The official music release of The Legend of Shankhadhar

पासा पुच: गुथि युकेले अंग्रेजी सब्टाइटलका साथ नेपालभाषा र नेपाली भाषामा निर्माण भइरहेको नेपालको पहिलो एनिमेशन चलचित्र 'शंखधरको कथा' (The Legend of Shankhadhar) को संगीत बिमोचन कार्यक्रमको आयोजना गरेको छ।

कार्यक्रमको थालनीमा योजना प्रमुख र गुथिका उपाध्यक्ष श्री ओजेश सिंहले चलचित्रको परिचय दिंदै नेपाली संस्कृति र सम्पदालाई यसले अगाडि डोर्याएर लानसक्ने विचार व्यक्त गर्नुभयो।

चलचित्रको पछिल्ला उपलब्धिहरूका बारेमा बताउँदै यन्त्रकला स्टूडुयोजको तर्फबाट निर्माता / निर्देशक श्री संयुक्त श्रेष्ठले अमेरिकामा आयोजित दोश्रो विश्व नेवा: सम्मेलनमा यसको टीजरले न्यानो माया पाएको र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको तर्फबाट यस वर्षको राष्ट्रिय कला प्रदर्शनीमा सिर्जनात्मक कलातर्फ बिशेष पुरस्कार प्राप्त गरेको पनि अवगत गराउनु भयो। चलचित्रलाई आजको स्थितिसम्म पुर्याउन ठूलो भूमिका खेलेको भन्दै उहाले संगीत टोलीको प्रशंसा गर्नुभयो।

एक ऐतिहासिक कालखण्डको संगीतलाई पुनर्स्थापना गर्दाका चुनौतीहरूमा प्रकाश पार्दै संगीत निर्देशक श्री विश्व शाहीले यसमा प्रयोग गरिएका परम्परागत बाजाहरूको र हजार वर्ष अगाडिको समयलाई प्रतिनिधि गर्ने उपयुक्त पार्श्व ध्वनिको चयन सबैभन्दा कठिन भएको बताए।

संगीत उपनिर्देशक श्री गंगा थापाले गीतका बोलहरू श्रोताका माझ प्रत्यक्ष गुनगुनाए भने गाियका निशा देशारको मौलिक स्वर रहेको यस चलचित्रको गीत सबैले सुन्ने मौका पनि पाए।

संयुक्त श्रेष्ठद्वारा रचिएको गीतको सी.डी.को सामूहिक विमोचन गुथिको लण्डन शाखाका अध्यक्ष श्री कपिल श्रेष्ठ, पूर्वाध्यक्ष तथा सल्लाहकार डा. सचेतन तुलाधर, गुथिका दक्षिणपूर्व शाखाका अध्यक्ष श्री चुत्र बहादुर श्रेष्ठ, गुथिका बोर्ड अफ् ट्रस्टीजका उपाध्यक्ष श्री कुमार श्रेष्ठ र महासचीव श्री शिवाजी श्रेष्ठद्वारा गरियो।

कार्यक्रमको समापन गर्ने क्रममा श्री कपिल श्रेष्ठले संगीत समूहलाई शुभकामना व्यक्त गर्दै सफलताको कामना पनि गर्नुभयो।

गुथिले संयुक्त अधिराज्यमा आउँदो नेपाल संवत् नयाँ वर्ष ११३७मा यस चलचित्रलाई रिलीज गर्ने योजना राखेको छ।

चलचित्रको गीत यस लिंकमा क्लिक गरेर सुन्न सकिन्छ -http://www.yantrakala.com/tls-song