगरि, १४ जुलाइ अपरान्ह साढे ४ देखि सांढे ७ बजेसम्म जिमखानासंग टि ट्वान्टी खेल हुनेछ । नेपाली टिमले १५ जुलाइ बिहान देखि स्ट्यानमोर क्रिकेट क्लवसंग ५० ओभरको म्याच खेल्ने तालिका छ । खेलाडीहरु १६ तारिख विश्राम लिएर १७ जुलाईमा इष्टबोर्न क्रिकेट क्लवसंग ५० ओभरको म्याच खेल्नेछन् । १८ तारिखमा भने लर्डसमा अभ्यास गर्ने कार्यक्रम छ ।
२० तारिख रिसेप्सनमा सहभागी भएपछि खेलाडीहरु २१ तारिख लन्डनबाट प्रस्थान गर्ने जनाइएको छ ।